बिहेको पोशाकको आँडमा लागूऔषधको धन्दा गरिरहेका ३ नेपाली हङकङमा पक्राउ

बिहेको पोशाकको आँडमा लागूऔषधको धन्दा गरिरहेका ३ नेपाली हङकङमा पक्राउ

हङकङ। हङकङमा गैरकानूनी रुपमा गाँजा लुकाएको आरोपमा तीन नेपाली पक्राउ परेका छन्। हङकङको आपराधिक विभागअन्तर्गत रहेको ‘एन्टी–ट्राइड एक्सन टिम’ को विशेष दस्ताले पश्चिम कोलुन क्षेत्रबाट ती नेपालीलाई पक्राउ गरेको हो।

प्रहरीको विशेष टिमले १९ जुनमा लागू औषधविरूद्ध यो क्षेत्रमा एउटा अभियान चलाएको थियो, जुन अभियानको नाम थियो, ‘थन्डर २१’। यही अभियानअन्तर्गत राती ८ बजे योउ मा ताईस्थित ८२० क्यान्टोन रोडको बाहिर ३८ वर्षीय एक नेपाली युवा पहिले पक्राउ परेका थिए।

गुप्तचर विभागका अधिकारीले ती व्यक्तिको शरीरबाट थोरै मात्रामा गाँजा बरामद गरेपछि उनी बस्ने घरमा थप सर्च अभियान चलाइएको थियो। प्रहरीका अनुसार घरबाट ५ किलो गाँजा तथा प्रतिबन्धित लागूऔषध पाराफेर्नालिया र बिहेका केही लुगा फेला परेका थिए।

दक्षिणी कोलुन क्षेत्र अपराध महाशाखाका प्रमुख एलन चाङका अनुसार पक्राउ परेका अपराधीहरूले नेपालको परम्परागत लुगाको व्यापार गर्ने नाममा गाँजा र लागु औषधको व्यापार गरिरहेका थिए। बिहेमा प्रयोग हुने नेपाली परम्परागत लुगाको व्यापार गर्ने भन्दै उनीहरूले लागु औषध ओसारपोसार गर्न गाडीको प्रयोग गरिरहेको बताइएको छ।

प्रहरीले नेपाली बस्ने फ्लाटबाट बरामद गरिएको लागूऔषधको बजार मूल्य १० लाख हङकङ डलर भएको बताएको छ। यो काण्डमा अन्दाजी ३३ र ४० वर्ष रहेका थप दुई नेपाली महिला पनि पक्राउ परेका छन्।

पक्राउ परेका तीन जना एकअर्काको साथी भएको र उनीहरूबाट हङकङको आइडी पनि बरामद गरिएको छ। प्रहरीले उनीहरूको पेशा श्रमिक रहेको बताएको छ। उनीहरूलाई लागूऔषध कारोबार तथा ओसारपोसारमा मुद्धा चलाउने तयारी भएको प्रहरीले जनाएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङका महासचिव गोकर्ण ढकालले यसबारेमा आफूहरुलाई आधिकारिक जानकारी प्राप्त भइनसकेको प्रवास खबरलाई बताए ।