प्रवासी प्रवाहमा डायस्पोरिक कथासङ्ग्रह ‘प्रेयसी रोबटको लोकार्पण

प्रवासी प्रवाहमा डायस्पोरिक कथासङ्ग्रह ‘प्रेयसी रोबटको लोकार्पण

काठमाडौं । गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चौवालिसौँ शृङ्खला सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उप्रेतीले क्यानडाका लेखक सुरेन उप्रेतीको दशौँ कृति डायस्पोरिक कथासङ्ग्रह ‘प्रेयसी रोबट’को लोकार्पण गरेका छन्।

कृतिकार उप्रेतीलाई बधाई दिँदै उनले भने, ‘प्रवासी नेपालीहरुसँगै नेपाली भाषा र साहित्य विश्वभर फैलिँदै गएकोमा खुसी लागेको छ । प्रज्ञा प्रतिष्ठानले समेत डायस्पोरा डेस्क स्थापना गरी प्रत्येक दुई दुई वर्षमा प्रवासका साहित्यकार र अनुवाद साहित्यमाथि पुरस्कार दिन सुरु गरेको छ ।’, उप्रेतीले अगाडि भने, ‘गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष साहित्यकार जीवा लामिछानेले प्रवासका लेखकहरुले नेपाली भाषा र साहित्यलाई फराकिलो पार्दै लगिरहेका र यसलाई अझै प्रोत्साहन दिनुपर्ने आवश्यकता रहेको छ ।’

समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा काव्यविभाग प्रमुख प्राध्यापक डाक्टर हेमनाथ पौडेल, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसासका पूर्वअध्यक्षहरु प्राध्यापक मोहन सिटौला, बसन्त श्रेष्ठ र पदम बिश्वकर्मा, साहित्यकारहरु गोवर्द्धन पूजा (अमेरिका), भानुभक्त आचार्य (क्यानडा), समालोचक डाक्टर नेत्र एटम, कमल कोइराला ९क्यानडा०, राजेन्द्र अर्याल , कथाकार सीता अर्याल (अमेरिका), साहित्यसागरका प्रधान सम्पादक मणि नेपाली पनेरू (अमेरिका), सम्पादक तथा साहित्यकार रमेश सुभेच्छुक, इश्वरी भट्ट (अमेरिका), गैरआवासीय नेपाली संघ संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतम (रसिया), तारा उप्रेती (क्यानडा), सन्तोष बराल (क्यानडा), डाक्टर कृष्णहरि गौतम (क्यानडा), डाक्टर भरत श्रेष्ठ (क्यानडा), भोला बराल, नवीन सुवेदी, दिपक श्रेष्ठ, शालिग्राम अर्याल, युवराज भण्डारी (क्यानडा), प्रेम बराल (जापान) र शिवहरि पोख्रेल नेपालबाट सहभागी थिए ।

त्यस्तै, डाक्टर लेखनाथ काफ्ले (ताइवान), विष्णु बस्याल (क्यानडा), कवि कविन्द्र सिटौला (अमेरिका), मकालु प्रकाशन गृह नेपालका राजेन्द्र ढकालसमेत कार्यक्रममा सहभागी थिए।

कार्यक्रममा पुस्तकमाथि समालोचकद्वय डाक्टर नेत्र एटम र कमल कोइरालाले कथासङ्ग्रहमा रहेका कथाहरूका विभिन्न पक्षका बारेमा चर्चा गर्नुभएको थियो । गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई समितिका सहसंयोजक साहित्यकार महेश्वर पन्त (अमेरिका) र सदस्य सचिव भगवती बस्नेतले सञ्चालन गरेका थिए ।