कतारमा कोरोना भाइरस नियन्त्रणतर्फ

कतारमा कोरोना भाइरस नियन्त्रणतर्फ फाइल फोटो

दोहा।कतारमा कोरोना भाइरसको संक्रमण पूर्ण नियन्त्रणतर्फ उन्मुख भइरहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार २४ घण्टामा १ सय १८ जनामा मात्र कोरोनाको नयाँ संक्रमण भेटिएको छ भने दुई जनाले ज्यान गुमाएका छन्। यस अवधिमा १ सय ४१ जना स्वास्थ लाभ गरेर घर फर्किएको मन्त्रालयको रिपोर्टमा उल्लेख छ।

कतारमा हालसम्म २ लाख १९ हजार ७ सय ९९ जना स्वास्थ्य लाभ गरेर घर फर्किसकेका छन्। भर्खरै भेटिएको १ सय १८ जनामध्ये ६२ संक्रमित कम्युनिटीमा भेटिएका थिए भने ५६ जना बाहिरबाट आएको व्यक्तिमा फेला परेको हो।

मन्त्तालयले ५२ र ८२ वर्षका दुई जनाको निधन भएको स्पस्ट पारेको छ। कतारमा हालसम्म कोरोनाले ५ सय ९० जनाको मृत्यु भएको छ। यस्तै, २४ घण्टाको अवधिमा ३६ हजार १८ जनामा कोभिड–१९ खोप लगाइएको पनि मन्त्रालयको रिपोर्टमा उल्लेख छ। यहाँ हालसम्म कोभिडको ३१ लाख ४५ हजार ६२ खोप लगाउने कार्य सम्पन्न भइसकेको छ।

कतारमा हालसम्म २ लाख २२ हजार ७१ जनामा कोरोना संक्रमण भेटिएको थियो। अहिले पनि १ हजार ६ सय ८२ ‘एक्टिभ केस’ को उपचार भइरहेको छ।