राजदूत पराजुलीको गैरआवासीय नेपालीलाई आग्रह–‘नेपालमा अक्सिजन प्लान्ट खोल्नुहोस्’

राजदूत पराजुलीको गैरआवासीय नेपालीलाई आग्रह–‘नेपालमा अक्सिजन प्लान्ट खोल्नुहोस्’

काठमाडौं । देशमा विपत पर्दा सधै सहयोग गर्दै आइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई कोरोनाको भयावह अवस्थामा अक्सिजन प्लान खोल्न ओमनस्थित नेपाली राजदूत शर्मिला पराजुली ढकालले सुझाव दिएकी छिन्।

वैदेशिक रोजगार पत्रकार समाजले बिहीबार आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत पराजुलीले भनिन्, ‘म एनआरएनएका साथीहरूसँग आग्रह गर्न चाहन्छु, सधै पैसा पठाउने भन्दा पनि देशमा नै अक्सिजन प्लान्ट खोल्दा राम्रो होला। यसले रोजगारी पनि सिर्जना हुन्छ।’

अक्सिजनको अभावमा नेपालमा कोरोना संक्रमितको निधन हुन थालेपछि एनआरएनएको पहलमा ओमन राजदूतावासको सहयोगमा आउँदो शनिबार देशमा ५ सय ५० वटा अक्सिजन सिलिण्डर आउँदैछ। उनले गैरआवासीय नेपालीले गर्ने सकारात्मक काममा आफ्नो साथ र सहयोग हुने स्पष्ट पारिन्।

राजदूत पराजुलीले नेपाल एयरलाइन्सको कार्गोबाट आउन लागेको अक्सिजन सिलिण्डरको भाडा नेपाल सरकारले तिर्न लागेको जानकारी दिइन्। ‘ओमन दूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँग कुरा गरेर कार्गोमा लाग्ने भाडा छुट गराएको हो। यसको भाडा नेपाल सरकारले तिर्नेछ,’ उनले भनिन्।