बहराइनमा कोरोनाको खोप लिएका राजदूत सुन्दास भन्छन् :  साइड इफेक्ट छैन, ढुक्क भएर लगाउनुहोस्

बहराइनमा कोरोनाको खोप लिएका राजदूत सुन्दास भन्छन् :  साइड इफेक्ट छैन, ढुक्क भएर लगाउनुहोस् बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास

मान्मा,बहराइन । यहाँको सरकारले आफ्ना नागरिक सरह नै नेपालीलगायत सबै आप्रवासीलाई कोराना भाइरस (कोभिड–१९) को खोप उपलब्ध गराएको छ ।

बहराइन सरकारले गरेको उक्त घोषणाको स्वागत गर्दै यहाँस्थित नेपाली दूतावासका राजदूत पदम सुन्दासले भने,‘सबैलाई आफ्नै नागरिक सरह व्यवहार गरेकोमा बहराइन सरकारलाई धन्यवाद दिन चाहन्छु ।’

यहाँ रहेको नेपाली समुदायलाई उत्प्रेरणा मिलोस भनेर राजदूत सुन्दास आफैले खोपको दुवै डोज लिएका छन् ।

‘पहिलो डोज लिँदा खासै केही महशुस भएन,’ खोपको दुई डोज नै लिइसकेका राजदुत सुन्दासले प्रवास खबरसँग आफ्नो अनुभव बाँडदै भने,‘दोस्रो डोज लिएपछि भने आधा घण्टासम्म केही असहज अनुभव भयो । हल्का ज्वरो आएको र शरीर भारी भएजस्तो लागे पनि त्यसपछि भने केही भएन,सबै सामान्य छ ।’

राजदूत सुन्दासले बहराइनमा रहेका नेपालीलाई ढुक्क भएर खोप लगाउन आग्रह समेत गरेका छन् । ‘खोपको साइड इफेक्ट केही पनि छैन्,ढुक्क भएर खोप लगाउँदा हुन्छ,’ उनले भने।

बहराइन सरकारले खोप नलगाएकालाई बारम्बार खोप कार्यक्रममा सहभागी हुन आग्रह गरिरहेको उनको भनाइ छ।

संक्रमणबाट बच्न मास्कको प्रयोग गर्ने,सामाजिक दूरी कायम गर्ने लगायतका स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक उत्तरदायित्व वहन गर्न पनि राजदूत सुन्दासले आग्रह गरेका छन्।