सरकारको वेवास्ताले हजारौं युवा कोरिया जानबाट वञ्चित : सांसद गगन थापा

सरकारको वेवास्ताले हजारौं युवा कोरिया जानबाट वञ्चित : सांसद गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले सरकारको वेवास्ताका कारण भाषा पास गरेर बसेका युवाले कोरिया जान नपाएको बताएका छन् ।

दक्षिण कोरियाको भाषा तथा सीप परीक्षा उत्तिर्ण गरेर बसेका करिब १० हजार पाँच सय र प्रतिबद्ध करिब २ हजार कामदार महिनौंदेखि काठमाडौंमा अलपत्र परेको उनले बताए । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘श्रीलंका, माल्दिभ्स,फिलिपिन्स सरकारले जस्तो पहलकदमी लिएको भए सायद उनीहरुले कोरिया जान पाउँथे ।’

कोभिड–१९ को महामारी फैैलिएसँगै भाषा तथा सीप परीक्षण उत्तीर्ण गरेका र घर विदामा आएकाले कोरिया फर्किन पाएका छैनन् । यी कामदारलाई कोरियामा रोजगारी पाउने सुनिश्चितताका सम्बन्धमा सम्बन्धित मन्त्रालयले ठोस काम गरेर यसबारे सदनलाई जानकारी गराउन समेत थापाले माग गरेका छन् ।

इपिएसले २०१९ मा सञ्चालन गरेको परीक्षामा साढे ६ हजार परीक्षार्थी उत्तिर्ण भएका थिए । साथै २०१७ र १८ मा पास भएका तर छनौटमा नपरेका केहि बाँकी कामदारले कोरिया जान पाएका छैनन् ।

दक्षिण कोरियाले नेपालबाट सन् २००८ देखि भाषा परीक्षा पास गरेकालाई रोजगारीका लागि कोरिया लैजाने गरेको छ ।