मदनकृष्णले अस्पतालबाट लेखे मार्मिक स्टाटसः ‘आँसुका धारा थाम्न सकिनँ दाइ

मदनकृष्णले अस्पतालबाट लेखे मार्मिक स्टाटसः ‘आँसुका धारा थाम्न सकिनँ दाइ

काठमाडौं । कोरोना संक्रमण भएर अस्पतालमा उपचार गराइरहेका अभिनेता मदनकृष्ण श्रेष्ठले वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई सम्झिदै भावूक स्टाटस लेखेका छन् ।

गायक प्रेमध्वज प्रधानको बिहिबार ८४ वर्षको उमेरमा न्यूरो एण्ड डेण्टल अस्पताल सुनधारामा उपचारको क्रममा निधन भएको थियो ।

अभिनेता मदनकृष्णको स्टाटस जस्ताको तस्तैः

हाई मेरो प्यारो प्रेमध्वज प्रधान दाइ, हार्दिक श्रध्दाञ्जली छ तिमिलाई ।
२०२६ सालमा कवि दुर्गालाल दाइको शब्दलाई तिम्रै संगीतमा गीत गाएर प्रतियोगितामा प्रथम भएर गीत संगीतको क्षेत्रमा पाइला अगाडि बढाएको थिएँ मैले।
कसैको आँखामा पनि नबिझाउने मान्छे तिमी। मनमा मानवता भएको व्यक्ति तिमी । कसैको कुभलोको शब्द नबोल्ने हृदयमा भगवान भएको गायक तिमी। मैले आफ्नाे जीवनलाई तिमी जस्तो प्रेमको ध्वजाको सामिप्यतामा बस्न पाएकोमा आफूलाई पनि भाग्यमानी सम्झिएको छु ।
म फेरि मेडिसिटी हस्पिटलमा भर्ना भएको छु। कोरोनालाई जित्छु भन्ने आत्मविश्वास छ । चाँडै निको हुनेछु र निको भएर हस्पिटलमा या बागबजार घरमा तिमिलाई भेट्न आउने सोचाइमा थिएँ । तर, तिमिले त हामी सबैलाई छोडेर पो गइसकेको रहेछौ…!!! मैले मेरा आँसुका धारा थाम्न सकिनँ दाइ ।
“गोरेटो त्यो गाउँको लौन आज” भन्ने गीत कानमा ठूलो ठूलो आवाजमा गुन्जीरहेको छ। माइती घरको “नमान लाज यस्तरी की झुम्छ जिन्दगी मेरो” गीतमा तिम्रो अद्वितीय स्वर्णिम स्वरको सम्झना भैरहेको छ।
“घुम्तीमा नआउ है आँखा तिमी जुधाउन ” भन्थ्यौ अब तिम्रो तस्बिर हेरेर मन बुझाउनु बाहेक के नै बाँकी रह्यो र ?
तिम्रो आत्मालाई चीर शान्ती मिलोस।
हार्दिक श्रध्दाञ्जली छ है दाइ ।
तिमिलाई माया गर्ने तिम्रो प्यारो भाइ उहि मदनकृष्ण श्रेष्ठ –


No ads found for this position