११ वर्षपछि ओमनको पाँच तारे होटलमा पूरा भएको सुरेशको सपना
रहरको के कुरा ! कुनै पूरा हुन्छन कुनै हुदैनन् । सुरेश खड्काकै कुरा गरौँ न । खासमा उनी नेपाली सेनामा भर्ति हुन चाहन्थे । सेनाको सान नै बेग्लै । बर्दी र बन्दुकको रवाफ नै बेग्लै । जब सुरेशले होश सम्हाले,उनले आफ्नो वरपरको परिवेश नै यस्तै पाए । बुवा हजुरबुवादेखि र नजिकका नातेदार सेनामा । उनलाई पनि यसैले लोभ्यायो । उमेर पुगेपछि सेनामा भर्ति हुने प्रक्रिया पनि थाले । उनले सेनाको अधिकृतमा आवेदन दिएका थिए । तर, हेर्नु न देवको लीला । ‘तिमी आँट म पुर्याउँछु’ भन्छन नि । यी सब भन्ने कुरामात्र रहेछन् । सुरेश नेपाली सेनामा प्रवेश गर्न असफल भए ।
अनि बाटो मोडियो।
काठमाडौं,कलङ्की नजिकैको खड्का गाउँका यी ठिटाले नैकापको उज्जवल माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरे । त्यसपछि आर्शिवाद कलेजबाट प्लस टु उत्तिर्ण गरे । पब्लिकयुथ क्याम्पसबाट ब्याचलर गरे । शंकरदेव क्याम्पसमा मास्टर्स पढ्दै थिए । तर, त्यहाँबाट उनको दिमाग अर्कैतिर घुम्यो,पढाइ पूरा गर्न पाएनन्।
कलेज पढदै थिए,तीन महिनाको इन्टर्नसिपमा उनी छिरे,काठमाडौंको पाँचतारे होटल सोल्टीमा । उनले सोल्टीको भान्सामा काम सिके । त्यही बिन्दुबाट उनको प्रवेश होटल क्षेत्रमा भयो । त्यसवेला पहिलोपटक उनले ९५० रुपैयाँ तलव थापे । यो उनको जीवनकै पहिलो कमाइ थियो।
सुरेश अहिले पनि यसै क्षेत्रमा कार्यरत छन् । कालिमाटीको सोल्टीबाट काम शुरु गरेको,त्यसपछि उनलाई नियतिले भारतको उँटीदेखि नयाँ दिल्ली पुर्यायो । त्यही उनी पोखरीजस्तो स्थिर भएनन् । बग्दै बग्दै उनी मध्यपूर्वको ओमन पुगे । सोल्टीको किचनमा छिरेर अहिले उनी मस्कटस्थित होटल इन्टरकन्टिनेन्टलको हाउसकिपिङ विभागको नेतृत्व गरिरहेका छन्। प्रवासमा कमै नेपाली होटल क्षेत्रको यो उचाइमा पुगेका छन्।
तर, यति सहजै सुरेशले यो उचाइ पाएका होइनन् । सोल्टीको इन्टर्न सकेको केहि समय घरमै चुपचाप बसे । यत्तिकैमा सोल्टी होटलले हाउसकिपिङका लागि जनशक्ति माग्यो । उनले दरखास्त हाले । छानिए पनि । १८ महिना काम गरे । ट्रेनीका रुपमा उनले यो काम गरेका थिए । यसपछि अर्थात सन् २००३ देखि सहायक सुपरभाइजरको रुपमा सोल्टीमै काम पाए,तलब थियो १२ हजार रुपियाँ प्रतिमहिना । यसको अर्को वर्ष उनले ब्याचलर पनि सके।
२००८ मा उनी मास्टर्स पढदै थिए,दक्षिण भारतको उँटीस्थित पाँचतारे होटल होलिडे इनमा जागिर पाए । तलब थियो १३ हजार भारतिय रुपियाँ । सुख्खा तलब । तलब सुविधा कम भए पनि होटल लाइनको खास कखरा यिनले उँटीमै पढ्न पाए । साढे दुई वर्ष उनले त्यहाँ काम गरे । आफ्नो काममा देखाएको दक्षताका साथै लगनशिलताले उनलाई दिल्ली पुर्यायो । आफू काम गरेकै होटलको अर्को इन्टरनेशनल चेन दिल्लीको क्राउन प्लाजामा सरुवा भएका थिए। तलब थियो ३५ हजार भारतीय रुपियाँ । त्यहाँ झण्डै एक वर्षभन्दा बढी समय काम गरे । यसरी भारतमा झण्डै ४ वर्ष बिताए।
‘यसै देशबाहिर उसै देशबाहिर भन्ने सोचेर मैले भारतबाट अन्य राष्ट्रमा सरुवा हुने सोच बनाएँ,’ सुरेश प्रवास खबरसँग खुल्दै थिए,‘त्यसपछि मेरो यात्रा ओमनतिर मोडियो ।’ आवदेन दिए । यसको आधा घण्टामै अन्तरवार्ता लिइयो । पहिलो चरणमा उनी छानिए । दोस्रो चरणमा पनि उनी उपयुक्त उम्मेदवार भए । ओमनको होलिडे इनकै अर्को पाँचतारे चेन होटल क्राउन पल्जामा हाउस किपिङ र लण्ड्रीमा सहायक म्यानेजरमा प्रति महिना २ लाख रुपैयाँको प्याकेजमा काम गर्न थाले । काम गर्दै थिए,उनका हाकिमले जागिर छाडे । चार महिना एक्लैले होटलको उक्त विभागको नेतृत्व गरे । लगनशिल थिए,कामप्रति समर्पण पनि उस्तै अनि सिक्ने जाँगर पनि । ‘यसले अब यो विभाग चलाउन सक्छ भन्ने लागेपछि मलाई होटलले जनवरी २०१४ देखि २ नम्बरको पोजिसनबाट १ नम्बरको जिम्मेवारी दियो ।’ अर्थात सुरेश अब भए,विभागीय प्रमुख।
काठमाडौंको सोल्टी होटलमा काम गर्दा नै एकदिन विभागीय प्रमुखको कुर्सीमा बस्छु भन्ने थियो,त्यसदिन मैले देखेको त्यो सपना ११ वर्षपछि पू्रा भयो । ओमन आएपछि प्रतिमहिना २ लाख रुपैयाँबाट काम थालेका उनको अहिले प्रतिमहिना ७ लाख रुपैयाँको प्याकेज छ । सुरेश २०१७ देखि इन्टरकन्टिनेन्टल मस्कटमा हाउसकिपरको प्रमुखमा छन् ।‘धन्यवाद त्यो साथीलाई जसले मलाई ओमनको बाटो देखायो,’ सुरेशले भने।
अब प्रसङ्ग प्रेमको
ती सबैलाई भाग्यशाली मान्नुपर्छ,जसले आफ्नो प्रेम सफल पारे र त्यसलाई विवाह परिणत गरे । सुरेश पनि यसैमध्यका एक भाग्यशाली हुन । एउटी युवती अर्थात सुजु थापासँग सुरेशले तीन वर्ष प्रेम गरे । २००७ मा मायाको जग बस्यो,२०१० मा विवाहको घर बन्यो।
९ वर्षकी छोरी ५ वर्षका छोरा र श्रीमती अहिले ओमनमै छन् । लामो बिदामा मेसो मिलाएर नेपाल आउँछन् । नेपाल कम आएर पैसा जोगाउनुभन्दा घर आएर परिवार र इस्टमित्र भेट्न उनलाई मन पर्छ । कोरोनाले कसलाई हैरान बनाएन र ? सुरेशलाई पनि त्यस्तै भयो । घर आउजाउ गर्न कोरोना बाधक बनिदिएको छ । १३ वर्ष भयो,रोजगारको सिलसिलामा विदेश बस्न थालेको । ‘देश र परिवारको मानसम्मान जोगाएर विदेशमा कर्म गरिरहेको छु,’ सुरेश आत्मविश्वासी सुनिए।
कामको तनाव,देशको सम्झना । उनले यसबाट मुक्ति पाउने साथी भेटेका छन् । किनकी गितार बजाउने र गुनगुनाउने कलेज जीवनदेखिकै शौख अहिले साथी बनेको छ । ओमनमा पनि परिवार वा साथीभाइ भेट्दा उनी संगीतमा रम्न हौँसिहाल्छन । होटललगायत ठाउँमा हुने कतिपय मेहफिलमा उनी गितारको तारबाट सुरिलो संगीत निकाल्छन। नेपाली गीत गुनगुनाइ हाल्छन्।
नेपाली हो नि ! उनलाई पनि अब नेपालमै केही गर्ने चाहना पलाएको छ । तर, सोचे जस्तो छ र ? सुरेशलाई सोधियो । जवाफमा उनी केही राजनीतिक सुनिए । देशको व्यवस्थापन शैलीसँग उनको गूनासो रहेछ। यस्तै केही अप्रिय क्षण उनले भोगे पनि सायद । ‘विभिन्न राजनीतिक दलहरु छन् हाम्रो देशमा,उनीहरुको नीति ठिक छ । तर, नियत कसैको पनि ठिक छैन,सबैका लागि कुर्सी नै केन्द्रमा छ,अनि देश कसरी बन्छ त ?’ सुरेश केही भावुक सुनिए।
तर, हताश छैनन,सुरेश । भन्छन,‘भविष्यमा नेपालमै केही गर्ने सोचमा छु । साथीहरुसँग मिलेर रिसोर्ट खोल्ने सोचमा थिए,कोरोनाले गर्दा रोकिएको छ ।’ नेपाल आएर रिसोर्ट सञ्चालन या होटल म्यानेजमेन्टको अध्यापन गराउने सोचमा रहेका सुरेशको एउटा सुझाव छ,नेपाल सरकारलाई । भन्छन,‘सरकारले राम्रो सिस्टमको वातावरण बनाईदेओस,देशको विकास जनताले नै गर्छन ।’अन्त्यमा सुरेशलाई बधाई दिनै पर्ने हुन्छ,२०२० मा दक्षिणपूर्वी एसिया,मध्यपूर्व र अफ्रीकाबाट छानिएका २५ जना पावरफुल हाउसकिपर मध्ये उनी पनि एक थिए।
यसैले भूपी शेरचनले त्यसबेलै लेखे,‘यो नेपाली शिर उचाली संसारभर लम्किन्छ।’