कोरोनाको संक्रमणबाट विदेशमा थप १३ नेपालीको निधन, एक लाख बढी संक्रमित

कोरोनाको संक्रमणबाट विदेशमा थप १३ नेपालीको निधन, एक लाख बढी संक्रमित सांकेतीक तस्वीर

लण्डन । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गएको दुई सातमा विदेशमा थप १३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार अनुसार साउदी अरबमा ७ , भारतमा ५, कतारमा १ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।

संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ३५ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १० हजार १ सय ९६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये १ लाख ६ हजार ८ सय २३ हजार नेपाली कोरोनामुक्त भएका छन् ।

हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९३ प्रतिशत नेपाली मुक्त भएका छन्।

संघका अनुसार विगत दुई सातामा भारत, माल्दिभ्स्, साउदी अबर, कतार लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ।

संघले विगत कोरोना भाइरसको महामारी सुरु भए देखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्धारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ । डा सागर पौडेल (भारत), डा नितेश शर्मा (मध्यपूर्व), डा बोधराज सुवेदी (युरोप), डा. रुपक श्री (माल्दिभ्स) लगायत विश्वभर २ सय जना चिकित्सकहरुले तथ्यांक संकलनमा सहयोग गरिरहेका छन् ।