कुवेतमा अवैध मदिरा कारखाना सञ्चालन गरेको आरोपमा एक महिलासहित तीन नेपाली पक्राउ

कुवेतमा अवैध मदिरा कारखाना सञ्चालन गरेको आरोपमा एक महिलासहित तीन नेपाली पक्राउ

कुवेत सिटी। गैरकानूनी रुपमा रक्सी कारखाना सञ्चालन गरेको आरोपमा तीन नेपाली कुवेतमा पक्राउ परेका छन्। पक्राउ पर्ने तीन नेपालीमध्ये एक जना महिला रहेको कुवेतबाट प्रकासित पत्रिका अल–अनबाले जनाएको छ।

छिमेकी साउदी अरबको सीमा नजिकै रहेको साल्मी बन्दरगाह नजिकै एउटा अपार्टमेन्टमा गोप्य रुपमा घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा कुवेत सरकारले छापा हानेको थियो। जसमा ठूलो परिमाणमा बेच्नका लागि तयारी अवस्थामा राखिएको मदिरा बरामद भएको थियो।

अल–अनबा पत्रिकाका अनुसार यो ठाउँमा गैरकानूनी गतिविधि भइरहेको सूचना धेरै अगाडी कुवेतको उच्च सुरक्षा सयन्त्रलाई प्राप्त भएको थियो। छापा मार्नुअघि उच्च सतर्कता अपनाइएको थियो।

सार्वजनिक सुरक्षामामिला हेर्ने सह–सहायक सचिव मेजर जर्नेल फराज अल–जोइबी, जाहरा सुरक्षा निर्देशक मेजर–जर्नेल सलेम अल–अहिमेर र उनको सहयोगी ब्रिगेडियर जर्नेल अब्दुल वासिद अल–रसुद, ताइमा क्षेत्रका कमाण्डर कर्नेल मातर सबिल र गस्ती विभागका प्रमुख मुबारक अल–हाजराफको संयुक्त टोलीले नेपालीद्धारा मदिरा उत्पादन गर्न भाडामा लिएको अपार्टमेन्टमा छापा हानेका थिए।

पक्राउ परेका तीन जना नेपालीलाई देश फर्काउने तयारी भइरहेको बताइएको छ। छापा हानिएको अपार्टमेन्टमा मदिरा उत्पादन गर्ने सामान बरामद गरिएको थियो, जुन अहिले जाँचका लागि ड्रग्स तथा मदिरा नियन्त्रण विभागमा पठाइएको छ।

कुवेतमा पछिल्लो समय स्थानीय प्रशासनले अवैध मदिरा उत्पादन गर्ने गिरोहविरुद्व ठूलो कारवाही थालेको छ । छापा मार्दा ठूलो संख्यामा नेपालीहरु पक्राउ पर्न थालेका छन् । गत जनवरीमा अवैध घरेलु मदिरा बनाएर बिक्री गर्ने नेपाली गिरोह नै पक्राउ परेको थियो । प्रहरीले मदिरा उत्पादनका लागि प्रयोग हुने १४० ब्यारल कच्चा पदार्थसहित कुवेतको सुबियाबाट पक्राउ गरेको थियो ।

यसअघि २०२० को अन्त्यतिर अवैध मदिरा उत्पादन र बिक्री वितरणमा संलग्न दर्जनबढी नेपाली पक्राउ परेका थिए ।