कुवेतमा राजदूत भण्डारी र विदेश सहायक मन्त्रीबीच आपसी सहयोगका लागि छलफल

कुवेतमा राजदूत भण्डारी र विदेश सहायक मन्त्रीबीच आपसी सहयोगका लागि छलफल

कुवेत सिटी। कुवेतस्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले यहाँका सहायक विदेशमन्त्री माज्दी अहमद इब्राहिम अल–धाफिरीसँग भेटवार्ता गरेका छन्। भेटमा नेपाल–कुवेतबीचको द्धिपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा कुराकानी भएको दूतावासले जनाएको छ।

‘विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण, कुवेत र नेपालमा कोभिड-१९ को संक्रमणको हालको अवस्थालगायत संक्रमण रोकथाम तथा उपचारको क्षेत्रमा दुई देशबीच आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भयो,’ राजदूत भण्डारीले प्रवास खबरसँग भने।

भेटमा नेपाली कामदारले कुवेतको श्रम बजारमा प्राप्त गरेको रोजगारीको अवसर तथा यस क्षेत्रमा पुर्याएको योगदान, रोजगारीको सुरक्षा र हालको अवस्थालगायत थप अवसरमा नेपालीको संलग्नता अभिवृद्धि गर्दै लाने विषयमा पनि केन्द्रित रहेके राजदूत भण्डारीले बताए।

कोभिड-१९ को संक्रमणको अवस्थालाई मध्यनजर गर्दै दुई देशबीच आवतजावतलाई थप सहज बनाउँदै लैजाने लगायतका विषयमा पनि कुराकानी भएको राजदूत भण्डारीले जानकारी दिए। भेटघाटमा कुवेत सरकार, परराष्ट्र मन्त्रालय तथा नेपाली राजदूतावासका अन्य अधिकारीको पनि सहभागिता थियो।