म्यानमारमा रहेका नेपालीले चिन्ता गर्नु पर्ने अवस्था छैन : राजदूत उदास

म्यानमारमा रहेका नेपालीले  चिन्ता गर्नु पर्ने अवस्था छैन : राजदूत उदास

काठमाडौं । म्यानमारको सेनाले १ फेब्रुवरीमा राष्ट्रपति यू विन मिन्ट र म्यानमारकी स्टेट काउन्सिलर नेतृ आन सान सुकी सहित नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता आफ्नो नियन्त्रणमा लिएको छ । सेनाले एक वर्षका लागि संकटकाल पनि घोषणा गरेको छ । यसको विरोधमा म्यानमारमा दिनहुँजसो विरोधप्रदर्शन भइरहेका छन् । म्यानमारसँग नेपालीहरुको साइनो निकै पूरानो पनि हो । अहिले पनि म्यानमारको नागरिक भइसकेका करिब दुई लाखभन्दा बढी बर्मीज नेपालीहरु यहाँ छन् ।

यहाँ भएको सैन्य कु ले बर्मीज नेपालीहरुलाई कस्तो असल पर्ला ? सन् २०१७ देखि म्यानमारका लागि नेपाली राजदूत रहेका भीम कुमार उदाससँग प्रवास खबरका लागि बिनेश खनालले गरेको कुराकानीको छोटो अंश :

म्यानमारमा रहेका नेपाली मुलका बर्मिजहरुको अवस्था अहिले कस्तो छ ?

सुरुका केही दिन मानिसहरु त्रसित थिए । बैंकमा भएको जम्मा रकम सैनिक सरकारले लिइदिने हो कि भन्ने थियो । यसैले मानिसले बैंकमा भएको पैसा सक्दो निकाले । एकै दिन १० अर्ब नेपाली रुपैया बराबरको रकम झिकेको पनि सुनियो । बजार भाउ पनि हवात्तै बढ्यो । लामो समयका लागि खाद्य सामाग्री लगायतका सरसामानहरु संग्रह गर्नेतिर आम मान्छे लागे । यसले गर्दा बजारमा खाद्य सामाग्रीको अभाव पनि भयो । मुल्य हवात्तै बढ्यो । तर, अहिले अवस्था अलि सामान्य छ ।

सैनिक नेतृत्वले एक वर्षको संकटकाल लगाएको छ,नेपालीहरु अझै आफूलाई असुरक्षित नै ठानिरहेका छन् वा स्थिती कस्तो छ ?

अहिलेसम्म नेपाली मुलका बर्मेलीहरुले जो यहाँ झण्डै दुई लाखको संख्यामा छन,तत्काल उनीहरुले ठूलो चिन्ता गर्नुपर्ने स्थिती छैन् । यहाँ नेपाली पासपोर्टबाहक नेपालीहरु पनि एक सयको संख्यामा छन । यहाँका कतिपय नेपालीलाई आफूले गरिरहेको सेवा ब्यवसायको चिन्ता हुनु स्वभाविक हो ।

के नेपाली दूतावास त्यहाँ रहेका नेपालीहरुसँग सम्पर्कमा छ ?

केही दिन इन्टरनेटको सुविधाले निरन्तरता पाउन सकेन । अहिले ठिकै छ । दूतावासले एउटा ग्रुप खोलेको छ । क्षण क्षणको सूचना यसबाट साझ गर्ने गरेका छौं । कहाँ के भयो ? कसो भयो ? लगायतका सबै कुरा एक अर्कालाई बाँडिरहेका छौं । इमेल मार्फत पनि यहाँ रहेका नेपालीमुलका समुदायका प्रतिनिधिहरुसँग सम्पर्क गरीरहेका छौं ।

सैनिक शासन विरुद्व राजनीतिक प्रदर्शन पनि हुन थालेका छन्,यस्ता प्रदर्शनमा नेपालीहरुको सहभागिता पनि छ कि ?

बर्मीज नेपालीहरु यहाँको राजनीतिमा प्रत्यक्ष सहभागी रुपमा सहभागी छैनन् । नेशनल लिग फर डेमोक्रेसी नामक जुन यहाँको ठूलो राजनीतिक दल छ, त्यसप्रति बर्मीज नेपालीहरुको सहानुभूति र समर्थन भने देखिन्छ।

बर्मिज नेपालीप्रति अहिले सत्ता आफ्नो हातमा लिएको सैनिक नेतृत्वको दृष्टिकोण कस्तो पाउनुभएको छ ?

यहाँको सेनामा नेपालबाट आएका गोर्खा भनेपछि एकदमै सद्भाव छ । उनीहरु नेपालीलाई गोर्खा भन्छन । गोर्खाकै कारण हाम्रो देश जोगिएको हो भन्ने उनीहरुको भनाइ छ । ‘उनीहरु नभइदिएको भए हाम्रो म्यानमार भन्ने देश बच्ने थियो वा थिएन’ भन्ने कुरा उहाँहरुले गरिरहनुहुन्छ । यहाँको गृहमन्त्री हुनुहुन्थ्यो सिनियर जर्नेल पनि हो उहाँ । एकपटक भेटघाटमा उहाँबाट बर्मीज नेपालीहरुप्रति एकदमै राम्रो सद्भाव भएको पाएको थिएँ ।

म्यानमारमा रहेका नेपालीहरु सधैं सन् १९६२ को इतिहास दोहरिने हो कि भन्ने त्रासमा रहिरहन्छन,के यसपटक पनि त्यस्तो सम्भावना छ ?

म त्यो सम्भावना देख्दिन । किनभने सन् १९६२ मा पनि सेनाले सत्ता हातमा लिएपछि नेपालीलाई ‘तिम्रो देश फर्क’ भनेको होइन । त्यतिबेलाका शासकहरु म्यानमारमा रहेका भारतीयहरुप्रति लक्षित थिए । मनि लण्डरिङदेखि ठूला–ठूला ब्यापारहरुमा भारतीयहरुको वर्चश्व भएकोले उनीहरुको सम्पत्ति जफत गरिएको थियो।

तर,नेपालीहरु यसैबेला (सन् १९६२) म्यानमारबाट भागेर नेपाल पुगेका थिए नि ?

म्यानमारमा नेपालीहरु त्यतिबेला खेतीपाती वा सेवामा थिए । यहाँ रहेका नेपालीलाई राज्यले कुनै ‘थ्रेट’ गरेको थिएन । भारतीयहरुलाई म्यानमार छाड्नुपर्ने स्थिती भएपछि हाम्रो पनि त्यही हविगत होला कि भन्ने मनोवैज्ञानिक त्रास त्यतिबेला नेपालीलाई परेको हो । अहिले म त्यस्तो सम्भावना देख्दिन ।