एनआरएनए अफ्रिकाद्धारा नेपालमा अक्सिजन आपूर्तिका लागि १२ लाख सहयोग

एनआरएनए अफ्रिकाद्धारा नेपालमा अक्सिजन आपूर्तिका लागि १२ लाख सहयोग

लेगोस (नाइजेरिया)। गैरआवासीय नेपाली संघ (एनआरएनए) अफ्रिका क्षेत्रीय समितिले नेपालमा अक्सिजन आपूर्तिका लागि १२ लाख नेपाली रुपैयाँ सहयोग पठाउने भएको छ।

कोरोना संक्रमणले नेपालको अवस्था बिग्रदै गएपछि विभिन्न १० जिल्लामा अक्सिजन आपूर्ति गर्न उक्त रकम तत्कालै पठाउन लागिएको संघका पूर्व कोषाध्यक्ष  हिक्मत थापाले प्रवास खबरलाई जानकारी दिए।

थापाका अनुसार आइतबार बसेको अफ्रिकी एनसीसीको बैठकले स्थानीय निकाय, संघसस्थासँग समन्वय गरी रकम संकलन गरेको हो।

अफ्रिकी मुलुकमा नेपालीहरूको उपस्थिति नगन्य मात्रामा रहेपनि देशलाई अप्ठ्यारो पर्दा यहाँ बसोबास गर्ने नेपालीले सधै झैं सहयोग उपलब्ध गराउँदै आइरहेको छ। यसपालि पनि यसैलाई निरन्तरता दिइएको थापाले बताए।

अफ्रिका क्षेत्रीय संयोजक रोशन थापा भन्छन्, ‘देश प्रति माया राख्ने नेपालीले सहयोग गर्दै आइरहेका थिए। बिपतको यस घडीमा पनि साथ दिन लागेका हौं।’

बैठकले कङ्गोका अध्यक्ष अमृत क्षेत्रीको संयोजकत्वमा कङ्गो, घाना, मोजाम्बिकका एनसीसी र कृष्ण डुम्रे आइभोरी कोस्टको सहयोगमा पाल्पा, गुल्मी, नवलपुर, नवलपरासी र स्याङ्जामा ३ लाख ५० हजार बराबरको ५ सय ५० सिलिन्डर रिफिल गरि बुटवलबाट पठाउने निर्णय गरेको छ।

यस्तै, सेसेल्स अध्यक्ष रामप्रसाद पन्तको संयोजकत्वमा सेसेल्स र केन्या एनसीसीले चितवनमा करिव २ लाखको तत्काल आबश्यक स्वास्थ्य सहयोग गर्ने निर्णय ग¥यो। युगान्डा अध्यक्ष बिनोद थापाको संयोजकत्वमा बारा, पर्सालगायत २ नम्बर प्रदेशमा युगान्डा, बोत्स्वाना र दक्षिण अफ्रिकी एनसीसीको सहयोगमा ३ लाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्याउने निर्णय भयो।

अन्तर्राष्ट्रिय समितीकी महिला उप–संयोजक मन थापाको संयोजकत्वमा सुदूर पश्चिम प्रदेशमा तीन लाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्याउन नाइजेरिया, जाम्बिया र तान्जानिया राष्ट्रिय समन्वय समितिले तत्काल सहयोग गर्ने निर्णय गरेको छ।
क्षेत्रीय संयोजक थापाले भने, ‘थप सहयोग उठाउदै जाने र आबश्यकता अनुसार अन्य जिल्लामा सहयोग गर्दै जाने भन्ने सहमति बनेको छ।’

आइतबार सम्पन्न संघको क्षेत्रीय बैठकमा मोजाम्बिका अध्यक्ष देबी पौडेल, कङ्गो अध्यक्ष अमृत क्षेत्री, केन्या अध्यक्ष सुरज डुम्रे, तान्जेनिया अध्यक्ष पुष्पराज भट्टराई, सेसेल्स अध्यक्ष रामप्रसाद पन्त र युगान्डा अध्यक्ष बिनोद थापालगायत सहभागी थिए।

बैठकमा संघका अन्तर्राष्ट्रिय समितिका पूर्व कोषाध्यक्ष तथा हिक्मत थापाले मातृभूमि संकटमा रहेको बेला ठूलो दिल बनाएर सहयोग गर्नुपर्ने धारणा राखेका थिए।