रोगभन्दा भोकको डर बढी, महामारीमै भारत फर्कँदै मजदूर

रोगभन्दा भोकको डर बढी, महामारीमै भारत फर्कँदै मजदूर फाइल फोटो

धनगढी । भारतमा महामारी फैलिएपछि करिब एक महिना पहिले भारतमा मजदूरी गर्न गएका आफ्ना परिवारका सदस्यसहित नेपाल फर्किएका कैलालीको गोदावरीका श्यामकुमार चौधरी शुक्रबार परिवारसहित भारत लागे ।

महामारीका बीचमा भारतबाट रोगको डरले घर फर्किएका श्याम अहिले रोगभन्दा पनि भोकको डरले फेरि भारत फर्कन लागेको सुनाउछन् । ‘घर आउने बित्तिकै निषेधाज्ञा शुरु भयो, भारतबाट आउँदा ल्याएको पैसा पनि सकियो, यहाँ काम पनि छैन बाँच्न गाह्रो भो त्यसैले बरु रोग लागेर मरे मरिएला तर भोकबाट त बचौँ भन्ने लागेर भारतको बैङ्गलोर जान लागेको हो’, श्यामकुमारले भने । यस्तो समयमा जान मन नभए पनि भोको पेटका लागि जानैपर्ने अवस्था रहेकाले जान लागेको श्यामकुमारकी श्रीमतीले गुनासो गरिन् । हातमा दुधे बालक च्याप्नुभएकी उनले यहाँ बसे रोगभन्दा पनि भोकले मर्नुपर्ने अवस्था आयो त्यसैले फर्किन लागेको बताइन् ।

महामारीबाट बच्न घर फर्किएका आफूहरू महामारीकै बीचमा फेरि पनि भारत फर्कनुको कारण भोककै पीडा भएको भारतको पञ्जाब जानका लागि गौरिफन्टा नाकामा भेटिनुभएका हर्क लामाले गुनासो गरे । भारतमा कोरोना महामारी डरलाग्दो गरी फैलिएपछि एक महिना पहिले नेपाल फर्किएका लामाले स्वदेशमा बिहान बेलुकाको छाक टार्नसमेत मुश्किल हुन थालेपछि पुनः भारत जान बाध्य भएको बताए । ‘रोगको डरले भारतबाट नेपाल आए, तर फेरि भोकको डरले भारत नै फर्कँदैछु’, लामाले निन्याउरो अनुहार लगाउँदै दुखेसो पोखे ।

घरमा खानलाउनकै समस्या भएपछि श्यामलाल र हर्कजस्तै भोकले सताएको कारण भारतबाट आएको दुई महिनामै फेरि फर्कन लागेका कैलालीका मोहन विक पनि कमाउने कुनै बाटो नभएकाले उतै जान लागेको बताउँछन । भारतमा कोरोना बढेर स्थिति भयावह भएपछि ज्यान जोगाउन स्वदेश फर्किएका नेपालीहरू अहिले धमाधम भारत जान थालेका छन् । भारतमा स्थिति भयावह हुँदा नेपाल फर्किएकाहरू बिहान–बेलुकाको छाक टार्नसमेत मुस्किल हुन थालेपछि उनीहरू पुनः रोजगारीकै लागि भारत जान थालेका हुन् ।

कैलालीमा निषेधाज्ञा जारी छ तर यसैबीच गौरीफन्टा नाका भएर दुई हजारभन्दा बढी नेपाली भारत पलायन भइसकेका छन् । अहिले सीमामा नेपाली नागरिकलाई भारत जान रोक छैन भने भारतीय नागरिकलाई नेपाल आउन रोक लगाइएको छ । रासस