जापानमा उपचारको पर्खाइमै ज्यान गुमाउँदै संक्रमित

जापानमा उपचारको पर्खाइमै ज्यान गुमाउँदै संक्रमित सांकेतीक तस्वीर

टोकियो । जापानका प्रमुख शहर रहेका प्रान्तमा अस्पतालहरु कोरोना संक्रमितको लागि छुट्याएको बेड भरिभराउ जस्तै अवस्थामा छन् । आपतकाल घोषणा गरिएका ओसाका, ह्योगो, क्योतो र टोकियो मात्र होइन अन्य एक दर्जन प्रान्तमा अस्पताल कोरोना संक्रमित उपचारको चर्को दवाव थेगिरहेका छन् ।

दबाव घट्नुको साटो दिनहुँ बढ्दै जाँदा केही प्रान्तमा कोभिड १९ पुष्टि भएका बिरामीहरुले उपचार पर्खाइमै ज्यान गुमाउन थालेका छन् ।

यसको सबैभन्दा बढी असर खेपेको प्रान्त हो ओसाका । त्यहाँ वृद्धवृद्धा हेरचाह केन्द्रमा एकसाथ १९ जना संक्रमित पुष्टि भएपनि कसैलाई पनि अस्पताल भर्ना गर्न नसकिएको र २९ तारिख अस्पताल उपचार पर्खाइमै २ जनाले ज्यान गुमाएको अधिकारीहरुले बताएका छन् ।

अधिकारीहरुले ८० प्रतिशत अस्पतालमा कोरोनाका गम्भिर बिरामीले पनि उपचारको लागि हप्तादिन भन्दा बढी कुर्नुपर्ने अवस्था रहेको बताएका छन् । यसको अर्थ हो शहरमा कोरोना संक्रमण भएका बिरामीहरुले दिनहुँ उपचारबिना ज्यान गुमाइरहेका छन् ।

२९ अप्रिलनै यहाँको एक वृद्धवृद्धा हेरचाह केन्द्रमा ४० जनालाई सामूहिक संक्रमण पुष्टि गरिएको छ । तर, कोहीपनि अस्पताल भर्ना हुन सकेका छैनन् । संक्रमण बढ्दै जाँदा गम्भिर पाइएका पनि हेरचाह केन्द्रमै अक्सिजनको सहारामा उपचारको पर्खाइमा छन् । हुनसक्छ उनीहरुमध्ये केहीले उपचार कुरिरहँदै ज्यान गुमाउनुपर्छ ।

ओसाका नर्सिंग केयर स्वास्थ्य सुविधा संघका अध्यक्ष हिदेहारु कावाई भन्छन् ‘त्यहाँ उपचार गर्न कुनै पनि सुविधा छैन । उनीहरु मेरो अगाडि मर्दै गरेको देख्दा साह्रै दिक्क लाग्छ । म उहाँहरुलाई यस ठाउँबाट अन्यत्र सार्न चाहन्छु ।’

ह्योगोमा पनि कुर्दाकुर्दै ज्यान गुमाउँदै

आमागासाकी शहरमा २९ तारिखनै एक वृद्ध जसको अवस्था गम्भिर थियो र उपचारको लागि अस्पताल भर्ना हुन पर्खिरहेका थिए उनको निधन भएको छ ।

उपचारको लागि अस्पतालमा खाली बेड कुर्दाकुर्दै ज्यान गुमाउनेको संख्या बढिरहेको शहरका अधिकारीहरु बताउँछन् ।

मध्ये अप्रिलमा संक्रमण पुष्टि भएका ८० वर्षीय वृद्धलाई लगातार संक्रमणले गलाउँदै लगेको थियो । उपचारको लागि अस्पताल भर्ना हुन त भनियो तर, बेड अभावले उनले उपचार नपाएर ज्यान गुमाए । जो आफ्नै घरमा सामान्य अक्सिजनको सहायतमा थिए ।

ह्योगोमा उनी एक्लै होइनन् यसरी उपचार नपाएर ज्यान गुमाउने । शहरमा कयौं व्यक्तिको यसअघि यस्तै अवस्थामा कुर्दाकुर्दै अस्पताल नभई शव गृह जानुपरेको छ ।

अमागासाकी शहर मात्र होइन आकासी शहरका एक व्यक्तिको पनि शुक्रबार कोरोना संक्रमणकै कारण निधन भएको छ । उनको पनि निधन सामान्य होइन । किनभने उनी पनि उपचारको पर्खाइ गर्दागर्दै घरमानै ज्यान गुमाउन विवश भएका हुन् । ७० वर्षका उनको घरमानै उपचारको लागि कुर्दाकुर्दै एम्बुलेन्स त लिन आयो तर, उपचारको लागि नभइ शव व्यवस्थापन गर्नको लागि मात्रै ।

शहरमा यसअघि समेत २६ अप्रिलमा अर्का एक व्यक्तिले यसैगरी उपचारको पालो कुर्दाकुर्दै ज्यान गुमाउनुपरेको थियो।

कोबे शहरमा अस्पतालहरु कोरोनाका बिरामीले भरिदा गम्भिर बिरामीहरुलाई घरमानै कुर्न भनिएको छ । दैनिक घरमा उपचारको पालो कुरिरहेका बिरामीहरुको अवस्था विग्रिएको खवरले डाक्टरहरुको कुदाइ बढाइ दिएको छ । एकजना चिकित्सकले दैनिक ३ भन्दा बढी घरमा पुगेर अवस्था विग्रंदै गरेकाहरुको उपचार र अस्पताल भर्ना मिलेसम्म व्यवस्थाको सिफारिस गरिरहेको अधिकारीहरु बताउँछन् ।

कोबे शहरमा ३० अप्रिलसम्म साँझ सम्ममा १८ सय ८ जना अस्पताल भर्नाको लागि पालो कुरिरहेको तथ्यांकमा उल्लेख छ । चिकित्सकहरु उपचारको लागि घरमै पालो कुरिरहेकाहरुको अवस्था विग्रिएको फोन आउन नपाउँदै उपचारको लागि कुद्ने गर्छन् । तर, थाहा छैन कतिबेला कुन बिरामीले अस्पताल त परको कुरा चिकित्सक आउन नपाउँदै प्राण त्याग्छन् कुनै ठेगान छैन ।