टर्कीमा पुन: देशव्यापी कडा लकडाउन : के गर्न पाइन्छ, के पाइँदैन ? (सूचीसहित)

टर्कीमा पुन: देशव्यापी कडा लकडाउन : के गर्न पाइन्छ, के पाइँदैन ? (सूचीसहित)

इस्तानाबुल । कोरोना भाइरस (कोभिड–१९)को दोस्रो भेरियन्टको संक्रमण बढेसँगै विभिन्न देशहरुले फेरि लकडाउन गर्न थालेका छन् । यसैबीच टर्कीले पनि देशव्यापी रुपमा कडा लकडाउन गरेको छ।

मुस्लिम धर्मावलम्वीहरुको महान पर्व रमजानको महिनाकोबीचैमा लागू गरिएको लकडाउनले टर्कीका नागरिक तथा टर्की भित्र रहेका प्रवासी नागरिकहरू अलमलमा परेका छन् । पछिल्लो जानकारी अनुसार टर्कीमा १७ दिनसम्मको लागि लकडाउन घोषणा गरिएको छ।

प्रस्तुत छ लकडाउनको बारेमा विस्तृत जानकारीः

लकडाउनकाे प्रकृति

टर्की सरकारले लागू गर्न लागेको यो लगाउनको कोभिड–१९ महामारीले देशलाई २०२० को मार्चमा प्रभाव पारेदेखि यताकै कडा लकडाउन हुनेछ । यद्यपि, त्यतिबेला पनि टर्की सरकारले चालेका सावधानी सम्बन्धी मापदण्डहरुलाई प्रशंसा गरिएको थियो।

टर्की भित्रका सबै ८१ वटै प्रान्तहरुमा लकडाउन गरिनेछ । अत्यावश्यकीय संवेदनशील क्षेत्र तथा पर्यटकीय क्षेत्रमा काम गर्ने केही मानिसहरू बाहेक सम्पूर्णलाई घरभित्रै बस्न निर्देशन गरिएको छ । अति आवश्यक काम परे भन्दा बाहेक घर बाहिर निस्कन पाइने छैन।

पहिलाको लकडाउनमा जस्तै यसपाली पनि अति आवश्यक सामान किन्नु परेमा नागरिकहरूले नजिकैको पसलमा पैदल हिंडेर जान सक्नेछन् । अथार्त कार वा अन्य सवारी साधन प्रयोग गरेर सामान किनमेल गर्न जान पाइने छैन।

समय

२९ अप्रिल बिहीबार बेलुकी ५ बजेदेखि सुरु हुने लकडाउन १७ मे सोमबार बिहान ५ बजेसम्म हुनेछ । १ मेमा पर्ने अन्तर्राष्ट्रिय श्रमिक दिवस र चार दिनसम्म चल्ने रमजान वेरम, वा इद–अल–फित्र विदामा पनि लकडाउन जारी रहनेछ। १७ दिनसम्म चल्ने लकडाउनमा कुनै पनि लचकता अपनाइने छैन ।

अपवाद

टर्कीको आन्तरिक मन्त्रालयका अनुसार अत्यावश्यकीय क्षेत्रमा काम गर्ने सिमित कर्मचारीहरूलाई पहिलेको लकडाउनमा जस्तै काममा जान आउन दिइने छ । यद्यपी उनीहरुलाई पनि आफ्नो ड्युटी समयसम्मको लागिमात्रै छुट हुनेछ ।

त्यस्ता कर्मचारीहरु पनि अन्य समयमा खुल्ला रुपमा सडकमा यताउति हिँड्न पाउने छैनन् । उनीहरुलाई पनि प्रहरी चेकिङ लागू हुन सक्नेछ ।

तर, टर्की आएका वैदेशिक पर्यटकलाई पनि लकडाउन अवधिमा बाहिर हिँडडुल गर्न दिइनेछ । संग्रहालय तथा अन्य सांस्कृतिक सम्पदाहरु लकडाउनको समयमा पनि पर्यटकको लागि खुला राखिनेछ । तर, त्यस्ता पर्यटकले ती क्षेत्रमा जानु भन्दा अगावै सरकारलाई जानकारी दिइ सहमति लिइसकेको हुनुपर्नेछ ।

यद्यपी टर्कीमा छोटो वा लामो समयको लागि आवासीय अनुमति प्राप्त प्रवासी तथा आप्रवासी श्रमिकको लागि यस्तो छुट पाइने छैन।

जरिवाना

लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई टर्की प्रहरीले ३ हजार १ सय ५० टि.एल. (३८५ डलर) जरिवाना तिराइनेछ । त्यस्तै इन्डोर तथा आउटडोर दुबैमा मास्क अनिवार्य गरिएकोले मास्क नलगाइएको पाइएमा अतिरिक्त ९ सय टि.एल. (१ सय १० डलर) जरिवाना तिर्नुपर्नेछ।

उपलब्ध हुने सेवाहरु

लकडाउन अवधिमा अतिआवश्यक तथा संवेदनशील सेवाहरु चल्न पाउनेछन् । कार्गो व्यवसाय चल्नेछ । त्यस्तै डेलिभरी गर्ने कर्मचारीलाई पनि ड्युटीभर लकडाउनको सर्त लागू हुने छैन । लकडाउन अवधिमा कुनै पनि व्यक्तिले सामान फिर्ता

गर्नकोलागि व्यवसायको कुनै शाखामा जान पाउने छैनन् । योसँगै थुप्रै ई–कमर्सले आफ्नो रिर्टन पोलिसीको समय बढाएका छन्।

स्वास्थ्य सेवा

लकडाउन अवधिभर पब्लिक तथा प्राइभेट अस्पताललाई आफ्नो क्षमताअनुसारको सेवा सुचारु गर्न दिइनेछ।

डाक्टरको अपोइन्टमेन्ट लिएका बिरामी, कोभिड–१९को खोप लिने व्यक्ति तथा मेडिकल ईमर्जेन्सीका बिरामीलाई लकडाउन समयमा छुट हुनेछ । तथापी, प्रहरीले कुनै चेकपोईन्टमा रोकेमा विवरणहरु प्रस्तुत गर्नुपर्नेछ ।

अस्पतालका अलावा नजिकको फार्मेसी तथा औषधि पसलमा पैदल हिंडेर जान पाइने छ । त्यस्तै फार्मेसी सञ्चालकले आफ्नो नियमित अवधिमा फार्मेसी सञ्चालन गर्न सक्नेछन्।

खाद्यान्न तथा अत्यावश्यक वस्तु 

१७ दिनको लकडाउन अवधिभर खाद्यान्न स्टोर, माछा–मासु पसल, बेकरी, तरकारी, डेजर्ट तथा ड्राइफुट बेच्ने पसलहरु बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खुल्न पाउनेछन् सामान किन्न जाने उपभोक्ताहरु कुनै सवारी साधन बिना नजिकैको पसलमा पैदल हिंडेर जान सक्नेछन् चेन–सुपरमार्केटहरु भने प्रत्येक आइतबार बन्द रहनेछन् ।

अनलाइन खाद्यान्न डेलिभरीको लागि पनि उल्लेखित नियमहरु लागू हुनेछन् । त्यस्तै लकडाउन अवधीभर मदिरा पसल पूर्ण रुपमा बन्द रहने छन् ।

रेस्टुरेन्ट, भोजनालय तथा खानासम्बन्धी सेवाहरु

लकडाउन अवधिभर सम्पूर्ण रेस्टुरेण्ट, क्याफे तथा भोजनालयहरुसहित टेक–अवे अडर पनि बन्द गर्नुपर्ने छ । तर, उनीहरुलाई मुस्लिमको पवित्र महिना रमदान अवधिभर डेलिभरी गर्न भने दिइनेछ।

 शहरमा यात्रा

लकडाउन अवधिभर शहरभित्र यात्रा गर्न पाइनेछैन । पूर्वसहमति लिएका सीमित व्यक्तिहरूलाई मात्र अपवादको रुपमा यात्रा गर्न दिइनेछ।

स्थानीय नागरिक वा आप्रवासीले कुनैपनि ट्राभल बुकिङ वा टिकट लिन पाउने छैनन् । यदि कुनै यात्रा वा आवासको लागि पहिले बुकिङ गरेको खण्डमा सो रकम पूर्ण रुपमा फिर्ता पाउनेछन् । आन्तरिक मन्त्रालयले बताएअनुसार औषधी उपचार गर्न शहर या अन्य सहरमा जानु पाइनेछ । त्यसका लागि लागि डाक्टरको अनुरोध पत्र अनिवार्य चाहिनेछ।

नजिकको आफन्तको मृत्यु संस्कारमा जान पाइनेछ । त्यस्तै अहिले रहेको स्थानमा पाँच दिन वा सोभन्दा कम समयभित्र आएको तर, आफ्नै गृह स्थानमा फर्कन पाइनेछ । तर, त्यसका लागि अराइभल डेटको प्रमाण देखाउनु पर्नेछ । त्यस्तै टर्कीको पूर्वनिर्धारित परीक्षा दिने विद्यार्थीहरु, आफ्नो कार्यक्षेत्र बाट डिस्चार्ज भई घर फर्कन लागेका सिपाहीहरू, कुनै प्राइभेट वा पब्लिक कम्पनीको कन्ट्रयाक्टमा हस्ताक्षर गर्न बोलाइएका व्यक्तिहरु, जेलबाट छुटेका व्यक्तिहरु यात्रा गर्न पाउनेछन् ।

माथि उल्लेखित व्यक्तिहरु तथा टर्की प्रवेश गर्ने पर्यटकबाहेक कोही कसैले पनि सडकमा निस्कन पाइनेछैन। यदि कसैलाई अति आवश्यक परेमा अनुमतिको लागि सहमति लिनुपर्ने वा सडकमा निस्कनुपूर्व १९९ मा कल गर्नुपर्ने बताइएको छ । त्यसरी बाहिर निस्कने व्यक्तिले सरकारको ट्रयाक एन्ड ट्रेसु एपको आफ्नो व्यक्तिगत कोड प्रस्तुत गर्नुपर्नेछ ।

अन्तर्राष्ट्रिय यात्रा

टर्कीको राष्ट्रिय ध्वजावाहक टर्किस एयरलाईन्सको रुटिन अनुसार अन्तर्राष्ट्रिय उडानहरु सामान्य रुपमै चल्नेछन् ।

टर्की प्रस्थान गर्ने जो कोही स्वदेशी तथा बिदेशी नागरिकलाई आफ्नो अन्तर्राष्ट्रिय उडान टिकट प्रस्तुत गरेमा गन्तव्यसम्म सहजरुपमा पुग्न दिइनेछ।

ट्रान्जिट सवारीहरु

ठूला ट्रान्जिट सवारीको क्षमतालाई ५० प्रतिशतमा झारिएको छ । शहर पिच्छे त्यस्ता सवारीहरुको क्षमता फरक–फरक हुन सक्नेछ । त्यसरी सेवा दिने सवारीहरुले स्थानीय अधिकारीसँग परीक्षण गराउने तथा आवश्यक सूचना एवं सहमति लिनु पर्नेछ।

घरपालुवा जनावार

घरेलपालुवा जनावर जस्तै– कुकुर, बिरालो आदि पालेका व्यक्तिले घर नजिकको क्षेत्रमा ती जनावरहरूलाई डुलाउन पाउनेछन्।

भेटेरिनरीहरुले सदाजस्तै लकडाउनमा आफ्नो काम गर्न पाउनेछन् भने सर्वसाधारण मानिसहरूले ईमर्जेन्सी परेमा आफ्ना जनावरहरूलाई नजिकको भेटनरी किल्निकमा उपचारको लागि लैजान पाउनेछन्।

खेलकुद

खेलकुद वा खेलकुद सम्बन्धी क्रियाकलापलाई पूर्णतः बन्देज गरिएको छ। जीमहरु रमदानको सुरुदेखि नै बन्द गरिएका छन् । जुन १७ मेसम्म खुल्ने छैनन्।

वरिपरि हिँड्ने, पार्कमा जाने तथा समुद्रमा पौडी खेल्न पनि पाइने छैन।

धार्मिकस्थल

आर्मेनियाका पादरी साहक मसल्यानको पछिल्लो घोषणाअनुसार प्रायजसो चर्चहरु खुल्नेछन् । जहाँ नजिक बस्नेहरु एक्लाएक्लै गएर मैनबत्ति जलाउन पाउनेछन्। ती चर्चहरु बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म खुल्नेछन्। तर, पहिले नै कल गरी स्वीकृति लिएको हुनुपर्नेछ। सान्टा मेरियाको रोमन क्याथोलिक चर्च पनि खुल्ला रहनेछ।

त्यसैगरी धार्मिक मामिलाको अध्यक्ष मण्डलका प्रमुख अलि–ईर्वासका अनुसार मस्जिद लकडाउन अवधिभर खुला रहनेछन् । जहाँ दैनिकरुपमा नजिकको मस्जिदमा जान पाइनेछ। रमदान बाहेकको समूहमा गरिने प्रार्थना रद्द गरिनेछ। शुक्रबारको प्रार्थनाका लागि पनि मुस्लिम धर्मालम्बीहरु मस्जिद जान पाउनेछन्।

(एजेन्सीको सहयोगमा)