उडान प्रतिबन्ध असर : कुवेतमा जटिल बन्दै नेपालीको अवस्था, दूतावासमा गुनासो बढ्दो

उडान प्रतिबन्ध असर : कुवेतमा जटिल बन्दै नेपालीको अवस्था, दूतावासमा गुनासो बढ्दो

कुवेत सिटी । कुवेत र नेपालबीच हवाइ उडान नखुल्दा यहाँ रहेका नेपाली समस्यामा परेका छन् । नेपाल सरकारले कोरोनाको दोस्रो लहर बढेपछि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको झण्डै डेढ महिना पुग्न थालेको छ । लामो समय बितिसक्दा पनि कुवेतको लागि कुनै वैकल्पिक व्यवस्था नहुँदा नेपालीको समस्या बढेको हो।

अहिले कुवेतमा रोजगारी गुमाएर समस्यामा परेका भन्दा नियमित रुपमा फर्किने श्रमिक समस्यामा परेका छन् । भिसाको अवधि पूरा गरेका तथा नियमित घरविदामा फर्किने नेपाली उडान बन्दको चपेटामा परेका हुन्।

अप्ठ्यारोमा परेपछि दूतावासमा समस्या सुनाउनेको चाप बढेको कुवेतस्थित नेपाली दूतावासका एक अधिकारी बताउँछन् । ‘हाम्रो भिसा सकिएको छ, हामी फर्किनु पर्याे, उडान नहुँदा समस्या भयो, यस्ता समस्या प्रत्येक दिन आउने गरेका छन्,’ उनी भन्छन् ‘तर, हामीसँग उहाँहरुलाई दिने जवाफ केही हुँदैन । धैर्य गनुहोस् छिट्टै खुल्छ भनेर सान्तवना दिने गरेका छौँ।’

करार अवधि पूरा गरेका श्रमिकको कम्पनीले भिसा रिन्यू गर्दैनन् । नवकिरण नभएपछि उनीहरु अवैधानिक हैसियतमा पुग्ने ती अधिकारीले बताए । उनी भन्छन्,‘केही समय त यहाँको सरकारले समस्या बुझिदिएला । तर, लामो समय हेर्ने कुरा हुँदैन । कम्पनी पनि जिम्मेवारीबाट पन्छिने गर्छन् ।’

उडान प्रतिबन्ध लम्बिदै गएमा त्यसको असर थप बढ्ने ती अधिकारी बताउँछन्। स्वदेश फर्किनेको चाप बढिरहेकोले सरकारले उडान सुचारु गर्नुपर्ने उनको तर्क छ।

स्वदेश फर्किन कतिपय नेपालीले त उडान प्रतिबन्ध रोकिनु अगाडि नै टिकट बुक गरेका थिए । केही त कम्पनीबाट ‘फाइनल आउट’ समेत भइसकेका छन्। यस्ता श्रमिकलाई खान–बस्नको व्यवस्थापन गर्ने कम्पनीको दायित्व भित्र पर्दैन । तर, पनि कम्पनीले मानवीय संवेदनालाई बुझेर उनीहरुलाई आश्रय दिइरहेका छन्।

सामन्य अवस्थामा कुवेतबाट काठमाडौंका लागि जजिरा एयरले दैनिक उडान गर्दथ्यो। त्योबाहेक विभिन्न एयरलाइन्सका कनेक्टिङ उडानमार्फत पनि नेपाली स्वदेश फर्किन्थे। नेपालले उडान रोक्नु पूर्व जजिरा एयरले हप्तामा दुई उडान गर्दै आएको थियो । तर, यसपालि डेढ महिना बित्तिसक्दा पनि कुवेतका लागि एउटा उडान भएको छैन्, जसले गर्दा समस्या बढ्दै गएको हो।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी पनि उडान नखुल्दा समस्या बढ्दै गएको बताउँछन्।

‘अहिले कुवेतमा आर्थिक गतिविधि चलायामान भएकोले पहिला जस्तो कामविहिन भएर कुनै पनि नेपाली बस्नु परेको छैन्,’ राजदूत भण्डारीले प्रवास खबरसँग भने, ‘जसको भिसा सकिएको छ, जो विदामा जाने योजनामा हुनुहुन्छ उहाँहरुलाई समस्या परेको छ ।’

लामो समय भइसकेकाले यो संख्या बढ्दै गएको उनले बताए । ‘उडान नभएको धेरै भयो, संख्या ठूलो हुँदै जानु स्वभाविक हो,’ उनले भने ।

उनले कुवेतको समस्या बताउँदै उडान सूचारु गर्न सरकारसमक्ष पहल गरिरहेको पनि बताए । ‘हामी आशावादी छौँ, सरकारले मापदण्ड तोकेर कुवेतको लागि पनि केही निर्णय गर्नेछ,’ उनले भने ।