नेपाली कामदारको होटलमा बास, भारतीय नागरिक धमाधम साउदी उड्दै

नेपाली कामदारको होटलमा बास, भारतीय नागरिक धमाधम साउदी उड्दै फाइल फोटो

काठमाडौं। वैदेशिक रोजगारीमा जान नपाएका हजारौं नेपाली कामदार अहिले काठमाडौंको विभिन्न होटलमा थुनिएर बस्न विवश छन्। तर, सरकारले भारतीय नागरिकलाई भने साउदी अरब लैजान स्वीकृति प्रदान गरेको छ।

कोरोनाको भारतीय ‘भेरियन्ट’ का कारण यतिबेला विश्व त्राहीमाम छ। युरोपदेखि मध्यपूर्वका सबै देशले भारतसँगको प्रत्यक्ष हवाइ उडान रद्द गरिसकेका छन्। तर, नेपाल सरकारले बेलैमा भारतसँगको हवाइ उडान बन्द नगर्दा राजधानी काठमाडौंलगायत भारतीय सीमा जोडिएको तराइका शहरहरू उच्च जोखिममा परेको थियो।

‘सरकारले केही पैसाका लागि जनताको ज्यान जोखिममा पा¥यो। सरकार अहिले पनि सुध्रिएको छैन,’ नागरिक अभियन्ता पुष्प गौतम भन्छन्।

नेपाली विमानस्थलबाट भारतीय कामदारलाई निर्वाद रूपमा विदेश पठाउन सरकारले स्वीकृति प्रदान गर्दा राजधानी काठमाडौंको अवस्था भयावह बनेको छ। अहिले दिनहुँ ९ हजारभन्दा बढी कोरोना संक्रमित देखिएका छन् भने २ सयको हाराहारीमा मृत्यु हुने गरेको छ।

हालसम्म नेपालमा ५ हजारभन्दा बढीको निधन भइसकेको छ। यसमा ४ लाख ६० हजारभन्दा बढी संक्रमित भइसकेका छन् र संक्रमित हुने क्रम रोकिएको छैन। नेपालमा देखिएको भारतीय ‘भेरियन्ट’ डरलाग्दो भएको र यसले नेपालको स्वास्थ्य संस्थान ध्वस्त पार्ने चेतावनी विश्व स्वास्थ्य संगठनले गरिसकेको छ।

सरकारले भारतीय दूतावासको आग्रहमा नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी लैजान २ वटा नेपाल एयरलाइन्सको विमान तथा ३ वटा हिमालय एयरलाइन्सको उडानको मन्जुरी दिइसकेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सले मंगलबार र बुधबार १–१ वटा उडान गर्दैछ भने हिमालयले मंगलबार ३ वटा उडान गर्ने भएको छ। कम्पनीले साउदी अरबको दमामसम्म लैजान प्रत्येक भारतीयबाट ८ सय २० अमेरिकी डलर भाडा तोकेको छ।