पोल्याण्डमा नेपाली व्यवसायी सापकोटाले पाए सफलता

पोल्याण्डमा नेपाली व्यवसायी सापकोटाले पाए सफलता सापकोटाले सञ्चालन गरेको रेष्टुरेन्ट

पोल्याण्ड।  युरोपेली मुलुक पोल्याण्डको गैरआवासीय नेपाली संघका अध्यक्ष समेत रहेका नरेश सापकोटाले सञ्चालन गर्दै आएको स्नेहाज टच अफ इण्डियाले ‘सर्वोत्कृष्ट रेस्टुरेन्ट–२०२०’ अवार्ड प्राप्त गरेको छ।

पोल्याण्डको प्रख्यात अनलाइन फुड अर्डरिङ कम्पनि (pyszne.pl)ले wojewoda todzki अवार्ड प्रदान गरेको हो । नेदरल्याण्डको बहुचर्चित यो कम्पनीले यहाँका ८ सय रेष्टुराँ मध्यबाट ५ वटा र त्यसपछि सापकोटाको उक्त रेष्टुराँलाई पहिलो नम्बरमा छानेको हो । यसले आफ्ना ग्राहकसँग खानाको गुणस्तर,सेवा,विक्री र ग्राहकको सन्तुष्टिका बारेमा सर्वेक्षण गरेर त्यही आधारमा उत्कृष्ट रेष्टुराँको वर्गिकरण गर्छ।

अत्याधुनिक प्रविधि प्रयोग गरेर खोलिएको उक्त रेष्टुराँको मुख्य ग्राहक यहाँका पोलिस नागरिक नै हुन । करिब ५ प्रतिशत ग्राहक नेपाली र भारतीय पनि छन्।

यो प्रतियोगिता प्रत्येक वर्ष हुने गर्छ । ‘विदेशी भूमिमा विदेशीहरुसँग प्रतिस्पर्धा गरेर अवार्ड पाउनु गौरवको कुरा हो’, सापकोटाले प्रवास खबरसँग भने ।  नवलपरासीको आरुङखोलाका सापकोटा विगत १६ वर्षदेखि सपरिवार सहित पोल्याण्डमा बस्दै आएका छन् । सापकाेटा सन् २०१५ देखि रेष्टुराँ क्षेत्रमा आवद्व छन्।

पोल्याण्डमा रहेका नेपाली मूलका व्यवसायी, उद्यमी, पेशाकर्मीहरुको संगठन नेपाली व्यवसायी संघ पोल्याण्डले अवार्ड प्राप्त गरेका सापकोटालाई एक कार्यक्रमबीच सम्मान समेत गरेको छ।

पोल्याण्डको वार्सामा आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. उदयदेव आचार्यले सापकोटालाई बधाई तथा शुभकामना पत्र सहित सम्मान गरेका थिए । सम्मान कार्यक्रममा अध्यक्ष आचार्यले भने,‘सोपकोटाले पोल्याण्डका कैयौँ व्यवसायीलाई पछि पार्दै यो स्तरको सफलताले पोल्याण्डमा रहेका नेपाली समुदायलाई गर्व महसुस गराएको छ ।’

नेपाली व्यवसायी संघ पोल्याण्डबाट सम्मानित सापकोटा

‘यो सफलता मेरो व्यक्तिगत नभएर सिंगो नेपाली व्यवसायीको हो,’ आफ्नो सम्मानमा आयोजित कार्यक्रममा सापकोटाले भने,‘यो अवार्ड मसँग जोडिएका मेरा प्रत्येक कर्मचारीको मेहनती हातहरुको परिणामले सम्भव भएको हो।’

व्यवसायी संघका सचिव आनन्द घिमिरेद्वारा सञ्चालन भएको कार्यक्रममा व्यवसायीहरु रिता न्यौपाने,टंक कटुवाल,प्रकाश तिवारी,अमितकुमार यादव,अनुपा आचार्य लगायतले सापकोटालाई बधाई दिएका थिए।

सापकोटाले सञ्चालन गरेको रेष्टुरेन्टको डेलिभरी कार, जसमा उनले अघिल्लो वर्ष भिजिट नेपालको प्रचार–प्रसार गरेका थिए