कोरियाको ख्यङ्गि क्षेत्रमा रहेका प्रवासीलाई कोभिड परीक्षण अनिवार्य, नगरे लाखौँ जरिवाना

कोरियाको ख्यङ्गि क्षेत्रमा रहेका प्रवासीलाई कोभिड परीक्षण अनिवार्य, नगरे लाखौँ जरिवाना

सौल । दक्षिण कोरियाको ख्यङ्गि क्षेत्रमा रहेका आप्रवासी श्रमिकलाई कोरोना भाइरस (कोभिड–१९) को परीक्षण अनिवार्य गरिएको छ । कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई नियन्त्रण गर्नका लागि यो क्षेत्रमा रहेका सबै विदेशी श्रमिकलाई पीसीआर परीक्षण अनिवार्य गरिएको हो।

ख्यङ्गि दक्षिण कोरियाको सबैभन्दा ठूलो प्रदेश हो । यहाँ ८५ हजार वैधानिक आप्रवासी श्रमिक कार्यरत छन् । उनीहरुलाई ८ मार्चदेखि २२ मार्चसम्ममा कोरोना जाँच गर्न ख्यङ्गिदोले आदेश जारि गरेको गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले जनाएको छ । आदेश उल्घंन गर्नेलाई २० लाखदेखि ३० लाख कोरियन वनसम्म जरिवाना गरिने छ।

सबै आप्रवासी श्रमिकले आफ्नो नजिकै रहेका अस्थाइ कोरोना परीक्षणस्थलहरुमा गएर निःशुल्क परिक्षण गराउन सक्नेछन्। परीक्षण गराउँदा संक्रमण पुष्टि भएमा भने उपचार खर्च स्वयम् कामदारले नै व्यहोर्नु पर्नेछ।

यो क्षेत्रमा अवैधानिक हैसियतमा बसोवास गर्ने कामदारको संख्या पनि ठुलो छ। परीक्षणको क्रममा उनीहरुको वैधानिकता बारेमा सोधिनेछैन्। अर्थात, अवैधानिक हैसियतमा रहेकलाई पक्राउ गरिनेछैन्। त्यस्तै परीक्षणको क्रममा अन्य कानूनी जटिलता पनि हुनेछैन्।