बेलायतको स्थानीय निर्वाचनमा तीन नेपालीलाई सफलता

बेलायतको स्थानीय निर्वाचनमा तीन नेपालीलाई सफलता

लण्डन । बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा थप दुई गैरआवासीय नेपाली विजयी भएका छन्। शुक्रबार प्राप्त परिणाम अनुसार अल्डरसट क्षेत्रमा जीव बेल्वासे र फार्नबरो चेरिवुडको नेम थापा काउन्सिलर पदमा निर्वाचित भएका हुन्।

रश्मोर बरोको वेलिङटन वडामा कन्जरभेटिभ पार्टीबाट उम्मेदवार बेल्वासे ५ सय ८७ मत प्राप्त गर्दै विजयी भए। बेल्वासे उम्मेदवार रहेको वडामा पोस्टल र प्रत्यक्ष गरी जम्मा १ हजार ७९ मत खसेको थियो।

यस्तै रश्मोर बरोको फार्नबरो चेरिवुड वडामा कन्जरभेटिभ पार्टीबाट उम्मेदवार नेम थापा ८ सय ९८ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी लेबर पार्टीका उम्मेदवारले ८०६ मत प्राप्त गरेका थिए।

यसअघि गत मंगलबार हन्सलो बरो काउन्सिलमा भूपुगोर्खा विष्णुबहादुर गुरुङ मेयरमा निर्वाचित भएका थिए। उनी बेलायतको प्रमुख प्रतिपक्ष दल लेबर पार्टीबाट काउन्सिलर पदमा निर्वाचित भएका हुन्।

शनिबार बिहानसम्म प्राप्त नतिजा अनुसार यहाँको स्थानीय निर्वाचनमा सत्तरुढ दल कन्जरभेटिभले अग्रता लिएको छ। १४३ काउन्सिल मध्ये ८६ को परिणाम प्राप्त हुँदा कन्जरभेटिभले १ हजार ३ सय ४९ र प्रतिपक्ष दल लेबरले ८ सय ६१ सिट हात पारेका छन्।