अनलाइन शिक्षा : कथा
जीवनमा केहि यस्ता क्षणहरु हुन्छन, जसलाई चाहेर पनि भुल्न सकिन्न । २०७६ सालको अन्तिम तिर आएर लामो समय आफ्नो अस्तित्व जमाउन सफल कोरोनाले धेरैलाई यस्तै अविस्मरणिय क्षणहरु दिएको छ ।
कसैलाई ब्यापार घाटा लागेको । कसैलाई क्रृणले के गरौँ र कता जाउँ भन्ने बनायो । कसैले भने आफ्नो रोजीरोटीको मेलोबाट नै हात धुनु पर्यो । तर,रोहितको कथा भने अलिक फरक छ ।
रोहित काठमाडौंको एउटा बोर्डिङ्ग स्कुलमा पढ्ने गरीब परिवारको जेहेन्दार बिद्यार्थी । पढाईमा राम्रो तथा अनुशासित रोहित,बा–आमाको आर्थिक,सामाजिक तथा बौद्घिकस्तर कमजोर भए पनि उसले जसोतसो विद्यालय आएर शिक्षा आर्जन गरेकै छ । उसको दिउँसोको खाजा त के, बिहानको खानाकै टुङ्गो हुँदैन । सुकिला कपडा हुने कुरै भएन ।
रोहित आफ्नो पढाईमा लगनशिल देखिन्छ । त्यसमा उसको प्रिन्सिपलको ब्यक्तिगत तथा संस्थागत योगदान भुल्न भने सकिदैन । कक्षा ७ पढ्दापढ्दै अन्तिम परिक्षाको दौरानमा कोरोना कहर र त्यसबाट उत्पन्न भएको आर्थिक,शैक्षिक, सामाजिक दुरिको कारण रोहितको समग्र जीवनमा ठुलो यु–टर्न आउँछ ।
कोरोना कहरसँगै विश्व भर्चुअल शिक्षा पद्घतीमा गइरहेको परिवेशमा रोहितको बिद्यालय पनि अनलाइन माध्यमबाटै शिक्षा प्रदान गर्ने निर्णय गर्छ । सम्पूर्ण विद्यार्थीका अभिभावकलाई फोन गर्दै नयाँ शिक्षा प्रणाली बारेमा जानकारी गराउँदै अनलाइन कक्षा सुरु गर्छ । केहीदिन बिदाको रमाइलो सकिएपछी दिक्क मानिरहेका कैयौँ उसका साथीहरु यो नयाँ सुचनाले खुसी हुन्छन । अब राम्रा विद्यार्थीलाई डिजिटल तरिकाले शिक्षा लिने अवसर खुल्यो भने केही बदमास बिद्यार्थीलाई ल्यापटप र मोबाइलमा पूर्ण रुपमा अधिकार प्राप्त भयो ।
रोहितको कथा भने बिल्कुल फरक छ । उ आफुसँग अनलाइन कक्षाका लागि चाहिने ल्यापटप तथा स्मार्ट फोनको उपलब्धता नभएको र बाआमाले यसको जोहो गर्न नसक्ने पक्का ठानेर निरास हुन्छ । केही बेरमा उसको मिल्ने साथी निश्चलको घरमा मोबाइल,ल्यापटप तथा इन्टरनेट भएको सम्झेपछी केही आशावादी हुन्छ ।
तर,उ यति चाँडै हतोत्साही हुन्छ कि त्यसका लागि जम्मा एकदिन पनि कुर्नु पर्दैन । जब रोहित निश्चलको घर पुग्छ, ढोका बन्द अनि कोरोनाको डरल सबै माथी बसी रहेका । निश्चलका बाआमाले बरन्डाबाटै अति छोटो कुरा गर्दै मानौ की रोहितनै कोरोना हो या कोरोनाको एजेन्ट हो जसरी प्रस्तुत हुन्छन ।
कुनै पनि हालतमा रोहितको निश्चलसँग बसेर अनलाइन कक्षा हुन सक्दैन । बरु छिटो घरदेखी पर जाउ भनि भित्र जान्छन । निराश हुदै घर फर्केको रोहित अनौठो ब्यवहार देखाउन थाल्छ । उ कहिले पुराना किताब पढे झैँ गर्छ, कहिले सुम्सुमाउदै माया गरेझै गर्छ अनि कहिले किताब सबै छिरोलेर रुन्छ । बाबाले छोराको वास्तविकता बुझेर पनि चुप हुन्छन । छोराले बाको अवस्था जानेबुझेकैले केहि भन्न सक्दैन।
उता धेरै बिद्यार्थी अनलाइन माध्यमबाट नयाँनयाँ कुरा जस्तोकि गूगल म्यापबाट संसारका धेरै ठाउँहरु आफु त्यहि पुगेझै रमाई रमाई हेरेका डुलेका छन् । आफ्नो गृहकार्य नयाँ तरिकाले गूगल क्लास र अन्य शैक्षिक टुलहरु प्रयोग गरि वैज्ञानिक तरिकाले प्रविधिको प्रयोग गर्दै धेरै ज्ञान सिकेका छन् । आफैले प्रिजेन्टेसन बनाउनु र बोल्न पाउँदा निकै खुसी भएको परिस्थिति छ ।
तर, केही विद्यार्थीले भने अरुले प्रिजेन्टेसन गर्दै गर्दा कक्षामा साइट टक गरेझै यहाँ पनि उनीहरु पढाईमा ध्यान नदिने । बरु बाआमालाई क्लास सुरु भो भन्दै ढोका थुनेर कक्षामा हाजिरी त जनाउने किन्तु त्यहीबाट अनलाइन गेम खेल्न पनि पछि नपर्ने । उनीहरु हाजिर हुन्छन, भिडियो अफ गर्छन, अडियो मियुट गर्छन । अनि गृहकार्य अरुकै कपि पेस्ट गर्छन । ति दोश्रो खालका बिद्यार्थी यति धेरै मोबाइल एडिक्ट र सुपरस्मार्ट भइसकेका छन् कि बाआमा, शिक्षक र शिक्षिकाको नजरमा इमान्दार तर काम धन्दा अर्कै ।
उसो त शिक्षक र शिक्षिकाको बाध्यता पनि बडो रोचक र मनन् योग्य छ । घरबाट पढाउनु पर्दा आफ्ना नानीबाबुले हल्ला गरेको,पढाउदै गर्दा बच्चालाई दिशा र पिसाब गराउनु परेको तर तलबको कुनै ग्यारेन्टी नभएको अनि कनीकुथी डिजिटल हुनु परेको जस्ता बाध्यताहरु छन् भने अर्कोतर्फ माथि ठिकै फर्मल कपडा लगाएको तर, तल हाफ पाइन्ट वा टाउजर लगाएर जोरजोरले पढाइरहेको दृष्य निकै रोचक छ ।
तर, यता भने, धेरै दिन भै सक्दा पनि रोहितलाई अनलाइन कक्षामा नदेखे पछी, फोन पनि नलागेपछि उसको प्रिन्सिपल रोहितको परिवारलाई खबर गर्ने, भेट्ने हेतुले एक दिन उसको डेरामै पुग्छन । प्रिन्सिपल डेरामा पुग्दा रोहितको सम्पूर्ण परिवारको अवस्था देख्छन त्यो उनको सोचाईभन्दा आकाश जमिन जस्तै फरक हुन जान्छ ।
एउटा कोठामा सबै थोक राखेको रोहितको डेरा । एकातर्फ कुनामा किचेन अर्को दुई कुनामा दुइटा बेड । एउटा कुनामा रोहित लामो कपाल,फोहोरी नङहरुसित अस्तव्यस्त बसिरहे छ । उता बाआमाको उस्तै दयनीय स्थिती । छोटो कुराकानीमा प्रिन्सिपलले रोहितको बा बैदेशिक रोजगारीमा गएका तर कोरोना कहरकै कारण खाली हात तीन महिनामै फर्कन परेको थाहा पाउँछन । परिवारको आर्थिक अवस्था उकास्न विदेश हिडेँका रोहितको बाको अवस्था निकै नाजुक हुनुको साथै मुहार एकदमै उदास देखिन्छ । यो सब देखेपछी प्रिन्सिपल मुस्किलले सम्हालिन्छन र रोहितलाई भोलि स्कुल आउन निम्तो दिदै अति छोटो बसाइ पछी उतैबाट घर फर्किन्छन् ।
सबै अनलाइनमै हुने भएपछी सुनसान विद्यालयमा एक्लै भौतारिरहेका प्रिन्सिपल,स्कुलको घरभाडा र कर्मचारीको तलबको बोझ,कोरोनाको त्रास अनि आफ्नो व्यक्तिगत विवशताबाट पिल्सिरहेका प्रिन्सिपल ३ दिन पछी रोहित आएको देख्दा ठुलै पाहुना आएझै गर्छन । किनकि, उनले आफ्नो कुर्सीमा बसेर धेरै दिनपछी कोहीसँग प्रत्यक्ष बोल्न पाउँदै छन् ।
रोहितको गरिबी र यथार्थ सुनेपछी आफ्नै कुर्सीमा भक्कानिएका प्रिन्सिपल अन्तमा आफ्नो एउटा पुरानो मोबाइल दिँदै कक्षा कसरी लिने भन्ने सिकाएर रोहितलाई बिदा गर्छन् । रोहितले जसोतसो २÷४ हप्ता कक्षा त लिन्छ तर रिचार्ज गरि डाटा किन्नुपर्ने पैसाको अभाबमा बिछिप्त रोहितले अन्तमा त्यही मोबाइल बेचेर कुलत सुरु गर्छ ।
कोरोना नियन्त्रण नहुँदै अर्को भाइरसको त्रास सुरु हुदैछ । तर देशका अधिकांश बिद्यालयमा भौतिक रुपमा कक्षा सुरु भइरहेको परिवेशमा रोहितको विद्यालयले पनि भौतिक तथा अनलाइन दुबैलाइ एक साथ लैजाने भन्दै भौतिक रुपमै कक्षा सुरु गर्दछ । तर भौतिक कक्षा सुरु भए पनि रोहित स्कुलमा देखा पर्दैन ।
एक साँझ प्रिन्सिपल थाकेको ज्यान लिएर घर जादै गर्दा रोहितलाईबाटोमा देख्छन् । तर बोलाउन खोज्दा रोहित भागेर अलप हुन्छ । प्रिन्सिपलले केहीबेर पिछा गरे पछी हरेस खाएर घर फर्कन्छन । त्यस दिन देखी रोहित कहिल्यै भेटिदैन ।