एजेण्टबीच कमिशनको कुरो नमिल्दा भिजिट भिसामा यूएई पुर्याइएका ७ युवा अलपत्र

एजेण्टबीच कमिशनको कुरो नमिल्दा भिजिट भिसामा यूएई पुर्याइएका ७ युवा अलपत्र दुबईमा अलपत्र नेपाली युवा

काठमाडौं । रोजगारीको लागि भिजिट भिसामा यूएई पुर्याइएका ७ नेपाली युवा विगत दुई महिनादेखि दुबईमा अलपत्र परेका छन् । आफूहरुलाई आकर्षक कमाइको प्रलोभन देखाएर ओम ओभरसिजका विष्णु भण्डारीले यूएई पठाएको पीडितले बताएका छन् ।

यसरी अलपत्र पर्नेमा सिराहका इन्ताज मिया अन्सारी, ओमशंकर यादव, इन्द्रजीत कुमार यादव, बाराका छवि महम्मद मन्सुरी,अजादी हजारा, पर्साका हाकिम मिया, र रौतहटका शेख रियाज रहेका छन् । भण्डारीले उनीहरुलाई गत ६ जनवरीमा दुबई उडाएका थिए ।

यूएईमा आकर्षक रोजगारी दिलाइदिने बताएपछि आफूहरुले भण्डारीलाई जनही २ लाख नेपाली रुपैयाँ बुझाएको उनीहरुको भनाइ छ । तर, दुबई पुगेको २ महिना वितिसक्दा पनि कोठामै थुनिन बाध्य भएको उनीहरुले प्रवास खबरलाई बताएका छन् ।

‘दुई महिना भइसक्यो हामीलाई कुनै काम लगाएको छैन् । हामी एक जना नेपाली दाईको कोठामा बसिरहेका छौँ । साथमा एक रुपैयाँ पनि छैन्,’ बाराका हजारा दुबईमा आफूहरुले भोगेको दुःख सुनाउँदै भन्छन्, ‘कि काममा लगाइदिनहोस् कि त पासपोर्ट फिर्ता दिनुस् हामी घर जान्छौं भन्दा पनि एजेण्टले फिर्ता दिएको छैन् ।’ पैसा नभएर परिवारसँग फोन सम्पर्क गर्न समेत नपाएको उनले सुनाए ।

काम नै नपाएपछि उनीहरु घर फर्किन खोजिरहेका छन् । आफूहरुलाई क्षतिपूर्ति सहित जतिसक्दो छिट्टो घर फर्काइनुपर्ने उनीहरुको माग छ।

एजेण्टबीच कमिशनको कुरा नमिल्दा अलपत्र

ओम ओभरसिजका भण्डारीले पठाएका ती ७ युवालाई काम लगाइदिने जिम्मा लिएका थिए यूएईमै कार्यरत हरि भुजेलले । ६ जनवरीमा दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनीहरुलाई रिसिभ गर्न भुजेल आफै पुगेका थिए। उनीहरुले नेपालबाट बोकेर लगेको एक हजार डलर पनि उनै भूजेलले लिएका थिए ।

तर, पछि भण्डारी र भुजेलबीच आपसमा कमिशनको कुरा नमिलेका कारण ती युवालाई अहिलेसम्म काम नलगाइएको खुलेको छ । यस विषयमा भण्डारी र भुजेलबीच एकअर्कामा भनाभन समेत भएको छ । उनीहरुबीच भएको कुराकानीको अडियो रेर्कड प्रवास खबरलाई प्राप्त भएको छ।

उनीहरुलाई भिजिट भिसामा पठाउने ओम ओभरसिजका विष्णु भण्डारी

उक्त अडियोमा भुजेलले भण्डारीसँग आफूलाई तोके अनुसार कमिशन नदिएको भन्दै ती युवालाई नेपाल फर्काइदिने धम्की दिएका छन् । भण्डारीले भने कमिशन वापत आफूले दिनुपर्ने सबै रकम दिएको बताएका छन् । उनले सबै हिसाब आफूले राखेको भन्दै तत्काल ती युवालाई काममा लगाइदिन भुजेललाई भनेका छन् । जिम्मा लिएको काम पूरा गर्नुपर्ने भण्डारीको भनाइ छ ।

भिजिट भिसामा कामदार पठाउनु गैरकानूनी काम हो । श्रम स्वीकृति नलिइ कुनै पनि देशमा रोजगारीका लागि जान मिल्दैन् । यसबारेमा थप बुझ्न प्रवास खबरले उनीहरुलाई दुबई पठाउने भण्डारीलाई सम्पर्क गरेको थियो । उनले आफूले ती युवालाई भिजिट भिसामा यूएई पठाएको स्वीकार गरेका छन्। तर, ती युवालाई अलपत्र भने नपारेको उनको दावी छ । ‘उनीहरुलाई कामको व्यवस्था गरिसकेका छौँ । भोली ती भाइहरु कामको लागि कम्पनीमा जाँदैछन् । अलपत्र पारेको छैन,’भण्डारीले भने ।

भुजेलको गैरकानूनी धन्दा

प्रवास खबरलाई विशेष श्रोतले दिएको जानकारी अनुसार भुजेलले यूएईमा अहिले धन्दा नै यही चलाएका छन् । उनले नेपालका एजेण्टसँग भिजिट भिसामा पठाइएकालाई यूएईमा काम मिलाइदिने र काम नपाउँदासम्म उनीहरुलाई बसोबासको व्यवस्था गर्नै ठेक्का लिन्छन् । त्यस वापत उनले नेपालका एजेण्टबाट कमिशन लिन्छन् । भने जस्तो कमिशन नपाए श्रमिकलाई दाउमा राखेर थप वार्गेनिङ गर्छन्।

यूएईमा रहेका एजेण्ट हरि भुजेल

त्यत्ती मात्रै कहाँ हो र भुजेलको धन्दा ! यसरी भिजिट भिसामा जाने नेपालीले बोकेर लगेको डलर भुजेल आफैले लिन्छन् । विदेश भम्रणमा जाने व्यक्तिले साथमा कम्तिमा एक हजार डलर अनिवार्य बोक्नै पर्ने अध्यागमनको प्रावधान छ । यसरी जानेहरुले बोक्ने पैसा त्यहाँ पुग्दावित्तिकै भुजेलले लिन्छन् । र, सोही पैसाको सुन किनेर बाला बनाइ फर्किेने श्रमिकलाई भरिया बनाउँछन्।

घर फर्किन लागेका श्रमिकलाई केही आर्थिक प्रलोभन देखाएर उनले बारम्बार सुनका बाला लगाएर पठाउने गरेको श्रोतको भनाइ छ । यसबारेमा बुझ्न प्रवास खबरले भुजेललाई सम्पर्क गरेको थियो । जवाफमा भुजेलले आफू यूएईमा व्यवसायी भएको बताए । आफूले अहिलेसम्म कुनैपनि गैरकानूनी काम नगरेको दावी गरे । भुजेलले भने, ‘मेरा यहाँ दुई वटा व्यवसाय छन् । अहिलेसम्म त्यस्ता कुनै पनि गैरकानूनी काममा मेरो संग्लनता छैन् ।’