ती १२ परदेशी,जसलाई देख्दा विमानस्थलमा सबै भावुक भए
काठमाडौं । ‘मिन पचास’ को जाडोको अन्तिम दिन,१५ माघ । मुटु नै चिस्यान केन्द्र जस्तो । त्यसमाथि चिसो सिरेटो । रातको ९ बजे । अन्तराष्ट्रिय विमानस्थल परिसरमा बिहीबारको रात्रीकालीन दृश्य हृदयविदारक देखिन्थ्यो।
मलेसियाबाट हिमालय एयरलाइन्सको जहाज काठमाडौं अवतरण गर्दै थियो । त्यसो त यो एयरलाइन्सको जहाज नियमित रुपमा काठमाडौं–मलेसिया–काठमाडौं आउजाउ गर्छ । तर,यसपटक यसले आफूसँगै यात्रुमात्रै होइन,केही कथा पनि बोकेर ल्याएको थियो।
जसै उक्त जहाज नेपाली भूमिमा ओर्लियो । जहाजमा आएका नेपाली यात्रु अध्यागमन प्रक्रिया सकेर आगमन कक्षबाट बाहिर निस्कदै गरेको देख्न सकिन्थ्यो । अधिकाशं यात्रुका आँखामा खुसीका धर्सा देखिन्थे । परदेसिएको लामो समयपछि परिवारजनसँगको भेट सबैका लागि प्रिय हुन्छ नै । उनीहरुलाई विमानस्थलमा अंगालो हाल्न उनीहरुका आफ्ना जो आएका थिए। झोला भिरेका अनि लगेज गुडाइरहेका उनीहरुलाई हेर्दा यस्तो लाग्थ्यो उनीहरु कुनै मिलन समारोहमा सहभागी हुदैँ छन् । परदेशबाट खुसीका केही सौगात ल्याएका थिए।
मन चस्स पोल्ने त्यो क्षण
तर, यो कथाको अर्को पाटो पनि छ । किनकी तिनै यात्रुहरु सँगसँगै मलेसियाबाट १२ जना नेपाली यात्रुले पनि लामो समयपछि नेपाली माटो टेकीरहेका थिए । उनीहरुलाई एकटकले नियाल्दाको तस्विर बिलकुल फरक थियो । अनुहार फुङ्ग उडेको थियो । अनुहार ओइलाएको थियो । न खुसी न कुनै उमङ्ग । आँखामा टिलपिल आँशु देखिन्थ्यो । खुट्टामा चप्पल थिए । मलेसियामा जो जुन पोशाकमा थियो,त्यही पोशाकमा उनीहरु विमानस्थल ओर्लिएका थिए । केन्द्रिय राजधानीको यो औधी जाडो याममा कोही हाप टिसर्ट त कोही हाप पाइन्टमा मात्रै । अझ कोही भने त कम्पनीकै पोशाकमा । काठमाडौंको मुटु कमाउने जाडोमा उनीहरु लगलग काँपीरहेका थिए । बोल्न सक्ने अवस्थामा कोही थिएन।
स्थिती हृदयविदारक थियो । उनीहरुको साथमा केही थिएन । साथमा थियो त केवल मलेसियास्थित नेपाली दूतावासले बनाइदिएको एकतर्फी यात्राको लागि ट्राभल डकुमेण्ट । अनि थियो,अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) ले अपठ्यारो पर्दा केही सहज होस भन्ने हेतुले दिएका केही कागजात सहितको एउटा कागजी थैलो।
यसरी हैसियत अवैधानिक
अब एक पटक मलेसिया फर्कौ ।
सन् २०१९ देखि मलेसिया सरकारले आफ्नो मुलुकमा रहेका अवैधानिक विदेशी नागरिकलाई स्वदेश फर्कन आममाफी कार्यक्रम (ब्याक फर गुड) को अवसर दियो । यो अवसरको सदुपयोग गरेर मलेसियाबाट ५ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए । यो अवसरको अवधि सन् २०१९ को अगष्ट ०१ देखि शुरु भई डिसेम्बर ३१ मा सकिएको थियो । आममाफीको अवधी सकिएसँगै सन् २०२० जनवरी १ देखि नै अवैधानिक आप्रवासीलाई कानूनी कार्वाही गर्ने हेतुले मलेसियन सरकार कडा अप्रेसनमा ओर्लियो । अध्यागमन विभागले विभिन्न स्थानमा छापा मार्न थाल्यो । अवैध कामदारको हकमा जरिवाना रकम तथा जेल सजायको अवधि पनि बढायो।
कोरोना–१९ भाइरसका कारण मलेसियामा लकडाउन गरिएको थियो । त्यही बेला अलग अलग स्थानबाट मलेसियन सरकारले अवैध आप्रवासीलाई पक्राउ गर्यो। उनीहरुको कसुर थियो, आममाफी कार्यक्रमको उपयोग गरेर घर फिर्ता नभई अवैधानिक रुपमा मलेसिया बसेको । उनीहरु जेल परे ।
परदेश,त्यसमाथि मलेसियामा नेपालीले भोग्दै आएको पिडा कुनै नयाँ होइन । मलेसियामा यसअघि पनि अवैधानिक रुपमा नेपालीहरु कार्यरत थिए । अहिले पनि यो हैसियतमा मलेसियामा धेरै नेपाली रहेको अनुमान छ।
हो, यही अवैधानिक हैसियतका कारण जेल बसेर स्वदेश फर्किएका थिए,ती १२ नेपाली । केही कार्यथलोबाट पक्राउ परे त केही आवासबाट । कोही ७ महिना त कोही १३ महिनासम्म जेल बस्न बाध्य भए । मसिनोसँग हेर्दा खासमा उनीहरुको ठूलो कसुर केही थिएन । यी १२ जनामध्ये कोही कम्पनीले भनेअनुसार सेवासुविधा तथा तलब नदिएर भागेका कारण अवैधानिक भएका थिए । कोही कम्पनीले नै भिसा नवीकरण नगरिदिएकै कारण गैरकानूनी हैसियतमा पुगेका थिए।
यसरी अवैधानिक हैसियतमा पुगेर नेपाल फर्किएका थिए,काभ्रेका कुवेर दाहाल,संखुवासभाका दम्बाकुमार काथी, म्याग्दीका सञ्जय बानियाँ क्षेत्री, बाँकेका कृष्णमोहन लोध,गोरखाका रामबहादुर आलेमगर। यसैगरी झापाका शिवकुमार राजवंशी,सिराहका शिककिमल यादव,पाँचथरका वेगा जंगीश्वर लिम्बु,कपिलवस्तुका सुनील दुबे,पवन जैसी अनि नवलपरासीका सन्दिप कैरी र धरानका पुपेन्द्र परियार नेपाल फर्किएका थिए।
यसरी सम्भव भयो स्वदेश फर्किन
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.बद्री केसीले संयोजन गरिरहेको संघको वैदेशिक रोजगार तथा कल्याणकारी विभाग अन्तर्गतको राहत तथा उद्दार कार्यक्रम मार्फत ती १२ नेपाली स्वदेश फर्किन सम्भव भएको हो ।
उनीहरुको स्वदेश फिर्तीका लागि उपाध्यक्ष डा.केसीको पहलमा आइओएमले हवाई टिकट उपलब्ध गराएको थियो । एनआरएनए एनसीसी मलेसिया र क्वालालम्पुरस्थित नेपाली दूतावासको समन्वयमा जेलबाट छुटाउने,कागजी प्रक्रिया मिलाउने र ट्राभल डकुमेण्ट बनाएर पीसीआर परीक्षण गरेपछि ती १२ नेपाली स्वदेश फर्कन बाटो खुलेको थियो ।
स्वंयसेवक नै भावुक
ती १२ नेपालीलाई नेपालको अन्तराष्ट्रिय विमानस्थलसम्म पुरयाएरमात्र एनआरएनएको दायित्व सकिदैनथ्यो । ती नेपालीले जेलबस्दा नेपालमा रहेका आफन्तसँग फोन सम्पर्क गर्न पाएका थिएनन । विमानस्थलमा ओर्लिएपछि घरसम्म कसरी पुग्ने ? अर्को समस्या थियो । तर,यसको समाधान पनि थियो । एनआरएनए अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागससँग जोडिएका स्वंयसेवकहरु ती १२ नेपालीको उद्दार गर्न विमानस्थल परिसरमा हाजिर थिए।
उनीहरु विमानस्थल परिसरसम्म आइपुग्दा रातको साढे १० बजिसकेको थियो । जाडो अरु बढ्दै थियो । एकसरो पातलो लुगामा आएका उनीहरुलाई एनआरएनएका स्वंयमसेवकले न्यानो कपडाको बन्दोबस्त गर्न खोजे । तर, रात परिसकेकोले कपडा पसलहरु बन्द थिए । जाडोले थुरथुर्ती भएका उनीहरुलाई न्यायो कपडा जोहो गर्न नसकेपछि स्वंयमसेवक चिन्तित देखिन्थे।
संघको राहत तथा उद्वार कार्यक्रम संयोजक राजेन्द्र कुमार राउत आफै स्वंयमसेवकको नेतृत्व गर्दै विमानस्थल पुगेका थिए । संयोजक राउत उनीहरुको अवस्था देखेर आफै भावुक देखिए । राउतले उनीहरुलाई तुरुन्तै विमानस्थल नजिकैको होटल लगे । होटल ब्यवस्थापनलाई आग्रह गरेर सबैका लागि एक–एक वटा कम्मल व्यवस्था गरे । साथमा तातो पानी र चिया पनि।
केही न्यानोपन महशुस भएपछि उनीहरुको मुहारमा बल्ल खुसीका केही धर्सा देखिन थाले । मुर्झाएको मुहार पहिलेभन्दा केही पल्लवित देखियो । यसपछि बल्ल उनीहरुले मलेसियामा आफूहरुले खेपेको हण्डरदेखि जेलमा पाएको दुख्ख र वेदनाका ब्यथाहरु एक-एक गरी खोल्न थाले।
अधिकाशंले आफ्नो जेलजीवन फेरि समिझन चाहदैन थिए । मलेसियामा हण्डर खाएर फर्किए पनि नेपालमा अवसर नपाए फेरी विदेश जाने सोचमा देखिन्थे । केही भने अब नेपालमै केही गर्ने मनसाय रहेको बताउँदै थिए । अधिकाशं घर परिवारसँग सम्पर्क विहिन थिए।
जब एनआरएनएका स्वंयसेवकहरुले उनीहरुको हातमा मोबाइल फोन दिए,तब सबैले आ–आफ्नो परिवारसँग सम्पर्क गर्न थाले । कसैको फोन लागेन,कसैको फोन उठेन । रात छिप्पिएको थियो । तर, सिरहाका शिककिमल यादवले भने आफ्नी श्रीमतीसँग कुरा गर्ने मौका पाए । तर, उनकी श्रीमतीले भने उनी नेपाल फर्किदैछन भन्ने जानकारी मलेसियास्थित नेपाली दूतावासबाट पाइसकेकी थिइन । यसैले उनले आफ्नो पतिको फोनको प्रतिक्षा गर्दै राती अवेरसम्म सुतेकी थिइनन् । तब न एक वर्षसम्म मलेसियामा जेल जीवन बिताएका यादवको परिवारिक सम्पर्क सम्भव भयो।
सन् २०१७ मा मलेसिया पुगेका गोरखाका रामबहादुर आलेमगरलाई सुनौं । ‘११ महिनाअघि भिसा अवधि सकिएकोले म कोठामै बसेको बेला हाप टिसर्टमा पक्राउ परे,यो अवधिमा परिवारसँग फोन सम्पर्क पनि गर्न पाइएन,’ आलेमगर प्रवास खबरसँग भन्दै थिए,‘घरमा बुवा–आमा,बाजे–बजै हुनुहुन्छ,अब म विदेश नजाने,गाउँमै बस्ने खेतीकिसानी गर्ने ।’
कथा यही नै टुङ्गिदैन । भोलीपल्ट जब बिहान भयो । राउत लगायतका स्वंयसेवकहरुले उनीहरुका लागि ज्याकेट,स्वेटर लगायत न्याना लुगा उपलब्ध गराइरहेका थिए । खानाको प्रबन्ध गरिरहेका थिए । बेखर्ची भएर विमानस्थल ओर्लिएका उनीहरुलाई ती स्वंयसेवकहरु काठमाडौं बाहिरका आ–आफ्ना गन्तब्यसम्म पुरयाउन यताउता दौडिरहेका थिए।
संयोजक राउत उनीहरुलाई सान्त्वना दिइरहेका थिए । भन्दै थिए,‘तपाईहरु नआत्तिनुहोस्,आफ्नै भूमिमा आउनु भएको छ । अब केही हुँदैन,उता पाएको दुःख बिर्सनु पर्छ । हामी छौ नि ।’
राउत ठिकै भन्दै थिए,‘नेपालीका लागि नेपाली ।’