महिलाको भूमिकामा अब्बल पुरुष ‘उमेश’

महिलाको भूमिकामा अब्बल पुरुष ‘उमेश’

काठमाडौं । पर्दाभित्र महिलाको भूमिकामा देखिने र ‘फुलन्देको आमा’को नामबाट परिचित पुरुष हुन् उमेश राई । फुलन्देकी आमा टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लब’को एक पात्र हो ।

पुरुष भएर लिम्बू समुदायको विशेष पहिरनमा महिलाको भूमिकामा अभिनय शुरु गरेपछि एकाएक उनको चर्चा चुलियो । उनको यो खुबी दर्शकले असाध्यै रुचाए । महिला पात्र बनेर प्रस्तुत हुने उमेशले छोटो समयमा दर्शकको मन जित्न सफल बने ।

कलाकारिता क्षेत्रमा आउँछु भन्ने कल्पना नै नगरेका उनी स्नातक तहमा अध्ययन गरिरहेका बेला २०७१ सालमा रोजगारको लागि साउदी अरेबिया पुगेका थिए ।

साउदी अरेबियामा उनले दुई वर्षसम्म ‘स्टोर किपर’को रूपमा काम गरे । केही पैसा कमाए २०७३ सालमा नेपाल फर्किए । फेरि रोजगारको लागि अन्य देश जाने योजना बुने । तर, त्यसयता उनको जीवनको लय फेरियो । परिचय फेरियो । उनी चर्चित हास्य कलाकार बन्न पुगे । उनै उमेश राईसँग कलाकुञ्जका सम्पादक कमल साउदले गरेको कुराकानी :

कुराकानीको सिलसिला तपाईँको कलाकारिताबाट नै सुरु गरौँ, तपाईँ पुरुष हुनुहुन्छ, महिला भएर अभिनय गर्ने सोच कसरी आयो ?

नेपाली कलाकारिता क्षेत्रमा एउटा छुट्टै खालको नयाँ धारबाट दर्शकलाई मनोरञ्जन गराउने मेरो सोच थियो । त्यो, नयाँ चाहीँ कसरी गर्न सकिन्छ भन्ने बारेमा मैले निकै सोचे । म एउटा जवान केटा हुँ । मैले कुनै वृद्धको अभिनय गरे भने त्यो नयाँ मानिन्न थियो ।

म पुरुष भएर पुरुषको भूमिकामा नाँच्दा, गाउँदा वा कमेडी गर्दा पनि त्यसलाई नयाँ मानिदैन थियो । अरु चलिरहेको भन्दा छुट्टै प्रकारले प्रस्तुत हुन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यो चाहीँ अहिले महिलाको भूमिका निभाएर पूरा गरिरहेको छु । पुरुषले चाहीँ एउटा महिलाको अभिनय गर्न सक्छ कि सक्दैन भन्ने चुनौतिको विषय पनि थियो ।

म आफूले पनि यस किसिमको भूमिका निर्वाह गर्न सक्छु कि सक्दिन भन्ने लागेको थियो । तर नसोचेको सफलता हात पारेँ । अहिले पनि दर्शकको माया साथ र सपोर्ट पाइरहेको छु । दर्शकहरुलाई आफूले हसाउँन सकेको पनि अनुभव गरेको छु ।

पुरुषका लागि महिला बन्न कत्तिको सहज छ ?

एकदमै गाह्रो छ । किनकी यसमा हाउभाउ, मेकअप, ड्रेसअपदेखि लिएर बोलीसमेत परिवर्तन गर्नुपर्ने हुन्छ । लुगा लगाइएला, मेकअप गरिएला त्यसमा महिलाको स्वरुप त देखिएला तर त्यसमा महिलाको आवाज चाहिन्छ । त्यो एकदमै गाह्रो छ ।

पुरुष भएर अभिनय गर्न सजिलो कि महिला ?

एउटा पुरुष मानिसका लागि पुरुष हुन सजिलो र महिलाका लागि महिला । तर, पुरुषले महिला र महिलाले पुरुष भएर अभिनय गर्नुपर्‍यो भने धेरै गाह्रो हुन्छ ।

हामी वास्तविक जीवनमा एक किसिमको भूमिकामा बाँचिरहेका हुन्छौँ । भने लिङ्ग परिवर्तन गरेर अभिनय गर्दा त्यसको बारेमा निकै रिसर्च गर्नुपर्ने हुन्छ । म आफैँले पनि महिला भएर अभिनय गर्नुअघि महिलालाई निकै ‘अब्जर्भ’ गरेको थिएँ ।

महिलाहरुको रहन सहन, बोलीचाली, भेषभूषा सबै मिलाएर एक पुरुषले अभिनय गर्न गाह्रै हुन्छ । यी सबै चुनौतिहरु अहिलेसम्म पार गरिरहेको छु ।

महिला भएर दर्शकहरुलाई हँसाउनुहुन्छ, तपाईँले महिलालाई कसरी बुझ्नु भएको छ ?

महिलाप्रति मेरो एकदमै सम्मान छ । किनभने महिला सृष्टिकर्ता हुन् । महिलाहरु आमा हुन्, महिलाहरु छोरी हुन् । महिलाहरुमा यति धेरै शक्ति हुन्छ ।

उहाँहरु आफ्ना धेरै सपनाहरु मारेर, दबाएर घर चलाइरहनु भएको हुन्छ । उहाँहरुको मनमा पीडा भए पनि त्यो देखिँदैन । नेपाली समाजका महिलाहरु परिवारदेखि लिएर सबै कुरा व्यवस्थापन गर्नमा सिपालु देखिन्छन् ।

महिला भएर अभिनय गर्दा के–कस्ता परिस्थितिको सामना गर्नु परेको छ ?

महिला भएर अभिनय गर्दा प्रायः रमाइला क्षण नै बढी छन् । महिलाको भूमिकामा अभिनय गर्दा धेरैलाई झुक्याइयो…(हाँसो) । कार्यक्रमहरुमा जाँदा पनि धेरैले मलाई महिला नै भन्ने ठानेर मेरो नजिक आउन असहज महशुस गर्नुहुन्छ । धेरैले मलाई बोलाउँदा नै ‘आमा’ भनेर आदर गरेर नै बोलाउने गर्नुहुन्छ ।

तपाईँले यो प्रश्न गरिरहँदा एउटा क्षण म सम्झिहालेँ । एक पटक म एउटा गीतको छायांकनका लागि फुलन्देको आमाको गेट अपमा थिए । त्यहाँ मलाई पिसाब लाग्यो र नजिकैमा रहेको ट्वाइलेटमा पिसाब गर्न गएँ । म जेन्स ट्वाइलेटमा जाँदै थिएँ ।

त्यहाँ पैसा उठाउन बसेको एक जनाले मलाई त्यो जेन्स ट्वाइलेट हो लेडिजमा जानुस् भने (अनि हाँसो…) म पनि उहाँसँग मज्जाले जिस्किएँ । बरु बढी पैसा दिन्छु म यतै जान्छु भनेँ । पछि उहाँलाई सत्यता बताउँदा मज्जाले हाँस्नुभयो (त्यसपछि पुनः हाँसो) ।

तपाईँ पुरुष भएर महिलाको भूमिकामा अभिनय गरेको भएर सममसामयिक विषयमा केही प्रश्न सोध्न चाहेँ, पछिल्लो समय देशमा दिन प्रतिदिन बलात्कारका घटना बढिरहेका छन् । सञ्चार माध्यममा पनि खबरहरु आइरहेका छन् । एक कलाकारको हैसियतले यसबारेमा तपाईँको प्रतिक्रिया के छ ?

हजुर, मैले पनि समाचारमा पढिरहेको हुन्छु । सबैभन्दा पहिले त मानिस सचेत हुनु जरुरी छ । अर्को कुरा यसको विरुद्धमा महिला, पुरुष भएर भन्दा पनि एउटा सच्चा नागरिक भएर बोल्नुपर्छ ।

बलात्कारको विरुद्धमा महिला पुरुष दुवैको उत्तिकै भूमिका रहन्छ । समाजमा मिलेर जनचेतना मुलक कार्यक्रमहरुको आयोजना गर्नुपर्दछ ।

बलात्कारका लागि कडा कानुन र कानुन कार्यान्वयन हुन जरुरी छ । अहिले पनि बलात्कारका घटनामा कानुन नभएका होइनन् तर पनि आपराधिक मानसिकता भएका मानिसहरु समातिए पनि सजिलो तरिकाले उम्किने गरेका छन् ।

यसमा सम्बन्धित निकायले पनि ध्यान दिन जरुरी छ । बलात्कारका विरुद्ध महिला पुरुष दुवैले आवाज उठाउन आवश्यक छ ।

फुलन्देको आमा होइन, अब उमेश राईको अभिनय दर्शकले कहिले हेर्न पाउँछन् ?

हेरिरहनु भएको छ । मैले चलचित्र नै त गरेको छैन । अहिले म्यूजिक भिडियोबाट उमेश राईले पनि अभिनय गरिरहेको छ । अब सिरिजहरुको कुरा गर्नुहुन्छ भने त्यसमा काम जुरेपछि अवश्य नै आउँछु ।