मिस युनिभर्स प्रतियोगितामा भाग लिन अमेरिका पुगिन् अंशिका

मिस युनिभर्स प्रतियोगितामा भाग लिन अमेरिका पुगिन् अंशिका

काठमाडौं । मिस युनिभर्स २०२१ मा भाग लिन मिस युनिभर्स नेपाल अंशिका शर्मा अमेरिका पुगेकी छिन्। ६९ औं मिस युनिभर्स टाइटलमा भाग लिन उनी अमेरिका पुगेकी हुन्।

मिस युनिभर्सको आउँदो संस्करण मे १६ तारिखमा अमेरिकाको फ्लोरिडामा रहेको सेमिनोल हार्ड रक होटल एण्ड क्यासिनोमा हुँदैछ। वर्तमान विश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीको कारण अंशिका र ब्रेभ बोल्ड एंड ब्युटीफुल टिमले विगतमा जस्तै औपचारिक रुपमा पत्रकार सम्मेलन आयोजना नगर्ने निर्णय गर्दै यसको सट्टा अंशिकाले प्रतियोगिताको पूर्व तयारी रेकर्ड गराएको जनाएको छ ।

सो रेकर्डिङ र उहाँको अद्भूत राष्ट्रिय पोशाक कान्तिपुर टेलिभिजन एचडीमार्फत मे ६ तारिख बिहान ९ बजे प्रदर्शन गरिएको छ । अंशिकाको साहस र उदारताको कथाले तेस्रो लकडाउनमा प्रवेश गर्दै गरेको एक राष्ट्रलाई केही राहत मिल्ने विश्वास लिइएको छ । अंशिकाले भनेकी छिन्, ‘यस यात्राको हरेक पाइलामा तपाईहरु सबै हाम्रो सम्झनामा हुनुहुन्छ र हामी एकजुट भएर विजय हासिल गर्ने कुरामा पनि विश्वश्त छौं।’

६९ औं मिस युनिभर्स प्रतियोगिता मे १६ तारिख बेलुका ८ बजे (मियामी समय) मा प्रत्यक्ष प्रशारण हुँदैछ । नेपाली समय मे १७ तारिख बिहान ५ः४५ मा हुनेछ । त्यसैगरी राष्ट्रिय पोशाक शो मे १३ तारिख बेलुका ८ बजे (मियामी समय) हुँदैछ । नेपाली समय मे १४ तारिख बिहान ५ः४५ मा हुने भएको छ ।