भारतमा कोरोना संक्रमितको संख्या साढे १ करोड नाघ्यो

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमितकोे संख्या साढे १ करोड नाघेको छ । विहिबार सार्वजनिक गरिएको तथ्यांकअनुसार एकैदिन थप ३ लाख ३२ हजार ५०३ जनामा संक्रमण देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड ६२ लाख ५७ हजार ३०९ पुगेको हो ।

सोहि अवधिमा २ हजार २५६ जनाको ज्यान गएको छ । कोरोना भाइरसको संक्रमणकै कारण भारतमा २४ घन्टामा भएको यो मृत्युदर सबैभन्दा बढी हो । भारतमा हालसम्म कोरोना संक्रमणबाट मात्र १ लाख ८६ हजारभन्दा बढीको निधन भइसकेको छ ।

भारतमा यसअघि तीन लाखभन्दा केही बढी संक्रमित एकैदिन भेटिएका थिए । तर बिहीबार भने ३ लाख ३२ हजार भन्दा बढी नागरिक यसका संक्रमित भेटिएका हुन् । कोरोना माहामारी शुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्याङ्कले देखाएको छ । यद्यपी संयुक्त राज्य अमेरिकामा गत जनवरीमा एकै दिनमा तीन लाख भन्दा बढी व्यक्ति संङ्क्रमित भएका थिए ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट अहिलेसम्म भारतमा १३ करोड ५४ लाख ७८ हजार भन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप लगाउने क्रम जारी छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको हो ।

भारतमा बिहीबार १७ लाख ४० हजार ५५० जनाको कोरोना परिक्षण गरिएको थियो। अप्रिल २२ सम्म कूल २७ करोड ४४ लाख ४५ हजार भन्दा बढीले कोरोना परीक्षण गरिसकेको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।

भारतको राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा कोरोना शुरु भएपछि हालसम्म कोरोना सङ्क्रमणबाट १२ हजार ६४० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।