दक्षिण कोरियाले स्वदेश फर्किन नपाएका श्रमिककोे भिसा १ वर्ष थपिदिने

दक्षिण कोरियाले स्वदेश फर्किन नपाएका श्रमिककोे भिसा १ वर्ष थपिदिने

सौल । कोरियामा भिसा सकेर बसेका आप्रवासी श्रमिकले थप एक वर्ष बस्न पाउने भएका छन् । कोभिड – १९ का कारण नियमित उडान हुन नसक्दा भिसा सकेका श्रमिक आफ्नो देश फर्कन पाएका छैनन् । यो समस्यालाई मध्यनजर गर्दै कोरियाको राष्ट्रिय सभाले एक वर्षको समय थप गर्ने निर्णय गरेको हो।

कोरियाको राष्ट्रिय सभाले ‘विदेशी श्रमिक सम्बन्धी ऐन’ परिमार्जित गर्दै कोरियामा रहेका विदेशी श्रमिक कोभिडका कारण हवाई उडान प्रभावित भइ आफ्नो देश फर्कन नसक्ने अवस्था भएमा १ वर्षको भिसा थप गर्न पाउने व्यवस्था गरेको हो।

कोरियाका प्रमुख प्रतिपक्षी दल पिपल पावर पार्टीका नेता ली जोङ बेले ऐन परिमार्जनका लागि प्रस्ताव पेश गरेका थिए।

कोरिया सरकारले गरेको यो निर्णयले विदेशी कामदारलाई सहज पुग्नुका साथै कोरियामा कामदार अभावलाइ परिपूर्ति गर्न सहज पुग्ने अपेक्षा गरिएको छ । हाल कामदार अभावका कारण कोरियाका साना तथा मझौला व्यवसाय सञ्चालनमा कठिनाइ भएको छ ।

स्वदेश फर्कन नपाएका कामदारले आफू कोरिया रहुन्जेल काम गर्न पाउनुपर्ने माग गर्दै आइरहेका थिए । साथै कामदारको अभाव हुन थालेपछि स्थानीय रोजगारदाताले पनि यसबारे सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

ऐन परिमार्जनसँगै खानी उद्योगले पनि विदेशी कामदार राख्न पाउने अनुमति पाएको छ । यसअघि उत्पादनमूलक क्षेत्र, निर्माण, सेवा, कृषि तथा पशुपालन र माछापालन क्षेत्रमा मात्रै विदेशी कामदार राख्न पाउने नियम थियो।