एनआरएनए क्यानाडाका महासचिव भट्टराईद्धारा अख्तियारी दुरुपयोग आरोपको खण्डन

एनआरएनए क्यानाडाका महासचिव भट्टराईद्धारा अख्तियारी दुरुपयोग आरोपको खण्डन

क्यानडा । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) क्यानडाका महासचिव पिताम्बर भट्टराईले आफूमाथि लागेको अख्तिायारी दुरुपयोग आरोपको खण्डन गरेका छन्। उनले आफूमाथि लगाइएको आरोप तथ्यहिन भएको दावी गरेका छन्।

यसअघि संघका अध्यक्ष चिरनजीवी घिमिरेले प्रेस विज्ञप्ति जारी गरेर महासचिव भट्टराईले अख्तिायारी दुरुपयोग गरेको आरोप लगाएका थिए।

भट्टराईलाई संस्थाको निर्णयबिना प्रेस विज्ञप्ति जारी गरेर मिडियामार्फत समाचार सम्प्रेषण गराइएकाे आरोप लगाइएको थियाे।

महासचिव भट्टराईले यसअघि २१ फेब्रुअरीमा एनआरएनए क्यानाडको बैठकको निणर्य भन्दै प्रेस विज्ञप्ति जारी गरेका थिए । जसका आधारमा प्रवास खबरले पनि समाचार छापेको थियो।

तर, महासचिवले जारी गरेको उक्त प्रेस विज्ञप्तीबारे आफूहरु अनविज्ञ रहेको भन्दै त्यसको केही दिनमै अध्यक्ष घिमिरेले अर्काे प्रेस विज्ञप्ती जारी गरेका थिए । यसबारेमा घिमिरे आफैले पनि प्रवास खबरलाई सम्पर्क गरेर महासचिब भट्टराईले अख्तियारी दुरुपयोग गर्दै प्रेस विज्ञप्ति जारी गरेको बताएका थिए।

उनले जारी गरेको प्रेस प्रेस विज्ञप्ति बोर्ड र अध्यक्षको सहमति तथा विधान विपरित भएको जनाइएको थियो । यसैको आधारमा प्रवास खबरले ‘एनआरएनए क्यानाडाका महासचिव भट्टराईलाई अख्तियारी दुरुपयोगको आरोप’ भन्ने शिर्षकमा समचार लेखेको थियो।

तर, महासचिव भट्टराईले ७ मार्चमा प्रवास खबरलाई पत्रचार गर्दै आफूमाथि लगाइएको आरोप तथ्यहिन भएकोले उक्त समाचारको खण्डन गरिदिन अनुरोध गरेका छन्। प्रवास खबरलाई प्राप्त पत्रमा भनिएको छ–‘सो शिर्षकको समाचारमा लगाइएको आरोप तथ्यहिन र कपोकल्पित भएको तपाईलाई जानकारी गराउँदछु । महासचिव पदको जिम्मेवारी लिए पश्चात एनआरएनए एनसीसी क्यानाडाको बोर्ड बैठकले गरेको निणर्य र माइनट अनुसार मात्र प्रेस विज्ञप्ति जारी गरिदै आएको यहाँलाई जानकारी गराउँदछु ।’ उनले आफू एक्लैले कुनै पनि विज्ञप्तिमा एकल हस्ताक्षर नगरेको पनि उल्लेख गरेका छन् ।