कतारको ‘रेड जोन’ मा नेपाल, कतार प्रवेशमा नयाँ नियम

कतारको ‘रेड जोन’ मा नेपाल, कतार प्रवेशमा नयाँ नियम दाेहा,कतार

दोहा । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरको असर केही देशमा उच्च देखिएको छ । जोखिम बढेका देशलाई विश्वका केही मुलुकहरुले धमाधम ‘रेड जोन’मा राखेका छन् । पछिल्लो समय नेपाल पनि कतारले सार्वजनिक गरेको उच्च जोखिमको सूचीमा परेको छ।

नेपाल यस सूचिमा परेसँगै कतार प्रवेश गर्ने नेपालसहित ६ देशका यात्रीहरुले अब १० दिनको होटेल क्वारेन्टाइन बुकिङ गर्नुपर्ने डिस्कोभर कतारले जनाएको छ । यसअघि कतार प्रवेश गर्न ७ मात्रै दिन होटेल क्वारेन्टाइन बस्नुपर्ने नियम थियो । यसअघि ७ दिनको लागि गरिएका होटेल क्वारेन्टाइनका बुकिङहरु रद्द गरिएको छ । रद्द गरिएको पुरानो बुकिङको रकम १५ दिनभित्र फिर्ता गरिने बताइएको छ । भने नयाँ बुकिङको लागि सम्पूर्ण रकम अहिले नै तिर्नुपर्नेछ ।

कतारले उच्च जोखिमको सूचीमा बङ्गलादेश, भारत, नेपाल, पाकिस्तान, फिलिपिन्स र श्रीलंकालाई राखेको छ । ती देशहरुबाट २८ अप्रिल बुधबार मध्यान्ह ११ः५९ पछि कतार प्रवेश गर्ने यात्रीहरूको लागि थ्री, फोर र फाइभ स्टार होटलहरूको थुप्रै दर्जनौँ प्याकेजहरु निर्धारण गरिएको छ।

कतार एयरवेजको गन्तव्य व्यवस्थापन विभाग, डिस्कोभर कतारले क्वारेन्टाइन बुकिङ सहजकर्ताको रूपमा भूमिका निभाउँदै उक्त किसिमका प्याकेजहरुको घोषणा गरेको हो।

क्वारेन्टाइन बस्दा तिर्नुपर्ने शुल्क होटल बुकिङ गरेको दिन र त्यहाँको सुविधालाई गरिएको स्तर निर्धारण (स्टार–रेटिङ) को आधारमा ३५ सयदेखि ८५ सय कतारी रियाल हुनेछ । सो रकम १० दिनको लागि तोकिएको शुल्क हो।

जोखिमको सूचिमा रहेका ६ देशबाट कतार जाने नागरिकले क्वारेन्टाइन बस्नुपर्ने अवधि होटलमा भए १० दिन वा मेकनिस होस्टेलमा भए १४ दिन हुनेछ । अन्य रेड–लिस्टको सूचीमा भएका देशहरुबाट कतार प्रस्थान गर्ने यात्रीहरूको हकमा भने सात दिनको क्वारेन्टाइन अनिवार्य तोकिएको छ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार जोखिम देशहरुबाट कतार प्रस्थान गर्ने यात्रीहरुले खोपको पूर्ण मात्रा लगाएको भएपनि क्वारेन्टाइनको सो नियम अनिवार्य पालना गर्नुपर्नेछ ।

उल्लेखित ६ देशहरु बाहेक अन्यत्रबाट कतार प्रवेश गर्ने यात्रीहरुले भने ती ६ देशका यात्रीहरुलाई निर्धारित गरिएका क्वारेन्टाइनमा बस्नुपर्ने छैन । उनीहरू पहिले नै बुकिङ गरिएका पुराना क्वारेन्टाइन होटेलहरुमा नै बस्न पाउने छन् ।