देशमै छ अवसर : कलामार्फत पहिचान खोज्दै सुवास

देशमै छ अवसर : कलामार्फत पहिचान खोज्दै सुवास

काठमाडौं । सुवास तामाङका बुबा पेसाले स्टोन कारपेन्टर, काठमाडौं स्वयम्भुस्थित बुबाकै मुर्तिपसलबाट सुवासले पनि कला क्षेत्रमा काम सुरु गरे । बुबासँग ढुङ्गा खोपेर आकार दिने र अक्षर लेख्ने काम सिकेका उनी अहिले व्यवसायीक कलाकारका रुपमा स्थापित भएका छन् । उनको चित्र नेपालमा मात्र नभइ बंङगलादेश, भारत र अष्ट्रेलियासम्म प्रदर्शन भैसकेको छ ।

प्रिन्ट मेकिङमा ललितकला क्याम्पसबाट स्नाकोत्तर गरेका सुवास अहिले कला प्रदर्शनीको तयारीमा जुटेका छन् । उनको लगाव र प्यासनलाई मूर्त रुप दिन सहयोगी बनेको छ ‘आट्री’ नेपाल । ‘आट्री’ कै वर्क स्पेसमा आफ्नो प्रदर्शनीका लागि काम गर्दै छन् । तामाङ समुदायको इतिहास, पहिचाहनलाई कलामार्फत प्रस्तुत गर्न उनी लागिपरेका छन् ।

ढुङ्गामा खोप्दै सुवास

बुबाको व्यवसाय पछ्याउदै सानै उमेरमै देश तथा विदेशमा चित्रकला प्रदर्शन गर्न सफल बनेका सुवासको संघर्षको कथा लामो छ । सानैमा रिलिफ वर्कलाई ढुङ्गामा खोप्न सिपालु उनको सिप स्कुलमा थाहा भएपछि झनै खुल्न थाल्यो । विद्यालयले सरस्वति पुजा, रजत जयन्तीमा ढुङ्गामा लेख्न उनलाई बोलाउथ्यो । उनको यो कला थाहा पाएपनि अन्य विद्यालयले पनि बोलाउन थाले । यसै क्रममा उनलाई पढाउने एकजना शिक्षकले उनको सिप र लगाव देखेर ललितकला क्याम्पस पढ्न सुझाएका थिए । ‘मूर्तिकला सम्बन्धि काम गर्ने रहेछौं ललितकला पढे राम्रो हुन्छ’ शिक्षक यहि सुझाव मानेर उनी २०६४ सालमा मूर्ति पढ्न ललितकला क्याम्पस भर्ना भए । पारिवारिक वातावरण नै चित्र कोर्ने र ढुङ्गा खोप्ने भएकोेले कला अध्ययनको लागि उनलाई सहज भयो ।

मध्यम खालको परिवार भएकोले अध्ययनसँगै कमाउनुपर्ने बाध्यता थियो सुवासको । जसले गर्दा उनी विहानीको समय क्याम्पस पढ्ने र दिउँसो काम गर्ने सोचका साथ क्याम्पस भर्ना भए । तर, मूर्तिकलाको कक्षा दिउँसो मात्रै थियो । विहान कलेज जाने दिउसो बुबालाई सघाउनेको योजना पूरा नहुने भएपछि कमर्स पढ्न स्वयम्भूको एउटा क्याम्पसमा भर्ना भए ।

कलामा होमिएका सुवासलाई हिसाव किताबको पढाइले तानेन । एक वर्षपछि फेरी उनी ललितकलामा पेन्टिङ पढ्न भर्ना भए । ‘ललितकलामा मर्निङ पेन्टिङ मात्रै थियो त्यो भएपनि पढ्छु भनेर ११ कक्षा पढ्दा पढ्दै उता ज्वाइन भए ।’ उनले हाँस्दै सुनाए, ‘एकैचोटी दुइटा कलेज भ्याइदिन्थे म । विहान ८ बजेसम्म ललितकलामा पढ्ने अनि १५ मिनेट दौडिदै गएर कमर्सको २ वटा क्लास लिन्थे, त्यसपछि काममा जान्थे ।’ स्नातकमा भने उनले कमर्स छोडेर मूर्तिकला अध्ययनलाई अघि बढाए भने प्रिन्ट मेकिङमा स्नाकोत्तर गरे ।

आट्री नेपालस्थित सुवासले बनाएको महेन्द्र माला

कला क्षेत्रको अध्ययन र काम दुवैमा पोख्त सुवास केहि वर्षदेखि खोजमूलक कला प्रस्तुतीमा व्यस्त छन् । आर्ट, पेन्टिङ भन्ने बित्तिकै स्केच बनाएर प्रदर्शनी गर्ने र बेच्ने भन्ने मात्र बुझाइ छ । तर उनी अलि पृथक विषयमा आफ्नो कला पोखाउँदैछन् । गाउँगाउँ गएर तामाङ जातिको इतिहासलाई खोतलेर कलामार्फत प्रस्तुत गर्ने काममा लागिपरेका छन् ।

जातले तामाङ भएपनि सुवास सानैदेखि अरु समुदायमा भिजेका थिए । जन्मथलो भोजपुरबाट बसाइ सर्दै मोरङ पुगेका उनका परिवार २०५८ सालमा काठमाडौं आइपुगेका थिए । त्यसैले उनले तामाङ समुदायको संस्कार, संस्कृतीको बारेमा बुझ्ने मौका खासै पाएन । स्नातक अध्ययनको क्रममा तेमालको राजा रिञ्जेन दोर्जेको स्केच बनाएका थिए उनले । केहि समयपछि गुगलमा उनले बनाएको रिञ्जेन दोर्जेको स्केच भेटिएपछि भने समुदायको इतिहास खोतल्न तर्फ उनको झुकाव बढ्न थाल्यो । अहिले उनले बनाएको स्केचको आधारमा काभ्रेपलाञ्चोक तिमालमा राजा रिञ्जेन दोर्जे र रानीको मूर्ति बनेको छ ।

तामाङहरुले गाडी बोकेर ल्याउँदै गरेको

कलाको लागि अरु थुप्रै क्षेत्र छन् । तर आफ्नै समुदायकै इतिहासमा केन्द्रित हुनुपर्ने केहि कारण भन्ने प्रश्नमा सुवासको सरल जवाफ छ, ‘देशको राजनैतिक परिवर्तनको प्रभाव हो । अहिले आइडेन्टीटिको इस्यु धेरै रेज हुन थालेको छ । त्यसले मलाई पनि छोयो । अर्काे कुरा आफ्नो समूदायको बारे जान्न मन सबैलाई लाग्छ । ईन्टरनेटमा खासै केहि नभेटिने भएकोले पनि यतै केन्द्रित हुन थालेको हो ।’ उनले थपे ‘मैले बनाएको रिञ्जेन दोर्जेको स्केच अनुसार रिञ्जेन दोर्जे राजा यस्तो रहेछ भन्ने अवधारणा सबैको दिमागमा परेको छ । त्यसकारण पनि मैले समुदायको बारेमा केहि गर्नुपर्छ भन्ने लागेको छ ।’

तामाङहरुले गाडी बोकेर ल्याउँदै गरेको दृश्य

अधिकांश युवाहरुको रोजाइ वैदेशीक रोजगारीमा छ । अझ सुवास जस्ता युवा त अध्ययनसँगै कमाइको लागि विदेश जाने लाइनमा छन् । तर, २९ वर्षिय सुवास भने गाउँ गाउँ पुगेर समुदायको इतिहास खोतल्नमा व्यस्त छन् । उनी इच्छा शक्ति भयो भने सानो कुराबाट पनि रोजगार सिर्जना गर्न सकिन्छ भन्छन्, ‘प्यासन हुनुपर्छ हरेक क्षेत्रमा अवसर भेटिन्छ । भैरहेकै कुरालाई पृथक रुपमा पस्किन सक्ने हो भने त्यो सबैको इन्ट्रेस बन्छ । रोजगारीको लागि भौतारिनु पर्दैन ।’ परिवारले पनि वैदेशीक रोजगारीमा जान सुझाव दिएपनि उनको मनमा भने विदेशीने सोच कहिल्यै आएन । ‘विदेशमा प्रदर्शनी गरेर फर्कदा किन फर्केको उतै काम गरेर बसेको भए हुने जस्तो कुरा गर्नुहुन्छ धेरैले । मेरो इन्ट्रेस नै छैन म कसरी बसुँ !’ उनी भन्छन्, ‘आर्टको काम गर्न विदेश नै जानुपर्छ भन्ने छैन । यतै बसेर पनि गर्न सकिन्छ । मैले गरेको पनि छु ।’

आफ्नो कलालाई समुदाय विशेषमा मात्र सिमित नराखी सुवासले आफुलाई फरक फरक काममा प्रस्तुत गरिरहेका छन् । चलचित्र गाँठोमा उनको काम देख्न सकिन्छ । यसैगरी पुस्तक कभर लगायतका कामहरु पनि गर्छन् उनी । आफ्नो जीविकोपार्जनमा खासै समस्या छैन । ‘आम्दानीको हिसावले धेरै नहोला, तर म मेरो कामप्रति सन्तुष्ट छु । व्यवसायीक रुपमा गर्ने हो भने आर्ट क्षेत्रबाट राम्रै कमाइ हुन्छ ।’