कोरियामा सिटौलाले बेचे फर्जी हवाइ टिकट, सयौँ नेपाली अलपत्र

कोरियामा सिटौलाले बेचे फर्जी हवाइ टिकट, सयौँ नेपाली अलपत्र

काठमाडौं । दक्षिण कोरियामा नेपाली व्यवसायी केपी सिटौलाले नक्कली हवाइ टिकट बेचेर सयौँ नेपालीलाई बिचल्लीमा पारेका छन्।

एनआरएनए कोरियाका पूर्व अध्यक्ष समेत रहेका सिटौलाले सञ्चालन गरेको नेपाल टुर कम्पनी र लिन्क एसिया टुर्सले एसियाना एअरलाइन्सको विशेष चार्टर्ड उडान गराउने भन्दै नक्कली टिकट बेचेको हो।

९ अप्रिलमा काठमाडौँका लागि चार्टर्ड जहाज उडाउने भन्दै प्रतियात्रु १ हजार ९८ डलर लिएर नक्कली टिकट बेचेका हुन् । चार्टर्ड उडानका लागि नेपाल सरकारबाट स्वीकृति लिनुपर्दछ । सिटौलाले स्वीकृति नलिई गैरकानूनी तवरले टिकट विक्री गरेका हुन्।

टिकट लिएर उड्ने दिन पर्खेर बसेका यात्रुलाई अन्तिम समयमा सिटौलाको ट्राभलले ‘अत्यन्त जरुरी सूचना’ भन्दै फ्लाइट रद्द भएको जानकारी दिएको छ । सूचनामा नेपाल सरकारको पर्यटन मन्त्रालयले स्वीकृति नदिइएको भन्दै आफूहरु उडान रद्द गर्न बाध्य भएको उल्लेख छ।

कम्पनीले सरकारलाई दोषी देखाएको छ । एयरलाइन्सले पनि उडान अनुमति नपाउँदै आफ्नो उडान तालिका तय गर्दैन । अनुमति नै नपाएको उडानको टिकट सिटौलाले कसरी विक्रि गरे ? प्रश्न उठेको छ।

ट्राभलले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हाम्रा यात्रुहरुमा पर्न गएको असुविधाप्रति माफि माग्दै क्षमाप्रार्थी छौं ।’ अनुमति नपाएको कारण देखाउँदै टिकट लिने यात्रुलाई अर्को सूचना नआउन्जेलसम्म कोरोना परिक्षण नगर्न विज्ञप्तीमार्फत अनुरोध गरिएको छ । भनिएको छ,‘ वैकल्पिक उडानको तयारीमा रहेकोले जति सक्दो छिटो अर्को मिति तय गरिने छ ।’

अन्तिम समयमा उडान रद्द भएपछि टिकट लिएका यात्रुहरुले अहिले हारगुहार गरिरहेका छन् । उनीहरुमध्ये धेरै जना करार अवधि पूरा गरेर स्वदेश फर्किन लागेका श्रमिक हुन् । कतिपयको त १० अप्रिलमै भिसा सकिदैछ । कम्पनीबाट ‘फाइनल आउट’ हुन लागेकोले अब कम्पनीको जिम्मेवारी पनि रहँदैन । ‘अन्तिम समयमा विभिन्न बहाना गरेर आफूहरुलाई बिचल्लीमा पारेको’ भन्दै उनीहरुले आक्रोश पोखेका छन् । कतिपयले त खानेबस्ने विकल्प समेत नभएको बताएका छन्।

झुक्काएर कोरियन एयरको टिकट भनेर समेत बेचिएको केही यात्रुको दावी छ।

‘९ अप्रिलमा कोरियाबाट नेपाल सिधा उडान गर्ने भनेर टिकट दिएको रहेछ । सिधा उडान भएपछि कोरियन एयरको सोचेर टिकट काटेका रहेछन्’, एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले भने,‘पछि बुझ्दा टिकट त एसियाना एयरलाइन्सको पो रहेछ । जारी गरिएको टिकट सबै फर्जी रहेछ ।’

सिटौलाले चार्टर्ड उडानको लागि दूतावासलाई सिफारिस गरिदिन भन्दै एनआरएनए कोरिया समक्ष सहयोग समेत मागेका थिए । तर, अहिले चार्टर्डमार्फत उद्धार गर्नुपर्ने अवस्था नभएकोले एनआरएनएले पत्र लेख्न अस्विकार गरेको थियो। पछि सिटौलाले त्यहाँ मृत्यु भएका एक श्रमिकको शव पठाउने भन्दै चार्टर्ड उडानको अनुमति माग्ने प्रयास गरेका थिए। उनको उद्धेश्य जसरी हुन्छ चार्टर्ड उडानको अनुमति लिनु थियो । तर,उनको त्यो प्रयास पनि सफल भएन।

सस्तो भाडामा उडाउने भन्दै दूतावासमा निवेदन

सिटौलाले एसियाना एयरलाइन्समार्फत आफूूहरुले सस्तो दरमा उडाउने भन्दै सौलस्थित नेपाली दूतावास समक्ष निवेदन दिएका थिए । प्रति व्यक्ति ८ सय ५० अमेरिकी डलरको दरमा एसियाना एयरलाइन्स यात्रु बोक्न तयार भएको भनेर दूतावासमा निवेदन पुगेको थियो । चार्टर्ड उडानको अनुमति मिलाइदिन मन्त्रालयलाई सिफारिस गरिदिन भन्दै उनीहरु दूतावास पुगेका थिए । दूतावासले सुरुमा सिफारिस गर्न अस्वीकार गरेपनि पछि व्यापक दवाव दिएपछि चार्टर्ड उडानको अनुमति मिलाइदिन भन्दै पत्राचार गरेको थियो । तर, मन्त्रालयले अनुमति दिएन ।

तर, सौलस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रामसिंह थापा भने यसबारेमा आफूलाई केही जानकारी नभएको दावी गर्छन् । आफूले कुनै सिफारिस नगरेको उनको भनाइ छ। ‘मलाई केहि थाहा छैन् । हामीलाई अधिकार पनि छैन्,’ उनले प्रवास खबरसँगको टेलिफोन कुराकानीमा भने, ‘ पर्यटन मन्त्रालयले स्वीकृति दिने हो, दूतावासले होइन।’

दूतावासमा ८ सय ५० डलरमा उडाउने भनेर प्रस्ताव गरेपनि सबै यात्रुसँग १ हजार ९८ डलर लिएर टिकट बेचिएको छ । एसियाना एयरको टिकट पनि किन महङ्गो भनेर सोध्दा ? जवाफमा ट्राभलले,‘एसियाना र कोरियनको मूल्य एउटै हो’ भनेको छ।

यसबारेमा बुझ्न प्रवास खबरले सञ्चालक सिटौलालाई सम्पर्क गर्ने प्रयास गरेको थियो । तर, बारम्बार सम्पर्क गर्दा समेत उनीसँग सम्पर्क हुन सकेन्।