अस्पतालको २ करोड ५० लाख उपचार खर्च तिर्न नसकेर साउदीमा अड्किएका भुजेल स्वदेश फर्किए

अस्पतालको २ करोड ५० लाख उपचार खर्च तिर्न नसकेर साउदीमा अड्किएका भुजेल स्वदेश फर्किए काठमाडौं ओर्लिएपछि एनआरएनएका स्वयमसेवकसँग भुजेल

रियाद । रोजगारीको लागि साउदी अरब पुगेका मोरङका बेदबहादुर भुजेल दुई वर्षअघि कम्पनीकै काम गर्ने क्रममा दुर्घटनामा परे। दुर्घटनामा गम्भिर घाइते भएका उनलाई तुरुन्तै स्थानीय अस्पताल पुर्याइयो। त्यो दुर्घटनाले उनलाई अपांग नै बनायो।

बेदबहादुर त्योबेला अवैधानिक हैसियतमा थिए । उनले आफूले गर्दै आएको कम्पनी छोडेर अर्काे कम्पनीमा काम गरिरहेका थिए । स्थानीय फ्यामिलि केयर अस्पतालमा लामो समयको उपचारपछि उनको अवस्था सामान्य भयो । तर, अस्पतालको बिल भने होस् नै उड्ने उठ्यो । जुन पैसा उनले तिर्न सक्ने कुरै थिएन । अस्पतालमा ८ लाख साउदी रियल अर्थात नेपाली २ करोड ५० लाखभन्दा बढी भुजेलको उपचार खर्च उठेको थियो।

भुजेल अवैधानिक भएर काम गरिरहेकोले उनको उपचारको जिम्मा कम्पनीले लिएन् । उनको उपचार खर्च तिर्ने कोही भएन । अस्पतालले स्थानीय प्रशासनमा भुजेलको उपचारमा लागेको खर्चसहित मुद्दा दायर गर्याे।

अपांग भएर बेडमा लडिरहेका भुजेलको जिम्मा लिने कोही नभएपछि अन्नतः अस्पतालले बाध्य भएर नेपाली दूतावासको जिम्मा लगायो । दूतावासले भुजेललाई आफ्नो सेल्टरमा राख्यो । र, उनको उपचार खर्च मिनाह गर्न कानूनी प्रक्रिया अघि बढायो।

दूतावासले भुजेललाई साउदी पठाउने म्यानपावर र नेपालबाट तोकेर आएको कम्पनिबाट प्राप्त केहि रकमबाट मुद्धा हेर्न कानून व्यवसायी राखेको थियो । तर, दुईवर्षसम्म पनि केहि प्रगति नभएपछि दूतावासको अनुरोधमा अस्पतालले भुजेलको उपचार खर्च मिनाहसहित मुद्धा फिर्ता लियो।

स्वदेश फर्किन लागेका भुजेललाई रियादस्थित दूतावासका राजदूत महेन्द्रसिंह राजपुतसहित दूतावासका कर्मचारीको विदाइ

अस्पतालले मुद्दा फिर्ता लिएपछि भुजेल स्वदेश फर्किन बाटो खुल्यो । साउदीमा विदेशी नागरिकमाथि मुद्धा लागेमा उक्त मुद्धा फछ्यौंट नभएसम्म साउदी छोड्न पाँइदैन ।अस्पतालले मुद्धा फिर्ता लिएसँगै दुई वर्षदेखि दूतावासको सेल्टरमा रहेका भुजेल बिहिवार नेपाल फर्किएका छन्। उनी ह्वियल चियरमै नेपाल फर्किएका हुन् ।

उनलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सहयोग गरेको हो । उनको स्वदेश फिर्तिको लागि आवश्यक सम्पूर्ण प्रवन्ध एनआरएनएले गरेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भुजेल

एनआरएनएका उपाध्यक्ष तथा यसै संस्थाका वैदेशिक रोजगार विभाग संयोजक डा. बद्री केसीका अनुसार भुजेललाई पीसीआर परीक्षण गरी नेपालसम्मको हवाइ टिकटको ब्यवस्था गरेको थियो । काठमाडौंदेखि घरसम्मको खर्चको पनि उपलब्ध गराइएको संयोजक केसीले प्रवास खबरलाई बताए । शुक्रबार भुजेललाई जहाजमार्फत बिराटनगर पठाइएको हो।