बेलायतमा करोडौं लगानीमा नेपालीले होटल व्यवसाय सञ्चालन गर्दै

बेलायतमा करोडौं लगानीमा नेपालीले होटल व्यवसाय सञ्चालन गर्दै

लण्डन । गुल्मी अर्जैका महलाल घिमिरे (मोहनं) सहितका समूहले बेलायतमा होटल खरिद गरी सञ्चालन गर्ने भएका छन् । घिमिरे (मोहन) सहितका ५ जनाको समूहले ठूलो रकम लगानी गरी बेलायतमा होटल सञ्चालन गर्न थालेको मोहन समूहले जनाएको छ।

पछिल्लो समय बेलायतमा बस्ने नेपालीहरु होटल व्यवसायतर्फ आकर्षित हुन थालेसँगै नेपालीले सञ्चालन गर्ने  होटल रेष्टुरेन्टको संख्या  बढ्दै गएको छ ।

लण्डनको केन्टमा रहेको जिलिङहाममा ‘बेजिंग इन यूके लिमिटेड’  लाई मोहन समूहले खरिद गरेका हुन् । उक्त होटल  सञ्चालनका लागि महलाल घिमिरे,लेखनाथ घिमिरे,ललितकुमार न्यौपाने, केपी शर्मा, किशोरजीत पौड्याल र खगेन्द्र शेरचनले लगानी गरेका छन् । हाल बन्द रहेको उक्त होटललाई उनीहरुले ५ लाख पाउण्ड (नेपाली रुपैया ८ करोड भन्दा बढी रकम) तिरेर खरिद गरेका हुन्।

उक्त होटल मिडवे काउन्सिलमा ५ वटा हाइस्टेटहरु (जिलिङहाम, क्याथम, रोचेस्टर, स्ट्रूट, र रोहिंहम) क्षेत्रमा अवस्थित छ । २० मिनेटको दूरीमा ४ वटा विश्वविद्यालय रहेका यी क्षेत्रमा ६ वटा ग्रामर स्कू्रल तथा केन्टको ठूलो अस्पताल पनि रहेको छ । गोर्खा आर्मीको ब्यारेक, २ वटा नेपाली शप रहेको यस क्षेत्रमा नेपाली बस्ती सहित ६० भन्दा बढी  घर रहेका छन् ।

‘बेलायत सरकारले लकडाउनको अन्त्य गरेसँगै अपरेट गर्ने तयारी अघि बढाइरहेका छौँ,’ घिमिरेले भने, ‘आगामी दिनमा यसलाई १०० सिटको रेष्टुरेन्ट तथा माथिल्लो तलामा ६ बेडरुम फ्ल्याट तयार गर्ने तयारी छ ।’ उनले आगामी योजनाको रुपमा विभिन्न संघसंस्थाहरुको लागि एक सयभन्दा बढी मानिस एकै साथ कार्यक्रम गर्न सक्ने सभाहल निर्माण गर्ने विषयमा पनि तयारी भइरहेको जानकारी दिए । उनले लामो साहस र उत्साह बोकेर बेलायतमा आफ्नै व्यवसाय शुरु गर्न लागेको बताए ।

लामो समयदेखि बेलायतमा बस्दै आएका नेपालीहरु मिलेर नयाँ व्यवासायिक कीर्तिमानी कायम गर्ने उद्धेश्यका साथ होटल सञ्चालन गर्न लागेको घिमिरे बताउँछन् । ‘व्यवसायलाई नयाँ र परिस्कृत तरिकाले लैजाने सोँच बनाएका छौँ,’ उनले भने, ‘हाम्रो यस अभियानमा दर्जनौँ नेपाली साथीहरुले सहयोग गरिरहनुभएको छ, उहाँहरुको गुन हामी कहिल्यै बिर्सन सक्नेछैनौँ । ‘ आफूहरुको सहकार्यले आगामी दिनमा नेपाली समुदायका व्यवसायीहरुलाई मार्ग निर्देशन पनि मिल्ने विश्वास उनको विश्वास छ ।

कोरोना भाइरस कोभिड– १९ ले समुदायमा पारेको असर र सरकारले तोकेको मापदण्ड अन्त्य भए लगतै आगामी महिनादेखि होटलको मर्मत कार्य सुरू गर्ने तयारी रहेको घिमिरेको भनाई छ । साथै फेब्रुअरी महिनाको अन्तिमसम्म होटलको रि लन्च गर्ने उनले बताए ।