विदेशबाट फर्किएका युवालाई देशमै रोजगारी दिलाउन विशेष योजना ल्याउँछौ : श्रममन्त्री चौधरी

विदेशबाट फर्किएका युवालाई देशमै रोजगारी दिलाउन विशेष योजना ल्याउँछौ : श्रममन्त्री चौधरी फाइल फोटो

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले विदेशबाट फर्किएका युवालाई देशमै रोजगारी दिलाउन सरकारले विशेष योजना ल्याउन लागेको बताएका छन्।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री चौधरीले विदेशबाट फर्किएका युवालाई स्वदेशमै पुर्नस्थापना गर्न सरकारले छिट्टै नै ठोस कदम चाल्ने दावी गरे।

‘विदेशबाट रोजगारी गुमाइ फर्केका युवालाई स्वरोजगार बनाउन सरकारले विशेष योजना ल्याउँदैछ’, मन्त्री चौधरीले भने, ‘अहिले मन्त्रालयले यो विषयमा अध्ययन गरिरहेको छ । छिट्टै नै विशेष योजना ल्याएर युवालाई देशमै रोजगारीको व्यवस्था गछौं ।’

कोरोना महामारी लगायत विविध कारणले विदेशमा रोजगारी गुमाएर फर्र्किएका श्रमिकलाई सामाजिक एवम् आर्थिक पुर्नएकीकरण गर्ने उद्देश्यले सचिवालयबाट तयार पारिएको कार्यविधिको मन्त्रालयबाट स्वीकृतिको अन्तिम चरणमा रहेको मन्त्री चौधरीकोे भनाइ छ।

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा निजको परिवारका सदस्यसहित सरकारले गत ६ महिनामा १६ हजार ९ सय ८७ जनालाई मनोसामाजिक परामर्श दिएको मन्त्री चौधरीले जानकारी दिए । त्यस्तै १३ हजार २ सय ६४ जनालाई वित्तिय साक्षरता कार्यक्रममा समावेश गराइएको उनको भनाइ छ ।

आइतबार मन्त्रालयले चालु आर्थिक वर्ष २०७७÷०७८ को अर्धवार्षिक प्रगति विवरण सार्वजानिक गरेको थियो ।