शारजहा प्रहरीको सबैभन्दा ठूलो अपरेशन, लागूऔषध तस्करको अन्तर्राष्ट्रिय गिरोह पक्राउ

शारजहा प्रहरीको सबैभन्दा ठूलो अपरेशन, लागूऔषध तस्करको अन्तर्राष्ट्रिय गिरोह पक्राउ

शारजहा। शारजहा प्रहरीले लागूऔषधको सबैभन्दा ठूलो गिरोहलाई पक्राउ गरेको छ। ३ करोड ५० लाख दिराम मूल्य बराबरको लागूऔषधसहित ६ एसियालीमूलका नागरिकलाई उसले हालै पक्राउ गरेको हो।

शारजहा प्रहरीको लागूऔषध निरोधक विभागले शारजहाको खालिद पोर्ट हुँदै युनाइटेड अरब इमिरेट्स (यूएई) मा भित्र्याइहेको अवस्थामा २ सय १६ दशमलव ७ केजी कन्ट्राब्याण्ड, जसमा २ सय ९ केजी मेथाम्फेटमाइन र ६ दशमलव ७ केजी हिरोइन बरामद गरेको हो।

यी लागूऔषधको तस्करी पानी जहाजको इन्जिनमा प्लास्टिकको कन्टेनरमा लुगाएर ल्याउने प्रयास गरिरहेको बेला बरामद गरिएको हो। तस्करीमा संलग्न समूहका एक सदस्यलाई गत साता प्रहरीले गोप्य रूपमा यूएईमा सामान वितरण गर्ने प्रयास गरिरहेको बेला पक्राउ गरेको थियो।

 

 

शारजहाको कोस्ट गार्ड तथा नार्कोटिक्स विभागका अधिकारीले सुराकीको आधारमा योजनालाई सफल बनाएका थिए।

शारजहा प्रहरी प्रमुख सैफ अल जारी अल साम्सीले पत्रकार सम्मेलनमा यस वर्ष प्रहरीले दुई वटा ठूलो गिरोहलाई समात्न सफल भएको बताए।

गत मेमा ७ एसियालीमूलका तस्कर १ सय १५ केजी लागु औषध तथा ५१ हजार ७ सय ९० प्रतिबन्धित ट्रामाडोल ट्याब्लेटसहित पक्राउ परेका थिए।