कतारले श्रमिककको सम्मानजनक जीवन सुनिश्चित गर्न गरेको प्रयासप्रति नेपाली राजदूतबाट उच्च प्रशंसा

कतारले श्रमिककको सम्मानजनक जीवन सुनिश्चित गर्न गरेको प्रयासप्रति नेपाली राजदूतबाट उच्च प्रशंसा कतारका लागि नेपाली राजदूत डा नारदनाथ भारद्वाज, तस्वीर :द पेनेन्सुला

दोहा। कतारका लागि नेपाली राजदूत डा नारदनाथ भारद्वाजले कतारी प्रधानमन्त्रीले हालै दिएको एउटा अन्तर्वार्ताको उच्च प्रशंसा गरेका छन्।

प्रधानमन्त्री तथा गृहमन्त्री खालिद बिन खालिफा बिन अब्दुल्लाजिज अल–थानीले केही दिनअघि सञ्चारकर्मीलाई दिएको अन्तर्वार्तामा कतारको विकास र आधुनिकीकरणको मुद्धालाई उठान गरेका थिए। जसले कतारी जनतालाई हौसला प्रदान गरेको धारणा राजदूत भारद्वाजले व्यक्त गरेका छन्।

कतारबाट प्रकासित हुने पत्रिका ‘द पेनेन्सुला’ लाई अन्तर्वार्ता दिने क्रममा राजदूत भारद्धाजले कतार सरकारले कोभिडविरुद्धको लडाइँमा आफ्नो क्षमता र दक्षता सफलतापूर्वक प्रदर्शन गरेको बताए। उनले कतारी राजाको सक्षम नेतृत्वले कतारलाई विश्वमा थप परिचित गर्न स्पष्ट मार्गदर्शन र प्रतिबद्धता प्रदान गरेको बताएका छन्।

कोभिड–१९ महामारीको दोस्रो लहर नियन्त्रण गर्ने क्रममा संक्रमितको पहिचान, क्वारेन्टाइन र उपचार गर्न कतार सरकारले लिएको वैज्ञानिक र व्यावहारिक दृष्टिकोणले सबैको मन जितेको उनको भनाई थियो। कतारी स्वास्थ्य अधिकारी जनतामा विश्वास दिलाउन सफल भएको कारण सरकारी नीतिलाई पूर्ण समर्थन मिलेको उनको विचार थियो।

जनस्वास्थ्य र अर्थतन्त्रबीच सन्तुलन कायम गर्दै कतारले संकटको बेला सफल शासन प्रणाली लागु गर्दै उदाहरण प्रस्तुत गरेको उनको भनाई थियो। राजदूत भारद्धाजले भनेका छन्, ‘अब कतारले छिटै महामारीको प्रभावलाई न्युनिकरण गर्नेछ र आफ्ना नियमित गतिविधि पुनः सञ्चालन गर्दै पहिलेको अवस्थामा फर्कनेमा म विश्वस्त छु।’

राजदूत भारद्वाजले कतारी प्रधानमन्त्रीले प्रवासी श्रमिकको सन्दर्भमा व्यक्त गरेको धारणाको पनि उच्च प्रशंसा गरेका छन्। ‘प्रवासी श्रमिकको लागि सम्मानजनक जीवन सुनिश्चित गर्न प्रधानमन्त्रीले व्यक्त गरेको प्रतिबद्धता सराहनीय छ’, राजदूतले भनेका छन्, ‘यस कार्यको लागि हालसालै गरिएको श्रम सुधारको श्रृङ्खलाबाट हामी अत्यन्त उत्साहित छौं।’

त्यस्तै, कोभिड–१९ को दोहोरिँदो लहरका बाबजुद कतारले २०२२ को विश्व कप सम्बन्धी पूर्वाधारको तयारीमा सहजगति लिनको लागि हासिल गरेको शानदार सफलता देखेर आफू आश्चर्यचकित भएको उनले बताएका छन्। कतारले आउँदो वर्ष आयोजना गर्न लागेको विश्व कप २०२२ खेलकुदको इतिहासमै अविस्मरणीय साबित हुनेमा आफू विश्वस्त भएको उनले बताए।

राजदूत भारद्वाजले भनेका छन, ‘विश्वकप २०२२ मा आउने दर्शकको लागि कतारले कोभिडविरुद्धको खोपको लाखौं मात्रा प्रदान गर्ने घोषणाले पक्कै पनि विश्वभरिका दर्शकलाई उत्साहित बनाएको छ।’