नेपाल–बङ्गलादेश युवा सम्मेलन आजबाट शुरु

नेपाल–बङ्गलादेश युवा सम्मेलन आजबाट शुरु

काठमाडौं । चौथो ‘नेपाल–बङ्गलादेश युवा सम्मेलन’ आजदेखि काठमाडौँमा शुरु भएको छ । कोभिड–१९ का कारण प्रभावित हुँदै आएको सम्मेलन रोगको सङ्क्रमण घटेसँगै आयोजना गरिएको कार्यक्रम संयोजक अभिनव चौधरीले जाकारी दिएका छन् ।

समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले यसरी दुई मुलुकका युवाबीच अनुभव आदान–प्रदान हुँदा आपसी सम्बन्ध विस्तार, संस्कृति हस्तान्तरण र विकास साझेदारमा टेवा पुग्ने बताए । आर्थिक समृद्धि र विकासका निम्ति युवाको भूमिका अहम हुने र त्यस्ता अनुभवी युवाले मुलुकको प्रतिनिधित्वसमेत गर्न सक्ने भएकाले पनि विश्वको अनुभव युवाले सिक्नु जरुरी रहेको उनको भनाइ छ।

उक्त समारोहमा नेपालस्थित बङ्गलादेशी राजदूत सलाहउद्दिन नोमन चौधरीले यस्ता खाले कार्यक्रम मार्फत युवाबीच अनुभव साटासाट हुँदा दुवै देशको व्यापार विस्तार र समग्र विकासमा नै टेवा पुग्ने बताए । दिगो विकास लक्ष्य, जलवायु परिवर्तन तथा प्रकोप नियन्त्रण, युवा सहभागिता र उद्यमशील विकासका विषयमा सम्मेलन केन्द्रित रहेको कार्यक्रम संयोजक चौधरीले जनाए ।

युवा विकास केन्द्र र साउथ एशिया पार्टनरसीप (साप) नेपालको आयोजना तथा बङ्गलादेश राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय युवा परिषद्को सहकार्यमा शुरु भएको सम्मेलनमा जलवायु परिवर्तनसम्बन्धी पर्वतारोही अनिश लुइँटेल र लालमणि वाग्लेले कार्यपत्र प्रस्तुत गरेका थिए । साथै बङ्गलादेशको प्रकोप व्यवस्थापनका विषयमा ढाका विश्वविद्यालयका महबुब आलमलेको कार्य प्रस्तुती रहेको थियो ।

यसअघि पहिलो र तेस्रो सम्मेलन काठमाडौँमा भएको थियो । दोस्रो पूर्वी नेपालको इटहरीमा भएको थियो । यस पटक बङ्गलादेशमा गर्ने भनिए पनि सम्भव नभएपछि नेपालमा आयोजना गरिएको हो । पाँचौँ संस्करण भने बङ्गलादेशमा विसं २०७८ को शुरुआतमै हुने जनाइएको छ । बङ्गलादेशी सुमाया तहमिद जाफ्ररिनको संयोजकत्वमा २५ सदस्यीय युवा टोली सहभागी छ । नेपालका विभिन्न जिल्लाबाट ४० युवाले सम्मेलनमा सहभागिता जनाएका छन् । सम्मेलन आइतबार पनि चल्ने छ ।