यूएईमा ‘गोल्डेन भिसा’ प्राप्त गर्ने पहिलो नेपाली डाक्टर भन्छन्– यो सम्मान सबैको हो

यूएईमा ‘गोल्डेन भिसा’ प्राप्त गर्ने पहिलो नेपाली डाक्टर भन्छन्– यो सम्मान सबैको हो

दुबई।युनाईटेड अरब इमिरेट्स (यूएई) को ‘गोल्डेन भिसा’ प्राप्त गर्ने पहिलो नेपाली बनेका डा. रविन्द्रकुमार यादवले विदेशमा नेपालीहरूको उच्च मूल्यांकन भएकोमा खुसी व्यक्त गरेका छन्।

यूएई सरकारले यसै वर्षदेखि विशेष योगदान पुर्याउने विशिष्ट विदेशी नागरिकलाई ‘गोल्डेन भिसा’ दिने नयाँ नीति पास गरेपछि यो सम्मान पाउने डा. यादव पहिलो नेपाली बनेका हुन्।

उनलाई मंगलबार यूएई सरकारले ‘गोल्डेन भिसा’ दिने घोषणा गरेको थियो। ‘गोल्डेन भिसा’ प्राप्त गरेपछि डा. यादवले प्रवास खबरसँग भने, ‘यूएई सरकारले मलाई गोल्डेन भिसा दिने निर्णय गरेकोमा सर्वप्रथम धन्यबाद भन्न चाहन्छु। यसले समग्र नेपालीको मूल्यांकन भएको मलाई महसुस भइरहेको छ।’

यूएईमा प्रायः नेपाली श्रमिकको रुपमा जाने गर्दछन्। पहिले श्रमिकको देश भनेर चिनिने नेपालीका लागि डा. यादवको उपलब्धीले सकारात्मक सन्देश जाने निश्चित छ।

डा. यादव ७ वर्षअघि यूएई पुगेका थिए। उनी सन् २०१३ मा यूएईको अलएनस्थित अल नुर अस्पतालमा कार्यरत थिए। हाल उनी आबुधाबीस्थित रिम आइल्याण्डमा रहेको बुर्जिल अस्पतालमा चर्म रोग विशेषज्ञको रुपमा कार्यरत छन्।

उनी भन्छन्, ‘यो सम्मानले मलाई थप जिम्मेवार बन्न प्रेरित गर्नेछ। यो सम्मान मेरो मात्र होइन, सबै नेपालीहरूको हो।’‍

डा. यादवले एमबीबीएसको अध्ययन काठमाडौंस्थित त्रिभुवन विश्वविधालय टिचिङ अस्पताल महाराजगञ्जबाट गरेका हुन्। उनले भारतको चर्चित बनारस हिन्दु विश्वविधालय(बिएचयू) बाट एमडी गरेका थिए।
नेपालमा पनि उनले काम गरेको लामो अनुभव छ। ‘मिहिनेत गरेपछि प्रगति हुँदै जाने रहेछ,’ उनले भने।

नेपालमा रहँदा डा. यादवले काठमाडौंस्थित नोबेल मेडिकल कलेजमा मेडिकल सहायक निर्देशकको रुपमा काम गरेका थिए। यस्तै, उनीसँग यातना पीडित सरोकार केन्द्र, पूर्वाञ्चल क्षेत्रीय निर्देशकको रुपमा पनि काम गरेको अनुभव छ।

स–परिवार यूएई बसोबास गर्दै आएका डा. यादवको परिवार पछिल्लो समयकोभिड–१९ का कारण  विराटनगरमा छन्। उनले पाएकाे गोल्डेन भिसाको अवधि १० वर्षको हुन्छ ।