तान्जानियाका राष्ट्रपति मगुफुलीको निधन

तान्जानियाका राष्ट्रपति मगुफुलीको निधन

तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको निधन भएको छ । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका ६१ वर्षिय मगुफुलीको बुधवार राति मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत् सार्वजनिक गरेका छन् ।

मगुफुली करिब तीन साता यता सार्वजनिक रूपमा देखा परेका छैनन् । यसैकारण पनि उनको स्वास्थ्यको विषयलाई लिएर देशभित्र विभिन्न हल्ला गरिएको थियो । उनलाई कोरोना भाइरसको संक्रमण भएको पनि बताइएको थियो ।

विषयमा सरकारले आधिकारिक रुपमा भने कुनै सूचना दिइएको छैन । उता विपक्षी नेताहरूले भने उनलाई कोरोना भाइरसको संक्रमण भएको दाबी गरेका छन् । तर यो समाचारको पुष्टि हुन सकेको छैन । यसै विषयको जवाफमा गतसाता तान्जानियाका प्रधानमन्त्रीले मगुफुली स्वस्थ्य रहेको सञ्चारमाध्यममार्फत जानकारी दिएका थिए । विपक्षी दलका नेता टुन्डु लिस्सुले भने मगुफुलीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताएका छन् ।

मगुफुली सन् २०१५ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएका थिए । सन् २०१५ को अक्टोबरमा ५६औँ जन्मदिनको अवसरमा देशको राष्ट्रपति घोषित भएका थिए । गत वर्षको चुनावमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । तान्जनियाको संविधानअनुसार राष्ट्रपतिको कार्यकाल पाँच वर्षे हुन्छ । अब उनको बाँकी कार्यकाल उपराष्ट्रपतिले सम्हाल्नेछन् ।