रुसमा साहित्यकार श्रेष्ठको निधन

रुसमा साहित्यकार श्रेष्ठको निधन

मस्को । साहित्यकार कृष्णप्रकाश श्रेष्ठको निधन भएको छ । कोभिड –१९ बाट संक्रमित भइ मस्कोस्थित एक अस्पतालमा उपचाररत श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको एनआरएनएका उपाध्यक्ष डा.बद्री केसीले बताए ।

उनको निधनमा एनआरएनएका अभियन्त जीवा लामिछाने, डा.बद्री केसी, डा. मधु माधुर्य लगायतले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

श्रेष्ठ लेखक, अनुवादक, पत्रकार तथा शोधकर्ता समेत थिए । साथै उनले विभिन्न संघसंस्थामा आबद्ध भइ नेपाली भाषाको साहित्यमा ठूलो योगदान पुर्याएका छन् ।

उनी नेपाली विश्व नेपाली साहित्य महासंघका केन्द्रिय समितिका वरिष्ठ सल्लाहकार समेत रहेका थिए । बिगत ६० वर्षदेखि रसियालाई कर्मथलो बनाएर रसिया बस्दै आएका श्रेष्ठले नेपालीलाई रसियन भाषा र रसियनलाई नेपाली भाषामा अनुवाद गर्थे ।

श्रेष्ठले नेपाली साहित्य संस्कृतिको प्रबद्र्धनमा ऐतिहासिक भूमिका निर्वाह गरेका छन् । उनले रुसमा नेपालको अध्ययन, रुसमा नेपालको छवि, मित्रता र सहयोगको गाँठो लगायत दर्जनौं कृति अनुवाद गरेका छन् ।

पटना विश्वविद्यालयबाट स्नातकोत्तर र मस्कोबाट पत्रकारितामा स्नातक गरेका उनले १९६३ देखि १९९१ सम्म रेडियो मस्कोमा नेपाली भाषाको कार्यक्रम सञ्चालन गरेका थिए । साथै उनले रुसी विज्ञान प्रतिष्ठान मस्कोबाट विद्यावारिधि गरेका थिए ।

श्रेष्ठले आफ्नो जीवनकालमा साहित्यिक एवम पत्रकारिता क्षेत्र लगायतबाट थुप्रै पदक तथा पुरस्कार प्राप्त गरेका छन् । उनी जगदम्बा – श्री, भानुभक्त स्वर्णपदक, सत्यमोहन जोशी शताब्दि पदक जस्ता पुरस्कारबाट सम्मानित भएका थिए ।