इजरायलमा ज्यान बचाउन बंकरमा लुक्दै नेपाली

इजरायलमा ज्यान बचाउन बंकरमा लुक्दै नेपाली तस्वीर : एएफपी

काठमाडौं। इजराइलमा जारी द्धन्द्धको अवस्थामा पनि कुनै नेपाली हताहत नभएको लामो समयदेखि इजरायलमा कार्यरत नेपाली दिपक प्रसाद ओलीले जानकारी दिएका छन्।

एनआरएनए, इजरायलको पूर्वअध्यक्षसमेत रहेका ओलीले बुधबार प्रवास खबरसँग कुराकानी गर्दै हालसम्म कुनै दुःखद घटना सुन्नु नपरेको बताए।

विगत एक सातादेखि प्यालेस्टाइनको हमास समूहले इजरायलमा अनवरत मिसाइल आक्रमण गरिरहेको छ। यो घटनामा छिमेकी भारतको केरला निवासी ३० वर्षीय सोमैयाको निधन भएको थियो।

हाल इजरायलको दक्षिण भागमा सबैभन्दा बढी मिसाइल आक्रमण भइरहेको छ। यो क्षेत्र खेतीका लागि उर्बर मानिन्छ। यहाँ सयौंको संख्यामा नेपालीहरू कार्यरत रहेपनि कसैलाई कुनै प्रकारको क्षति नभएको ओली बताउँछन्। दक्षिण इजरायलमा हमासले प्रति मिनेट ५–६ वटा मिसाइल छोडिरेको छ।

‘सबै जना बंगरमा गइसकेका छन्। कुनै अप्रिय घटनाको जानकारी छैन,’ उनले प्रवास खबरलाई जानकारी दिए।

राजधानी तेल अभिभमा पनि मंगलबार राती र बिहान मिसाइल प्रहार गर्ने असफल प्रयास भएको थियो।

इजराइली सरकारले अशक्तहरूलाई बंकरमा जान निर्देशन दिइरहेको छ। अन्यको हकमा साइरन बजेको ४० सेकेण्डमा बंकरमा प्रवेश गर्न आदेश दिइएको छ।

इजरायलमा कार्यरत नेपालीहरू अनुभवी भएका कारण उनीहरू युद्धको बेला कसरी बाच्ने भन्ने कुरामा पोख्त भइसकेको ओलीको भनाइ छ।

‘यहाँ कार्यरत नेपालीहरू अनुभवी छन्। बेलाबेलामा हुने युद्धको स्थितिबारे जानकार भइसकेको हुनाले सतर्क बसेका छन्,’ उनले भने, ‘आपतकालीन साइरन बजेको खण्डमा ४० सेकेण्डभित्र बंकरमा पुग्न सक्षम छन्।’

इजरायल सरकारले हमासको आक्रमण रोक्न ‘आइरन डम’ को भरपुर उपयोग गरिरहेको छ। सन् २०११ मा प्रयोगमा आएको ‘आइरन डम’ ले दुश्मनबाट छोडिएको मिसाइललाई आकाशमै क्षतिग्रस्त पार्ने र दुश्मनको क्षेत्रमा उल्टो आफ्नो मिसाइल झार्ने काम गर्छ।

इजरायलमा हाल २५ सयको हाराहारीमा नेपाली रहेका छन्।