कोरोना संकट : जापानमा ९० हजारबढीले रोजगारी गुमाए

कोरोना संकट : जापानमा ९० हजारबढीले रोजगारी गुमाए

टोकियो । कोरोना भाइरस (कोभिड–१९) का कारणले जापानमा ९० हजारभन्दा बढीले रोजगार गुमाएको पाइएको छ । यहाँको श्रम मन्त्रालय सोमबार सार्वजानिक गरेको विवरण अनुसार महामारीकाबीच जापानमा कामबाट निकालिने वा करार नवीकरण नै नगरिनेको संख्या ९० हजार भन्दामाथि पुगेको छ ।

मन्त्रालयका अनुसार गएको शुक्रबारसम्म कामबाट निकालिने वा करार नवीकरण नहुनेको श्रमिकको संख्या ९० हजार १८५ रहेको छ । फेब्रुवरीमा मात्रै कोरोना भाइरसको संक्रमण दोहोरिएर दोस्रो पटक आपतकाल लगाइएपछि रोजगारी प्रभावित हुनेको संख्या अघिल्लो महिनाको तुलनामा २५० ले बढेर ५ हजार ४१२ पुगेको छ।

गत वर्षको सेप्टेम्बरमा ११ हजार २९८ पुगेपछि महिनामा जागिरबाट निकालिने वा करार रद्द गरिनेको संख्या घटेर ५ हजारको आसपास आएको थियो।

१९ फेब्रुवरीसम्म रोजगारी सबैभन्दा धेरै गुम्ने क्षेत्र म्यानुप्याक्चारिङ हो । यस क्षेत्रबाट १९ हजार ७१ जनाले रोजगारी गुमाएका छन् । रोजगारी गुमाउनेमा दोस्रो स्थानमा रहेको रेस्टुरेन्ट, खुद्रा र बसोबास उद्योग हो । यसमा १०–१० हजार श्रमिकले रोजगारीबाट हात धुनु परेको छ ।

जापानका विभिन्न क्षेत्रमा करिव १ लाख नेपाली छन् ।