‘नेपालमा अक्सिजन पठाऔँ, आफन्त बचाऔँ’ अभियान : बेलायतबाट १ सय अक्सिजन कन्सन्ट्रेटर पठाइने

‘नेपालमा अक्सिजन पठाऔँ, आफन्त बचाऔँ’ अभियान : बेलायतबाट १ सय अक्सिजन कन्सन्ट्रेटर पठाइने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तरगत बेलायतस्थित नेपाली समुदायले सहयोग संकलन थालेका छन् । नेपाली दूतावास लण्डनको संयोजनमा शनिवार साँझ (भर्चुअल) माध्यमद्वारा यहाँस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको संयूक्त बैठकले नेपालमा तत्काल सहयोगको लागि अभियान सुरु गर्ने निर्णय गरेको हो । विभिन्न संघसंस्थाका पदाधिकारीहरुले झन्डै सवा करोड रुपैयाँ सहयोग गर्ने वाचा गर्दै उक्त रकमबाट १ सयवटा अक्सिजन कन्सन्ट्रेटर मशिन किनेर नेपाल पठाउने घोषणा गरेका छन्। पहिलो चरणको छलफलमै ६४ वटा अक्सिजन कन्सन्ट्रेटर मेशिनको प्रतिबद्धता आएको छ

करिब १ सय भन्दा बढी प्रतिनिधीको उपस्थितीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपालमा तत्काल दुईवटा प्राथमिकता लिएर सहयोग गर्न सकिने बताए । उनले कोभिड उपचारको लागि अक्सिजन कन्सन्ट्रेटर उपकरण तत्तकाल आवश्यक रहेको जानकारी दिए । उनले गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीच सहकार्य गरेर अघि बढ्न सकिने बताए । उनले गैरआवासीय नेपाली संघ यूकेले बेलायतवासीको तर्फबाट पहिलो चरणमा अक्सिजन कन्सरट्रेसर पठाउन अनुरोध गरे । रेग्मीले नेपालमा स्वास्थ्य सामग्री पठाउन परे आवश्यक हवाइ चार्टड समेत गर्न सकिने जानकारी दिए ।

संघका महासचिव डा. हेम राज शर्माले तत्काल अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरहरु पठाउन आग्रह गरे । शर्माले विदेशमा संकलन भएको सहयोगलाई नेपाल सम्म पुराउनको संघले आवश्यक सहयोग गर्ने बताए ।

गैरआवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले यो महामारी देशलाई सेवा गर्ने अवसर भएको बताए । उनले नेपालमा अहिले अस्पतालमा अक्सिजनको अभाव हुँदा राम्रो उपचार हुन नसकेको भन्दै सबैलाइ काँधमा काँध मिलाएर देशको सेवामा लाग्न आग्रह गरे । उनले नेपालमा खोप लैजान सबै पक्षलाई आआफ्नो स्थानबाट पहल गर्न आग्रह पनि गरे ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ यूकेका संरक्षक सूर्य गुरुङ्गले महाभूकम्पको वेलामा वेलायतवासी नेपाली समुदायतले ऐक्यवद्ध भएर देशमा सहयोग गरेको स्मरण गर्दै अहिलेको स्वास्थ्य संकटमा समेत एक भएर सहयोग संकलन गर्न आव्हान गरे ।

गैरआवासीय नेपाली संघका यूरोप क्षेत्रीय उपसंयोजक कृष्ण तिमल्सीनाले अहिले देशमा स्वास्थ्य संकट रहेकोले सबैजना ऐक्यबद्ध भएर सहयोग गर्नु पर्ने वेला आएको बताए । संघका केन्द्रिय सदस्य रामशरण सिम्खडाले महाभूकम्पको भन्दा अहिले स्थिति बढी भयावह रहेको बताए । उनले एउटा ठोस ‘एक्सन प्लान’ बनाएर अघि बढ्नु पर्नेमा जोड दिए ।

गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले तत्काल नेपालमा खोप लैजान पहल गर्नु पर्ने साथै तत्काल सहयोगको लागि सकृय हुनु पर्ने सुझाव दिएका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, गैरआवासीय नेपाली संघ यूकेका पदाधिकारीहरु, पत्रकार, लेखक, बुद्धिजीवीहरुको उपस्थिति थियो ।