कतार तात्यो श्रमिकको हितमा, ३२ डिग्रीमाथिको तापक्रममा खुला ठाउँमा काम लगाउन नपाउने

कतार तात्यो श्रमिकको हितमा, ३२ डिग्रीमाथिको तापक्रममा खुला ठाउँमा काम लगाउन नपाउने

काठमाडौं।श्रमिकहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै कतार सरकारले गर्मी महिनामा खुला ठाउँमा बिहान १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म काम गर्न प्रतिबन्ध लगाएको छ।

सरकारी निर्णय पालना गर्न उर्दी लगाउदै विकास, श्रम तथा समाजिक मन्त्रालयले विज्ञप्ती जारी गरेको छ। मन्त्रालयबाट जारी विज्ञप्तीमा भनिएको छ– सन् २००७ मै भइसकेको निर्णय कार्यान्वयनका लागि सूचित गरिएको हो।

कतारमा श्रमिकहरूको स्वास्थ्यलाई लिएर अन्तर्राष्ट्रिय विरोध भएपछि सरकारले विकास निर्माणका काममा क्रियाशील कम्पनीहरूलाई अत्याधिक घाम हुने स्थानमा काम नगराउने निर्णय गरेको थियो। २००७ मा भएको यो निर्णयमा श्रमिकलाई गर्मीयाममा काम लगाउँदा घाम नलाग्ने तथा भेन्टिलेटर भएको ठाउँमा मात्र काम लगाउन पाउने बताइएको थियो।

तर, आफैले गरेको निर्णय कार्यान्वयनमा सरकार उदासिन बन्दा नेपाललगायत विदेशबाट जाने कामदारहरू कतारको चर्को घाममा काम गर्न विवश थिए।

सरकारले लामो समयपछि यही जुन १ देखि सेप्टेम्बर १५ तारिखसम्म लागु हुनेभन्दै सबै कम्पनीलाई कडा उर्दी जारी गरेको छ।

कतार सन् २०२२ मा विश्व कप फुटबलको आयोजना गर्दैछ। कतारमा वैदेशिक श्रमिक, विशेषत नेपाली कामदारमाथि अमानवीय व्यवहार भएको भन्दै अन्तर्राष्ट्रिय श्रम संगठनहरूले विश्व कप आयोजना रोक्न विश्व फुटबल महासंघलाई दबाब दिँदै आइरहेका छन्।

कतार सरकार मुखैमा आएको विश्व कप आयोजनाबाट बञ्चित हुन चाहदैन। त्यसैले उसले श्रमिकहरूको हितमा पछिल्लो समय धमाधम काम गरिरहेको छ। हालै आएको निर्णयलाई पनि यसैको कडीको रूपमा हेरिएको छ।

मन्त्रालयले श्रमिकको दैनिक काम गर्ने तालिका बनाउन पनि कम्पनीहरूलाई दबाब दिएको छ। सरकारले ३२ डिग्रीभन्दा माथि घाम भएको ठाउँमा खुला रूपमा काम गर्न प्रतिबन्ध लगाएको छ। यस्तै श्रमिकको स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने सामाग्रीहरू कार्यस्थलमा अनिवार्य हुनुपर्ने नियम लागूू गरेको छ।

गर्मी महिनालाई ध्यानमा राख्दै श्रमिकले लगाउने लुगादेखि वार्षिक रुपमा निःशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउन पनि भनिएको छ। गर्मीमा काम लगाउँदा श्रमिकको लुगा हावा छिर्ने पारदर्शी र खुकुलो हुनुपर्ने तथा काम लगाउनुअघि मेडिकल रिपोर्ट अनिवार्य हुनुपर्ने नियम छ।



No ads found for this position