एक दिन ज्योतिषकहाँ : लघुकथा

एक दिन ज्योतिषकहाँ : लघुकथा

पुजा गर्न मन्दिर गएको मान्छे म । मन्दिर बाहिरको सानो पाटीमा लेखिएको ‘भविष्य बुझेर जानुस’ वाक्यले पुजा सकिएपछी त्यही रोकिन्छु । ढोका छेकिनेगरी लगाएको पर्दा । बाहिर मान्छेको लर्को । कतिबेला भित्र गएर आफ्नो भविष्य हेरौँ जस्तो भयो होला । तर मैले सबैको भविष्य देखिसकेको थिएँ । मलाई थाहा थियो, ‘सबैको आजको दिन यहि सकिने छ ।’

धेरैपछि भित्र जाने मेरो पालो आयो । दुई आँखाको बिच भागदेखि सुरु भएको रातो टीका बिवाहित महिलाले सिन्दुर हाले झैँ माथिसम्म नै थियो । ज्योतिष भएर यत्रो टीका लगाएको हो कि यस्तो टीका लगाएको भएर ज्योतिष भाको हो ? सोच्न मात्र सक्थे । सोधिहाल्न डर थियो ।

अनि यहाँको परिवेश । दुई दियोमा बत्ती बालिएको,मडारिइरहेको धुपको धुवाँ । आफ्नो भविष्य बुझ्न गएकी मैले भविष्य हेरिदिन बसेका ती ज्योतिषको भविष्य ठूलो संकटमा देखेँ । थाहा थिएन त्यो धुवाँले उनको फोक्सोमा कति असर गरिरहेको थियो । कुन दिन अस्पताल पुग्ने हुन्।

सोचाइमै हराएछु । ‘कस्को भाग्य हेर्ने नानी ?’ अचानक बतास झैँ आएको प्रश्नले म झस्किएँ बाहिर । ‘भविष्य बुझेर जानुस’ लेखिएको थियो । भित्र भाग्यको कुरा कहाँबाट आयो ? म अलमल परेँ । एक मन त त्यहाँबाट उठेर हिडौँ जस्तो भयो । तर फिस्स हाँसेर भनें ‘मेरो आफ्नै हो,भविष्य मात्र हेरिदिनु न भाग्य त पहिल्यै भाविले लेखेका हुन्छन् रे ।’

ती ज्योतिष खै किन हो ठुलै स्वर निकालेर हाँसे । मानौं मैले जोक्स सुनाएँ ।

‘धुप,बत्ती,अक्षता केही ल्याउनु भएन ?’

‘ल्याको थिँए,मन्दिरमा चढाएँ,’मैले सिधा उत्तर दिएँ ।

अब मैले त्यहाँ पैसा राख्नुपर्ने भयो । भेटी भनिदो रैछ, । माग अनुसारनै दिँए । भविष्य जो हेर्नु थियो।

म कुनै जागिरका लागि अन्तर्वार्ता दिन गाको भए,सायद कमै प्रश्न सोधिन्थ्यो होला । त्यो पनि आफ्नो अनुभव बाहिरकै कुरा पर्यो । प्रश्नोत्तर हुन्छ भन्ने त थाहा थियो । तर ज्योतिषका प्रश्नहरु सुनेर वाक्कै लाग्यो । कतै बोँले । कतै मुन्टोमात्र हल्लाइदिएँ ।

अझै अचम्म त तब लाग्यो जब ‘के के हुन्छ नानी ?’ भन्ने प्रश्नको झटारो उनले मतिर हुत्याए । कुनै रोगको आशंकामा लक्षण सोधेर औषधी दिनेबेलामा डाक्टरले सोधे जस्तो लाग्यो । त्यतिबेलासम्म मभित्र रिसको आगो बलेको थियो । झोक्किएरै भनिदिएँ,‘मान्छे पिटुम पिटुम हुन्छ ।’
‘नानिलाई बिगार गडेको रैछ,राम्रैसँग हेर्नु पर्छ,धेरै समय भएछ ।’

मलाई के भाको थियो ? म आफैलाई थाहा थिएन । तर यो चै थाहा थियो कि मलाई केही चै अवश्य हुन्छ।

उनको फोन बजेकोले म एकछिन भए नि खुसी भएँ । तर अझै मैले केही थाहा पाएको रहेनछु । उनी मोबाइल भुइँमा राखेर स्पिकर अन गरेर बोल्न थाले,‘बिहान बिहान बुट्टिमा धुप हाल्नु पर्ने,त्यसो गर्नु भएन क्यारे,ठिक छ म यहीँबाट फुक्दिन्छु ।’

उता मान्छे रोएको जस्तो लागिरहेको थियो । अलिअलि हल्ला पनि सुनिन्थ्यो । यो कुरा अचम्मको छ नि । हिजो मात्र म आफै कलेजमा एउटा पेपर पु¥याउन २÷३ घण्टा लगाएर गएको थिएँ । आजको प्रविधि फोनबाट झारफुक गर्ने युगमा पुगिसके छ।

उनी मोबाइलमा अक्षता चढाउदै मन्त्र पढ्न थाले।

अब केही बेर यसै बसेँ भने म त्यहाँको स्थिति देखेर म बौलाउन बेर छैन । मैले पनि फोन नम्बर लिनुपर्नेछ । अनि कुनै दिन बौलाएको पनि थाहा हुन्न र बिगार गड्यो भनेर म पनि फोन गर्नेछु । उनले त्यसैगरी मोबाइलको पुजा गर्नेछन् । अन्त्यमा मेरो भविष्य रिचार्ज गरेर बित्नेछ । मोबाइलको पुजा नसकिदै म आफ्नो भविष्य आफैं देखेर त्यहाँबाट निस्के ।म निस्कदा मान्छेहरु अझै थपिदै थिए । यसो मन्दिरतिर पनि हेरेँ । पुजा गर्न आएका मान्छेहरु पनि टन्नै थिए । सबैलाइ आफुतिर ध्यानाकर्षण गराउन मन थियो । र, भन्न मन थियो,‘मन्दिरको मुर्तिमाथी यत्रो विश्वास छ, भविष्य हेर्ने ज्योतिषमा विश्वास छ । बरु आफूले आफैलाई विश्वास गर्नु न आफ्नो भविष्य आफैले देख्नुहुनेछ ।’

तर, अघि पुजा गर्न मन्दिर गएर । भविष्य हेर्न ज्योतिषकहाँ गएर त्यो अवसर मैले गुमाइसकेको थिएँ । जुन भुत थियो र जुन वर्तमानमा म सोच्दै थिएँ त्यो त्यतिबेलाको भविष्य थियो।