कोरोनाले बितेका छोराको अन्तिम संस्कारमा नेपाल आएका केसी जापान फर्केपछि आफै रहेनन्

कोरोनाले बितेका छोराको अन्तिम संस्कारमा नेपाल आएका केसी जापान फर्केपछि आफै रहेनन्

काठमाडौं । नेपालबाट जापान फर्किएका एक नेपालीको तीन हप्तामै निधन भएको छ । गुल्मीकाे मुसिकोट स्थायी घर भएका ४८ वर्षीय प्रेम केसी ( कृष्ण ) को गत बुधबार कोरोनाको संक्रमणबाट निधन भएको हो।

नेपालबाट फर्किने क्रममा जापानको नारिता विमानस्थलमा गरिएको पीसीआर परीक्षणमा केसीलाई संक्रमण पुष्टि भएको थियो । संक्रमणबाट फोक्सोमा गम्भिर असर देखिएको थियो। २२ दिनपछि उपचारकै क्रममा उनको निधन भएको हो।

प्राप्त जानकारी अनुसार नेपालमा रहेका केसीका जेठा छोराको केही समयअघि कोरोना संक्रमणकै कारण ज्यान गएको थियो । छोराको निधनभएपछि अन्तिम संस्कारको लागि उनी श्रीमती र कान्छो छोरासहित नेपाल आएका थिए।

नेपालबाट जापान फर्किने समयमा गरिएको पीसीआर परीक्षण केसी र उनका कान्छा छोराको ‘नेगेटिभ रिपोर्ट’ आएको थियो । श्रीमतीको भने रिपोर्ट ‘पोजेटिभ’ आएपछि नेपालमै अड्किएकी थिइन्।

बावु–कान्छो छोरालाई भने नेपालमा गरिएको परीक्षण संक्रमण नदेखिए पनि जापान पुगेपछि विमानस्थलमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनीहरुलाई विमानस्थल क्वारेन्टाइनमा राखिएको थियो । छोरा भने हप्ता दिनमै संक्रमणमुक्त भएका थिए ।