रियादस्थित नेपाली दूतावासले सीमित संख्यामा मात्रै मागपत्र प्रमाणिकरण गर्ने

रियादस्थित नेपाली दूतावासले सीमित संख्यामा मात्रै मागपत्र प्रमाणिकरण गर्ने

रियाद । साउदीस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणको लागि थप सूचना प्रकाशन गरेको छ । दूतावासले ७ फेब्रुवरीमा सूचना जारी गरेको हो।

कोभिड–१९ का कारण स्थगित भएको कामदार मागपत्र प्रमाणीकरण कार्य २०७७ माघ १९ (२४ जनवरी २०२१) देखि पुन:सञ्चालनमा आएको थियो । तर, साउदी अरेबियामा कोरोना संक्रमणको जोखिम कायमै रहेको र संक्रमण बढ्दै गएकोले थप सूचना सार्वजनिक गरेको होे।

साउदी सरकारले हालै जारी गरेको स्वास्थ्य प्रोटोकललाई मध्यनजर गर्दै दूतावासले हाललाई दैनिक ३० देखि ३५ वटासम्म मागपत्र प्रमाणीकरण गर्ने भएको छ । ठूलो संख्यामा कामदार माग भएका तथा कम्पनी नै भ्रमण गरि थप बुझ्नुपर्ने मागपत्रहरुको प्रकृया भने कोरोनाको संक्रमणको जोखिम कम भएपछि मात्र सुरु गर्ने सूचनामा उल्लेख गरिएको छ ।

दूतावासका अनुसार कोरोना संक्रमण जोखिमको अवस्थालाई मध्यनजर गर्दै दूतावास परिसरमा अनावश्यक भिडभाड हुन नदिन तत्कालका लागि मागपत्र प्रमाणीपत्र प्रमाणीकरण सम्बन्धी सबैप्रकारका प्रत्यक्ष भेटघाट बन्द गरिएको हो।

मागपत्र प्रमाणीकरणका लागि अनलाइन प्रणालीमार्फत आवेदन प्राप्त भइरहेको दूतावासको भनाइ छ । । (https://demand.nepalembassy.gov.np) मार्फत आवेदन गर्न सकिने पनि दूतावासको सूचनामा बताइएको छ । एकैपटक धेरै संख्यामा आवेदन आउने हुनाले ती आवेदन प्रकृयामा लगेर टुङ्ग्याउन केही समय लाग्ने दूतावासको ठहर छ । दूतावासले आवश्यक प्रकृया पुगेका आवेदन स्वीकृत गरी प्रमाणीकरण शुरु गरिसकेको पनि सूचना मार्फत जानकारी दिएको छ ।