कुवेत प्रवेशका लागि नेपाली श्रमिकले दोस्रो खोप लगाउनै पर्ने

कुवेत प्रवेशका लागि नेपाली श्रमिकले दोस्रो खोप लगाउनै पर्ने

कुवेत सिटी। कोभिडविरुद्ध खोपको पहिलो मात्रा लिएर वैदेशिक यात्रामा निस्किएका संक्रमित घरेलु श्रमिकले कुवेत प्रवेश गर्न नपाउने भएका छन्।

कुवेत सरकारले १ अगस्टदेखि लागू हुने गरी केही नियम परिवर्तन गरेको हो। फाइजर खोपको पहिलो मात्रा लगाएका श्रमिकले दोस्रो मात्रा १० सातापछि मात्र लगाउन पाउँछन्।

अक्सफोर्ड खोपको पहिलो मात्रा लगाएका श्रमिकले दोस्रो मात्रा लगाउनको लागि १६ साता पर्खनु पर्दछ। यसबीचमा कुवेतछाडी अन्यत्र यात्रामा निस्कने श्रमिक संक्रमित भइहालेमा कुवेत प्रवेश गर्न पाउने छैनन्।

सरकारी स्रोतका अनुसार कोभिडविरुद्धको खोपको सम्पूर्ण मात्रा लिएका प्रवासी कुवेतमा प्रवेश पाउने बताइएको छ। अति जोखिममुलुकको सूचीमा भएका देशबाट समेत कुवेत प्रस्थान गर्ने प्रवासीले अब १४ दिन क्वारेन्टाइन बस्नुपर्ने छैन।

यसभन्दा पहिला उनीहरू १४ दिन अनिवार्य क्वारेन्टाइनमा रहनुपर्ने प्रावधान थियो।

कुवेत सरकारले स्वीकृति प्रदान गरेको खोपप्राप्त श्रमिकले कुवेत प्रवेशसँगै ७२ घण्टा पहिलेसम्मको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नु पर्नेछ।

प्रस्थान गरेपछि पनि एक साताको ‘होम् क्वारेन्टाइन’ अवधिभित्र पुनः पीसीआर परीक्षण गर्नु पर्नेछ। सो परीक्षणमा नेगेटिभ नतिजा देखिएमा क्वारेन्टाइन बसिरहनु पर्ने छैन।

आफ्ना बालबच्चासहित गर्मी विदामा बाहिर गएका प्रवासीको सन्दर्भमा यो नियम लागू हुने वा उनीलाई खोप प्रदान गर्नुपर्ने भन्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय लिने बताइएको छ।