कतार : श्रमिकलाई दिउँसोको चर्काे घाममा लगाउने ५४ कम्पनी कारवाहीमा परे

कतार : श्रमिकलाई दिउँसोको चर्काे घाममा लगाउने ५४ कम्पनी कारवाहीमा परे

दोहा । श्रमिकलाई दिउँसोको चर्काे घाममा काम लगाएपछि कतारका विभिन्न ५४ वटा कम्पनी कारवाहीमा परेका छन् । श्रमिकको स्वास्थ्य सुरक्षालाई ध्यान नदिइ घाममा काम लगाएपछि कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले यी कम्पनीलाई कारवाही गरेको हो।

कतार सरकारले गर्मी महिनामा खुला ठाउँमा बिहान १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म काम गर्न प्रतिबन्ध लगाएको छ । मन्त्रालयले यो नियम १ जुनदेखि १५ सेप्टेम्बरसम्म लागू हुनेभन्दै सबै कम्पनीलाई कडा उर्दी जारी गरेको थियो । तर, सरकारको निर्देशनलाई नै अवज्ञा गर्दै काममा लगाएपछि यी कम्पनी कारवाहीमा परेका हुन्।

गत १ जुनदेखि ३ तारिखसम्म गरिएको निरीक्षणमा निर्माण, कृषि र उद्योग क्षेत्रका ५४ वटा कम्पनीले निर्देशन उल्लघंन गरेको पाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले ती कम्पनीलाई कारवाहीस्वरुप तीन दिनसम्म काम ठप्प बनाएको बताएको छ।

कतारमा श्रमिकहरूको स्वास्थ्यलाई लिएर अन्तर्राष्ट्रिय विरोध भएपछि सरकारले विकास निर्माणका काममा क्रियाशील कम्पनीहरूलाई अत्याधिक घाम हुने स्थानमा काम नगराउने निर्णय गरेको थियो। २००७ मा भएको यो निर्णयमा श्रमिकलाई गर्मीयाममा काम लगाउँदा घाम नलाग्ने तथा भेन्टिलेटर भएको ठाउँमा मात्र काम लगाउन पाउने बताइएको थियो।

मन्त्रालयले श्रमिकको दैनिक काम गर्ने तालिका बनाउन पनि कम्पनीहरूलाई दबाब दिएको छ। सरकारले ३२ डिग्रीभन्दा माथि घाम भएको ठाउँमा खुला रूपमा काम गर्न प्रतिबन्ध लगाएको छ। यस्तै श्रमिकको स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने सामाग्रीहरू कार्यस्थलमा अनिवार्य हुनुपर्ने नियम लागू गरेको छ।

गर्मी महिनालाई ध्यानमा राख्दै श्रमिकले लगाउने लुगादेखि वार्षिक रुपमा निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउन पनि भनिएको छ। गर्मीमा काम लगाउँदा श्रमिकको लुगा हावा छिर्ने पारदर्शी र खुकुलो हुनुपर्ने तथा काम लगाउनुअघि मेडिकल रिपोर्ट अनिवार्य हुनुपर्ने नियम छ।

कतार तात्यो श्रमिकको हितमा, ३२ डिग्रीमाथिको तापक्रममा खुला ठाउँमा काम लगाउन नपाउने